• २५ असार २०८१, मङ्गलबार

गुटेरेसको भ्रमणले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन सहजीकरण गर्छ : पूर्वसभामुख सापकोटा

blog

पूर्वसभामुख अग्निप्रसाद सापकोटा ।

काठमाडौं, कात्तिक १२ गते । पूर्वसभामुख अग्निप्रसाद सापकोटाले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन सहजीकरण गर्ने बताउनुभएको छ ।

आइतबार सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै नेकपा (माओवादी केन्द्र)का प्रवक्तासमेत रहनुभएको सापकोटाले संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेसको नेपाल भ्रमणले शान्ति प्रक्रियाका बाँकी कामहरुलाई निष्कर्षमा पुर्‍याउन सहजीकरण हुने बताउनुभएको हो ।

‘‘यो बेलामा संयुक्त राष्ट्रसङ्घको महासचिव नेपाल आउनु भनेको नेपालका लागि धेरै ठूलो अवसर हो । यस्तो बेलामा उहाँ नेपाल आउनुभएको छ कि अहिले पनि सुरक्षा परिषद्को बैठक बसिरहेको छ । त्यस्तो बेलामा उहाँ आउनुभएको छ । यसबाट के बुझिन्छ भने उहाँले नेपालको भ्रमणलाई उच्च महत्त्व दिनुभएको छ । जलवायु परिवर्तनको क्षेत्रमा जे–जति घटना भइरहेका छन् । जे जति असर र प्रभावहरु देखिरहेका छन् । यसलाई न्यूनीकरण गर्न उहाँको भ्रमण धेरै महत्त्वपूर्ण हुनेछ ।,’’ पूर्व सभामुख सापकोटाले भन्नुभयो, ‘‘उहाँ सगरमाथाको आधारशिविरमा जाँदै हुनुहुन्छ । उहाँको स्थलगत भ्रमणले संसारका जनतालाई, संसारलाई जानकारी दिनका लागि धेरै महत्त्वपूर्ण भूमिका खेल्छ । शान्ति प्रक्रियालाई टुङ्गोमा पु र्‍याउनका लागि पनि उहाँको भ्रमण निकै महत्त्वपूर्ण हुन्छ ।’’

उहाँले महासचिव गुटेरेसले संसदमा गर्ने सम्बोधनलाई सबैले आत्मसाथ गर्ने उल्लेख गर्नुहुँदै गुटेरेसले शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउनका लागि प्रभावकारी ढङ्गले सहजीकरण गर्नसक्ने विश्वास व्यक्त गर्नुभयो । पूर्वसभामुख सापकोटाले शान्ति प्रक्रियाका बाँकी कामहरु पीडितको समेत सहमतिमा निष्कर्षमा पुर्‍याउनुपर्ने भन्दै यो भ्रमणले बाँकी काम पूरा गर्न अन्तर्राष्ट्रिय वातावरण बनाउनका लागि पनि भूमिका खेल्ने बताउनुभयो । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को बैठक बसिरहेको बेलामा महासचिव नेपाल भ्रमणमा आउनुले नेपाल भ्रमणलाई उच्च महत्व दिएको कुरा स्पष्ट भएको पनि सापकोटाको भनाइ छ ।

‘‘उहाँले संसदका दुवै सदनलाई सम्बोधन गर्दै हुनुहुन्छ । त्यहाँ सिङ्गो राष्ट्र केन्द्रित हुन्छ । एकै साथ उहाँले गर्ने सम्बोधन सबैले आत्मसात् गर्ने कुरा हुन्छ । मलाई लाग्छ, शान्ति प्रक्रियालाई निष्कर्षमा पु र्‍याउनका लागि प्रभावकारी ढङ्गले सहजीकरण गर्न सक्नुहुन्छ । पहिला पनि संयुक्त राष्ट्रसङ्घको भूमिका महत्त्वपूर्ण भएकै थियो । सेना समायोजन र शान्ति प्रक्रियापछि भएका चुनावहरुका कारण शान्ति प्रक्रिया एक प्रकारले अनुमोदन भइसकेको छ भनेपनि हुन्छ ।,’’ उहाँले भन्नुभयो, ‘‘पीडितहरुको समेत सहमतिमा त्यसलाई निष्कर्षमा पुर्‍याउनुपर्छ । परिपूरणका कुरा छन् । राम्रोसित अन्वेषण गर्ने कुरा छन् । यि सबै कुरालाई एउटा अन्तर्राष्ट्रिय वातावरण बनाउनका लागि यसले धेरै ठूलो भूमिका खेल्छ । शान्ति प्रक्रिया टुङ्ग्याउनका लागि अन्तर्राष्ट्रिय जगतको सद्भाव पनि हामीलाई चाहिन्छ । त्यो सद्भाव पनि यो भ्रमणले प्राप्त हुन्छ भन्ने कुरा हामीले अपेक्षा राखेका छौँ । सरकारले अपेक्षा राखेको छ । दिनदिनै त्यो वातावरण बनिरहेको पनि छ ।’’

उहाँले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन नेपाललाई अन्तर्राष्ट्रिय जगतको सद्भाव पनि चाहिने उल्लेख गर्दै यस भ्रमणपश्चात् सो किसिमको सद्भाव प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । महासचिव गुटेरेस सगरमाथाको आधार शिविरसम्म पुग्ने भएकाले उहाँको स्थलगत भ्रमणले नेपालमा जलवायु परिवर्तनका प्रभावहरु न्यूनीकरण गर्न ध्यान केन्द्रित हुने पनि बताउनुभयो ।