• १५ कात्तिक २०८२, शनिबार

राष्ट्रिय पौडी प्रतियोगिता

सगरमाथा स्वीमिङ क्लबको ३१ पदकसहित अग्रता

blog

विजेता खेलाडीहरुलाई पदक वितरण गरिँदै । फोटो सौजन्यः नेपालगन्ज स्वीमिङ क्लब, बाँके

सिराज खान

नेपालगन्ज, कात्तिक १५ गते । नेपालगन्जमा सञ्चालन भइरहेको दोस्रो नेशनल स्वीमिङ च्याम्पिनसीप २०२५ मा ललितपुरको सगरमाथा स्वीमिङ क्लबले ३१ पदकसहित अग्रता लिएको छ । 

प्रतियोगिताका प्रमुख पौडी प्राविधिक विष्णु खड्काका अनुसार पहिलो दिन भएका २६ इभेन्टमध्ये सगरमाथा क्लब एक्लैले १९ स्वर्ण, ६ रजत र ६ वटा काँस्यसहित ३१ पदक जितेर अग्रता लिएको हो । 

उहाँले क्लबले जितेको स्वर्ण पदकमात्र प्रतियोगिताको कूल स्वर्ण पदकको ७३ प्रतिशत भएको बताउनुभयो । ललितपुरकै जेम्स स्कुलले ५ स्वर्ण, १० रजत र २ काँस्यगरी १७ पदक जितेर दोस्रो स्थानमा रहेको छ । 

नेपालगन्जको आदर्श माध्यमिक विद्यालयले १ स्वर्ण ४ रजत र १ काँस्य पदक गरी ६ पदक, ललितपुरकै लिटिल एञ्जल्स स्कुलले १ स्वर्ण, २ रजत र ३ काँस्यगरी ६ पदक, बाँके कोहलपुरको शिखा एकेडेमीले ३ रजत र ५ काँस्यसहित ८ वटा पदक जितेको छ ।

नेपालगन्जकै स्प्रिङडेल स्कुल र काठमाडौंको युनिग्लोब स्कुलले समान दुई–दुई काँस्य पदक जितेको प्रमुख पौडी प्राविधिक विष्णु खड्काले बताउनुभयो । उहाँका अनुसार नेपालगन्ज स्वीमिङ क्लब बाँके, काठमाडौैंकोे राई स्कुल र कोशी प्रदेशले पनि समान एक–एक काँस्य पदक जितेका छन् । 

दोस्रो दिनका खेलहरु बिहानैदेखि सुरु भएको जनाउँदै प्रमुख पौडी प्राविधिक खड्काले २५ मिटरदेखि ४०० मिटरसम्मका विभिन्न विधाका थप २६ इभेन्ट शनिबार सम्पन्न गरिने बताउनुभयो । सो प्रतियोगितामा देशभरबाट १५० जना खेलाडीको सहभागिता रहेको छ ।