• २५ असार २०८१, मङ्गलबार

सभामुखद्वारा महासचिव गुटेरेसको संसद् सम्बोधनबारे जानकारी

blog

काठमाडौं, कात्तिक १२ गते । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसले सङ्घीय संसद्को दुवै सदनलाई सम्बोधन गर्नेबारे जानकारी दिनुभएको छ । आइतबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख घिमिरेले सो बारे जानकारी दिनुभएको हो । 

सभामुखले मन्त्रिपरिषद् बैठकको कार्तिक २ गते गरेको निर्णयअनुसार महासचिव गुटरेसले कात्तिक १२ गतेदेखि १५ गतेसम्म नेपालको औपचारिक भ्रमण गर्न लागेको र कात्तिक १४ गते मङ्गलबार अपराह्न ४ बजे संसद्को दुवै सदनलाई सम्बोधन गर्ने भनेर सरकारबाट पत्र प्राप्त भएको जानकारी उहाँले बैठकलाई गराउनुभएको हो ।

प्रतिनिधि सभा नियमावली २५१ मा कुनै विदेशी राष्ट्रको राष्ट्र प्रमुख, सरकार प्रमुख, सभामुख, अध्यक्ष वा संयुक्त राष्ट्रसङ्घका महासचिवले बैठकलाई सम्बोधन गर्ने व्यवस्थाका लागि सरकारले अनुरोध गरेमा सभामुखले अनुमति दिने सक्ने व्यवस्था रहेको छ । सम्बोधन गर्ने त्यस्तो पदाधिकारीलाई सभामुखले आफ्नो आसनको दायाँतर्फ आसन ग्रहण गराउन सक्ने व्यवस्था समेत रहेको छ ।