• २३ पुस २०८१, मङ्गलबार

राष्ट्रसङ्घका महासचिव गुटेर्रेस भोलि नेपाल आउनुहुँदै

blog

काठमाडौँ, कात्तिक ११ गते । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेस नेपालको औपचारिक भ्रमणमा आइतबार यहाँ आइपुग्नुहुने भएको छ । नेपाल सरकारका विभिन्न निकायले उहाँको भ्रमणको आवश्यक तयारी थालेको छ । 

आपसी भाइचारा र शान्तिको सन्देश विश्वलाई दिने उद्देश्यसहित महासचिव गुटेर्रेसको नेतृत्वमा संयुक्त राष्ट्रसङ्घको उच्चस्तरीय प्रतिनिधिमण्डल नेपाल भ्रमणमा आउन लागेको हो । 

विश्वका विभिन्न देशबिच आपसी मतभेदसँगै युद्ध र कलहमा जेलिइरहेका बेला महासचिव गुटेर्रेसको शान्ति भूमि नेपालको भ्रमणलाई महत्वका साथ हेरिएको छ । परराष्ट्र मन्त्रालयले दिएको जानकारी अनुसार महासचिव गुटेर्रेस कतार एयरलाइन्सको जहाजबाट आइतबार दिउँसो १ बजे नेपाल अवतरण गर्नुहुने छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निमन्त्रणामा कात्तिक १२ देखि १५ गतेसम्म चारदिने भ्रमणका लागि नेपालमा रहनुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । सन् २०१७ मा नयाँ महासचिवको पदभार ग्रहण गरेपछि गुटेर्रेसले पहिलो पटक नेपाल भ्रमण गर्न लाग्नुभएको हो । नेपालका शान्ति सैनिकले विश्व शान्तिका लागि पु¥याएको योगदानको उच्च कदर गर्दै विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा उहाँले पटक पटक नेपालको प्रशंसा गर्नुभएको छ । 

शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल नेपाल भएकाले पनि उहाँको नेपालप्रति अगाध लगाव रहिआएको छ । विभिन्न कारणले यसअघि तय भएको भ्रमण रोकिए पनि यो पटक जसरी पनि नेपाल भ्रमणमा आउन उहाँले उत्कृट चाहना राख्नुभएको उहाँका अभिव्यक्तिले पुष्टि गर्छ । 

नेपाल भ्रमणमा रहँदाको अवसर पारेर नेपाल सरकारले कात्तिक १४ गते सङ्घीय संसद्मा सम्बोधन गर्नका लागि कार्यसूची तय गरेको छ । त्यसअघि राष्ट्रसङ्घका महासचिव गुटेर्रेसले राष्ट्रपति रामचन्द्र पौडेलसँग छुट्टै शिष्टाचार भेट गर्नुहुने कार्यक्रम रहेको छ । त्यस्तै प्रधानमन्त्री प्रचण्डसँग विशेष भेटवार्ता गर्नुहुने प्रधानमन्त्री कार्यालयले जनाएको छ। 

शान्ति भूमि नेपालमा पछिल्लो समय जलवायु परिवर्तनको असरले सर्वोच्च शिखर सगरमाथासहितका हिमालय क्षेत्रमा पारेको कडा असरबारे पनि उहाँको गम्भीर चासो रहिआएको छ । शक्तिशाली मुलुकको औद्योगिक विकासले बढाएको कार्बन उत्सर्जनका कारण बढ्दो विश्वव्यापी तापक्रमले हिमालको हिउँ पग्लँदै जानु विश्वकै चासोको विषय रहेको छ । त्यसको प्रत्यक्ष अवलोकन गर्दै हिमाली क्षेत्रका प्रभावित समुदायसँग महासचिव गुटेर्रेसले कुराकानी गर्नुहुने मन्त्रालयले उल्लेख गरेको छ । 

जलवायु परिवर्तनसम्बन्धी विश्वव्यापी कोप–२८ सम्मेलन आगामी नोभेम्बर महिनामा संयुक्त अरब इमिरेट्समा सुरु हुँदै छ । साथै उहाँले शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनी र सुन्दर पर्यटकीय नगर पोखराको भ्रमण औपचारिक भ्रमण गर्नुहुने कार्यसूची रहेको परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल दिलीपकुमार पौडेलले जानकारी दिनुभएको छ । 

महासचिवका गुटेर्रेसको उच्चस्तरीय प्रतिनिधिमण्डलमा संयुक्त राष्ट्रसङ्घको शान्ति कार्यसञ्चालनका लागि उपमहासचिव जिन पियरे ल्याक्रोइक्स, नेपालका लागि संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजक हाना सिङ्गर हाम्डी र न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयका अन्य उच्चाधिकारी पनि सहभागी रहनुहुने मन्त्रालयले जनाएको छ । नेपाल भ्रमणका क्रममा उहाँले नेपालका विभिन्न विशिष्ट व्यक्तिसँग पनि भेटवार्ता गर्नुहुने कार्यसूची रहेको छ ।