• १२ साउन २०८१, शनिबार

पछिल्लो दुई हप्तामा चोरी अपराधका ५० मुद्दा दर्ता

blog

काठमाडौं, कात्तिक १५ गते । नेपाल प्रहरीको पछिल्लो एक तथ्याङ्क अनुसार दसैँ अवधिमा मात्रै चोरी अपराधमा ५० वटा मुद्दा दर्ता भएको छ ।पछिल्लो दुई हप्ताको अवधिमा डाका चोरीका जम्मा ६ मुद्दा, नकबजनी चोरीका सात र साधारण चोरीका जम्मा ३७ गरी जम्मा ५० मुद्दा दर्ता भएको प्रहरीको तथ्याङ्क छ । 

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतका अनुसार असोज २८ गते घटस्थापनादेखि कात्तिक ११ गते कोजाग्रत पूर्णिमासम्म दुई हप्ताको अवधिमा सो मुद्दा दर्ता भएको जानकारी दिनुभयो । प्रहरीका अनुसार काठमाडौँ उपत्यकामा डाका चोरीका एक, नकबजनी चोरीका एक र साधारण चोरीका १३ गरी जम्मा १५ मुद्दा दर्ता भएका छन् । 

कडायतले कानुनमा चोरीका विभिन्न प्रकारअनुसार सजायको व्यवस्था उल्लेख गरिएको बताउनुभयो । उहाँले गोरखापत्र अनलाइनसँग भन्नुभयो, “नकबजनी चोरी, जबरजस्ती चोरी लगायतका विभिन्न प्रकारको चोरी कानुनमा उल्लेख छ । हातहतियारसहित तोडफोड गरेर जवर्जस्ती गरेर गर्ने चोरीको यो, यो सजाय हुन्छ भन्ने सजायको क्राइटएरिया फरक–फरक हुन्छ ।”

यो अवधिमा कोशी प्रदेशमा साधारण चोरीका सात मुद्दा दर्ता भएका छन् । मधेश प्रदेशमा डाका चोरीका दुई, नकबजनी चोरीका तीन र साधारण चोरीका दुई गरी जम्मा सात मुद्दा दर्ता भएको प्रहरीको तथ्याङ्क छ । काठमाडौँ उपत्यका बाहेक बागमती प्रदेशमा चोरी अपराधका मुद्दा शून्य रहेको तथ्याङ्क छ ।  

गण्डकी प्रदेशमा नकबजनी चोरी एक र साधारण चोरी एक गरी दुई मुद्दा दर्ता भएका छन् । लुम्बिनी प्रदेशमा डाका चोरीका तीन, नकबजनी चोरीका दुई र साधारण चोरी दश गरी जम्मा १५ मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ । कर्णाली प्रदेशमा दुई र सुदूरपश्चिममा साधारण चोरीका दुई-दुई मुद्दा दर्ता भएका छन् । 

सात प्रदेशमध्ये समूहमा हातहतियार लिएर चोर्ने, लुटपाट गर्ने अर्थात् ‘डाका चोरी’ सबैभन्दा बढी लुम्बिनी प्रदेशमा भएको छ । नकबजनी चोरी सबैभन्दा बढी मधेश प्रदेशमा र साधारण चोरी काठमाडौँ उपत्यकामा भएको प्रहरीको तथ्याङ्क छ ।

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।