• १३ साउन २०८१, आइतबार

अनुदानको बीउबाट राम्रो उत्पादन नहुँदा किसान चिन्तित

blog

फाइल तस्बिर

चितवन, कात्तिक १० गते । खैरहनी नगरपालिकाले किसानलाई अनुदानमा उपलब्ध गराएको धानको बीउबाट राम्रो उत्पादन नभएपछि किसान चिन्तित बनेका छन् । गत वर्षको तुलनामा यस वर्ष उत्पादनमा ७५ प्रतिशत कमी हुने देखिएपछि यस क्षेत्रका किसान चिन्तित बनेका हुन् ।

खैरहनी नगरपालिका-९ का रवीन्द्र पाठकले अहिले धानको उत्पादनले घाटा मात्रै बेहोर्नुपरेको बताउनुभयो । उहाँले भन्नुभयो, “अघिल्ला वर्षहरुमा एक कट्ठामा चार मुरीसम्म धान फलेको थियो । अहिले एक कट्ठामा एक मुरी मात्रै फलेको छ ।” 

नगरपालिकाले ५० प्रतिशत अनुदानमा साँवा मन्सुली धानको बीउ उपलब्ध गराएपछि त्यही धान लगाएको जनाउँदै उहाँले भन्नुभयो, “यस वर्षको उत्पादनले खान त पुग्ला । जोत्ने, गोड्ने, काट्ने खेतालालाई कसरी तिर्ने ।” आफूले तीन बिघा चार कट्ठा क्षेत्रफलमा साँवा मन्सुली धान लगाएको बताउँदै उहाँले आफू मात्रै नभएर अनुदानको धानको बीउ रोप्ने सबै किसान मर्कामा परेको गुनासो गर्नुभयो । पालिकाले अनुदानमा दिएको धानको बीउ माटो सुहाउँदो छ-छैन भन्ने बुझेरमात्र गर्नुपर्नेमा त्यस्तो नहुँदा समस्या आएको उहाँले बताउनुभयो । 

अघिल्ला वर्षहरुमा साबित्री धान लगाउने गर्नुभएका पाठकले अहिले धानको बीउमा परिवर्तन गर्नुभएको हो । यस पालिकामा अनुदानमा चार हजार दुई सय किलो धानको बीउ वितरण गरिएको थियो । ७० हेक्टर क्षेत्रफललाई पुग्ने अनुमानका साथ बीउ वितरण गरिएको भए पनि उत्पादन आशा गरे अनुसारको नभएको कृषि शाखाका प्रमुख गौरव न्यौपानेले बताउनुभयो ।

सङ्घीय सरकारको बजेटमा अनुदानमा बीउ वितरण गरिएको भए पनि त्यस बीउबाट फल राम्रो लाग्न नसकेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले बनाएको डेसिसमार्फत धान खरिद गरी किसानलाई उपलब्ध गराएका हौँ ।” यस धानमा ९० प्रतिशतमा रोग र किराको प्रकोप देखिएको उहाँले बताउनुभयो । सित ब्लाइट, सित रट, गवारो, ब्याक्टेरियल प्यानिगल ब्लाइट (दाना डडुवा) जस्ता समस्या देखिएकाले पनि धान उत्पादनमा कमी आएको हुन सक्ने अनुमान गरिएको उहाँले जानकारी दिनुभयो । अनुदानमा दिइएको धानमा दुई सय ४५ टन उत्पादन हुने अनुमान गरिएको भए पनि २० देखि ३० प्रतिशत मात्र उत्पादन भएको उहाँले बताउनुभयो । रासस