• २५ असार २०८१, मङ्गलबार

विकासशील मुलुकमा स्तरोन्नति हुन गरिएका नेपालका प्रयास प्रशंसनीय : महासचिव गुटेरेस

blog

प्रधानमन्त्री ‘प्रचण्डसँग सिंहदरबारमा भेटवार्तापछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिनुहुँदै संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस । तस्बिर : प्रदीपराज वन्त

काठमाडौं, कात्तिक १२ गते । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालले अल्पविकसितबाट विकासशील मुलुकमा स्तरोन्नति हुन गरेका प्रयास प्रशंसायोग्य रहेको बताउनुभएको छ ।

नेपालको चारदिने औपचारिक भ्रमणमा रहनुभएका उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग सिंहदरबारमा भेटवार्तापछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै विश्वमा शान्ति स्थापना र बहुपक्षीय समस्या समाधानका लागि नेपालले उल्लेख्य भूमिका खेलेको पनि जनाउनुभयो ।

“नेपालले पछिल्लो २० वर्षमा शान्ति स्थापनाका साथै राजनीतिक व्यवस्था परिवर्तनमा सकारात्मक उपलब्धि हासिल गरेको छ । आगामी दिनमा नेपालले जलवायु परिवर्तन र दिगो विकासको लक्ष्य हासिल गर्न चालेका कदम पनि प्रशंसनीय छन्”, उहाँले भन्नुभयो ।


कोभिड–१९ पछि उत्पन्न भएको अन्तर्राष्ट्रिय आर्थिक सङ्कट र जलवायु परिवर्तनको जोखिममा नेपाल पनि परेको उल्लेख गर्दै उहाँले जलवायु परिवर्तनको असर र जोखिममा रहेको नेपाललाई विकसित राष्ट्रले सहयोग गर्नुपर्ने बताउनुभयो ।

महासचिव गुटेरेसले भ्रमणका क्रममा नेपालका हिमाली भेगको अवलोकन गर्ने र जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारेको गम्भीर असरलाई आफैँले अवलोकन गर्ने जनाउँदै जलवायु परिवर्तनका कारण प्रभावमा परेका समुदायसँग भेट्ने बताउनुभयो ।

महासचिव गुटेरेसले नेपालको सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्‍याउँदा अन्तर्राष्ट्रिय मापदण्ड र सर्वोच्च अदालतको फैसलाका आधारमा पीडित, तिनका परिवार र समुदायमा शान्ति र न्यायको प्रत्याभूति दिलाउनुपर्नेमा जोड दिनुभयो ।


महासचिव गुटेरेसले नेपालमा आफ्नो भ्रमणले राष्ट्रसङ्घ र नेपालबिचको आपसी सम्बन्ध र सहकार्यलाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो । महासचिव गुटेरेसले आफूले पोखरा र लुम्बिनीको भ्रमण गर्ने जनाउँदै भगवान् गौतम बुद्धले शान्तिका लागि दिएका उपदेश आजको अशान्त र समस्याग्रस्त विश्वका लागि सबैभन्दा धेरै उपयोगी साबित हुने बताउनुभयो । महासचिव गुटेरेसले नेपालमा अन्तर्राष्ट्रिय सहयोग बढाउन पहल गर्ने विश्वास पनि दिलाउनुभयो ।

“नेपाल विश्वको मित्र बनेको छ । त्यसैले विश्वका सबै राष्ट्र अब नेपालको असल मित्र बन्नुपर्छ । आपसमा सहकार्य र सहयोगले त्यो सम्भव हुन सक्नेछ” महासचिव गुटेरेसले भन्नुभयो । महासचिव गुटेरेसले इजरायल र प्यालेस्टाइनबिचको जारी युद्धका सन्दर्भमा कहिल्यै पनि नागरिकको हत्या, अपहरण र यातना दिने काम कुनै पनि हालतमा न्यायिक हुन नसक्ने स्पष्ट गर्दै गाजाको स्थिति झन् खराब हुँदै गइरहेकामा दुःख व्यक्त गर्नुभयो ।


“मलाई दुःख लागेको छ तत्काल मानवीय उद्धारका लागि अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गर्दै गर्दा इजरायलले आफ्नो सैनिक कारबाही बढाएको छ”, महासचिव गुटेरेसले भन्नुभयो, “कुनै पनि पक्षले युद्धसम्बन्धी अन्तर्राष्ट्रिय कानुन र मान्यताको पालना, मानवीयता र आफ्ना दायित्वको सम्मान र पालना गर्नुपर्छ । युद्धका समयमा नागरिकको सुरक्षालाई कसरी ध्यान दिने भन्ने मानवीय कानुन र अभ्यासको पालना अपरिहार्य हुन्छ ।”

गाजा क्षेत्रमा विश्वका झण्डै २० लाख मानिस आवास, खाद्यान्न, खानेपानी र स्वास्थ्य उपचारबाट वञ्चित भइरहेको बताउँदै उहाँले सबै प्रकारका युद्धको बिराम गरी अपहरणमा परेकालाई सुरक्षित फिर्ता गर्न र जोखिममा रहेका गाजाका नागरिकलाई तत्काल उद्धार उपलब्ध गराउन सरोकारवाला सबै पक्षसँग आह्वान गर्नुभयो ।

उहाँले इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका १० जना नेपालीका  परिवारप्रति शोक व्यक्त गर्दै अहिलेसम्म बेपत्ता रहेका विपिन जोशीको सुरक्षित उद्धारको अपेक्षा गर्नुभयो ।  रासस



यो पनि पढ्नुहोस

अध्यक्ष ओली र महासचिव गुटेरेसबिच भेटवार्ता

महासचिव गुटेरेस र सभापति देउवाबिच भेटवार्ता

सभामुखद्वारा महासचिव गुटेरेसको संसद् सम्बोधनबारे जानकारी

राष्ट्रसङ्घ महासचिव गुटेरेस सिंहदरबारमा

राष्ट्रसङ्घका महासचिव गुटेरेस पाटन आउनुहुँदै