• २३ असार २०८१, आइतबार

शव ल्याउन सहजीकरणका लागि इजरायलका विदेशमन्त्रीलाई आग्रह

blog

काठमाडौँ, असोज २४ गते । हमासको आक्रमणमा इजरायलमा मारिएका १० जना नेपाली नागरिकको शव नेपाल ल्याउन सहजीकरणका लागि नेपालले इजरायललाई आग्रह गरेको छ । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले मङ्गलबार इजरायलका विदेशमन्त्री एली कोहेनसँग टेलिफोन वार्ता गरी उक्त आग्रह गर्नुभएको हो ।

परराष्ट्रमन्त्रीको सचिवालयका अनुसार परराष्ट्रमन्त्रीले फोनवार्तामा नेपाली नागरिकको शव नेपाल फिर्ताका लागि आवश्यक समन्वय र सहजीकरण गरिदिन विदेशमन्त्री कोहेनसँग आग्रह गर्र्नुभएको हो । उहाँले भन्नुभयो, “मृतकको पार्थिव शरीरलाई जति सक्दो चाँडो स्वदेश फर्काउन आवश्यक छ । थोरै ढिलाइले पनि घरपरिवारका सदस्यमा झन् पीडा थप्ने छ ।” 

उहाँले भन्नुभयो, “तसर्थ शव नेपाल फिर्ताका लागि आवश्यक समन्वय र सहजीकरण गरिदिन आग्रह गर्छु । त्यसका लागि इजरायल सरकारसँग नेपाली दूतावासले आवश्यक समन्वय गर्ने छ ।”  

मन्त्री साउदले आक्रमणमा परी घाइते भएका चार जना नेपाली नागरिकको स्वास्थ्य उपचार र हेरचाहमा सहयोग गरिदिन पनि इजरायल सरकारसँग आग्रह गर्नुभयो । उहाँले आक्रमणपछि सम्पर्कविहीन भएका एक नेपाली नागरिकको अवस्था पत्ता लगाइदिन पनि सरकारका तर्फबाट अनुरोध गर्नुभयो । 

कुराकानीका क्रममा मन्त्री साउदले प्यालेस्टिनी विद्रोही समूहद्वारा १० जना नेपालीको निधनले स्तब्ध बनाएको बताउनुभयो । 

सुदूरपश्चिम विश्वविद्यालयका निधन भएका १० जनाको शव ल्याउन केही समय लाग्न सक्ने इजरायलका लागि नेपालका राजदूत कान्ता रिजालले बताउनुभयो । “हामीले भन्नेवित्तिकै फोर्स गरेर तत्काल शव ल्याउन सक्ने अवस्था छैन । शव बुझाउने इजरायलको आफ्नै प्रक्रिया हुन्छ । त्यो सबै पूरा गरेर शव बुझाएपछि नेपाल ल्याउँछौँ ।” 

उहाँले भन्नुभयो, “हामीले शव नेपाल पठाउन प्रयासरत छौँ । नेपाल सरकारको तर्फबाट परराष्ट्रमन्त्रीज्यूले इजरायली विदेशमन्त्रीसँग संवाद गर्नुभयो । सकेसम्म छिटो शव नेपाल पठाउन प्रयासरत छौँ ।” हमासले शनिबार बिहान इजरायलका विभिन्न स्थानमा स्थल तथा हवाई आक्रमण गर्दा १० जना नेपाली विद्यार्थीसमेत मारिएका थिए । ती सबै सुदूरपश्चिमाञ्चल विश्वविद्यालयबाट सिक्दै कमाउने कार्यक्रम अन्तर्गत इजरायलको एउटा कृषि फार्ममा कार्यरत थिए । यसै सन्दर्भमा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले इजरायलमा भएका नेपालीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी खाने र बस्ने व्यवस्था मिलाइएको बताउनुभयो । गजुरेलले भन्नुभयो, “इजरायलका द्वन्द्वग्रस्त क्षेत्रमा भएका नेपालीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिसकियो । अब निधन भएका विद्यार्थीको शव स्वदेश ल्याउन प्रयासरत छौँ । प्रधानमन्त्रीसहित सरकारको सम्पूर्ण संयन्त्र परिचालन गरिएको छ । छिटोभन्दा छिटो शव ल्याउन लागिरहेका छौँ ।” 

इजरायलमा भएका सबै नेपालीलाई द्वन्द्वग्रस्त क्षेत्रबाट सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । इजरायली सेनाको सहयोगमा दुई क्षेत्रबाट १२७ जनालाई सुरक्षित स्थानान्तरण गरिएको हो ।

इजरायलको दक्षिणी क्षेत्र किबुजबाट ५५ जना र उत्तरी सीमाबाट ७२ जनालाई उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको इजरायलका लागि नेपालका राजदूत कान्ता रिजालले बताउनुभयो । उहाँले भन्नुभयो, “इजरायली सेनाको सहयोगमा हामीले इजरायलको दक्षिण क्षेत्रको किबुजबाट ५५ जना र उत्तरी क्षेत्रबाट ७२ जनाको उद्धार गरेका छौँ । उद्धार गरिएका सबैलाई सुरक्षित स्थानमा राखेर खाने बस्ने व्यवस्था मिलाएको छ । घाइतेको उपचार भइरहेको छ ।”

कञ्चनपुर भीमदत्तका विपिन जोशीको खोजी कार्य जारी रहेको उहाँले बताउनुभयो । अहिले इजरायलबाट नेपाल फर्किन चाहनेको सङ्ख्या दुई सयभन्दा बढी भएको रिजालले बताउनुभयो । उहाँले यसरी स्वदेश फर्किन चाहनेलाई फर्काउन प्रक्रियासमेत थालिसकिएको बताउनुभयो ।   

 

Author
वीरेन्द्र ओली

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।