बुलबुले समाचारदाता
सुर्खेत, चैत २६ गते । चार दशकअघि नै पश्चिम सुर्खेतमा पत्ता लागेको चुनढुङ्गा खानी अहिलेसम्म पनि प्रयोगमा आउन सकेको छैन । २०३९ सालमा नै चौकुनेमा फेला परेको चुनढुङ्गा खानीबाट सिमेन्ट उत्पादन गर्न सकिने पुष्टि भएको थियो तर सिमेन्ट उद्योग स्थापनाको योजना हालसम्म अलपत्र छ ।
पत्ता लागेको २७ वर्षपछि सिमेन्ट उद्योग स्थापनाका लागि सरकारले अनुमतिसमेत दिएको थियो । यद्यपि अनुमति पाएको समेत १६ वर्ष बितिसक्दासम्म आयोजना अघि बढ्न सकेको छैन । चौकुने चुनढुङ्गा खानीबाट सिमेन्ट उत्पादन योजना जग्गा विवादमै अल्झिएको छ ।
२०६६ मा मुक्तिश्री सिमेन्ट इन्डस्ट्रिजले चौकुनेमा खानी उत्खनन गरेर सिमेन्ट उद्योग सञ्चालन गर्न इजाजत लिएको थियो तर निर्माण गरेर काम थालिनुपर्ने आयोजना जग्गा विवादमै रुमलिएको मुक्तिश्री सिमेन्ट इन्डस्ट्रिज प्रालिले जनाएको छ । आयोजनालाई आवश्यक पर्ने जग्गा खरिद प्रक्रिया थालिएको कम्पनीका संयोजक लोकबहादुर अधिकारीले बताउनुभयो ।
प्रयास थालिएको लामो समयसम्म पनि आयोजनालाई आवश्यक पर्ने जग्गा कम्पनीको नाममा बनाउन सकिएको छैन । जग्गासम्बन्धी ससाना समस्याले नै काम अघि बढ्न नसकेको उहाँको भनाइ छ । स्थानीय र प्रदेश सरकारको असहयोगका कारण आयोजना निर्माणमा विलम्ब भएको छ । आयोजनाले करिब चार करोड लगानीमा पहुँचमार्ग निर्माण गरेको छ भने केही रोपनी जग्गा पनि खरिद गरिसकेको छ ।
खानी विभागले २०३९ सालमा चौकुनेमा खानी भएको पत्ता लगाएको थियो । चौकुने डाँडाको करिब ११ हजार रोपनी क्षेत्रफलमा चुनढुङ्गा भएको दाबी गरिएको छ । विभागले २०३५ देखि २०३९ सम्म अध्ययन ग¥यो । गरिएको अध्ययनले चौकुनेको चुनढुङ्गा परीक्षण गरी सिमेन्ट उत्पादन गर्न योग्य प्रमाणित गरेको थियो । त्यसपछि मुक्तिश्री सिमेन्ट इन्डस्ट्रिज प्रालिले उद्योग खोल्न प्रक्रिया थाल्यो । इजाजत लिएको लामो समयसम्म पनि आयोजनाले कुनै प्रतिफलयोग्य काम गर्न सकेको छैन । मुक्तिश्री व्यवसायी अजय सुमार्गीको कम्पनी हो ।
उद्योग सञ्चालनको काम कम्पनी नवीकरणको काम भने भइरहेको छ । लाइसेन्स लिएर काम सुरु नगरेपछि विभागले २०७४ मा रद्द गरेको थियो । लाइसेन्स रद्द भएपछि सुमार्गी अदालत पुग्नुभयो । उच्च अदालत पाटनको आदेशपछि विभागले पुनः नवीकरण गरेको थियो । आयोजनाले सरकारले असहयोग गर्दै आइरहेको जनाए पनि चौकुने गाउँपालिकाले काम गर्न चाहने आयोजनालाई सहयोग गर्ने गरिएको बताएको छ । अब भने काम नगर्ने कम्पनीको नवीकरण रोक्ने नीति कडाइका साथ लागु गरिने चौकुने गाउँपालिकाका अध्यक्ष खडक विकले बताउनुभयो । लाइसेन्स लिएर लामो समय होल्ड गर्ने तर उद्योग सञ्चालन नगर्ने नियत देखिएको भन्दै चौकुने गाउँपालिकाले कम्पनीको नवीकरण रोक्न पहलसमेत गरेको उहाँको भनाइ छ । खानी विभागमा नवीकरणका लागि खानी स्थलको जग्गाको तिरो बुझाएको हुनु पर्छ । त्यही कडी समातेर चौकुनेले कार्यपालिका बैठकबाटै निर्णय गरेर दुई वर्षदेखि कम्पनीको नाममा रहेको जमिनको राजस्व बुझेको छैन ।
उद्योग सञ्चालनका लागि चौकुने गाउँपालिकाले कम्पनीलाई बारम्बार ताकिता गरिरहेको छ । कम्पनीले अहिलेसम्म खानी क्षेत्रमा ९५ रोपनी मात्रै जग्गा खरिद गरेको छ । खानी सञ्चालनका लागि थप साढे तीन सय रोपनी क्षेत्रफल जग्गा र सिमेन्ट कारखाना स्थापना तथा सञ्चालनका लागि करिब छ सय रोपनी जग्गा आवश्यक रहेको प्रालिका अधिकारीले बताउनुभयो ।