चन्द्र पन्दाक
ताप्लेजुङ, चैत २० गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–४, लिङ्तेपका ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ । लिङ्तेपवासी ज्येष्ठ नागरिकलाई वडा कार्यालयले सम्मान गरेको हो ।
लिङ्तेपका वडाध्यक्ष वेदप्रसाद हाङ्गाम लिम्बूका अनुसार वडाभित्रका ८२ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ । सम्मानित हुनेमा ६८ देखि ९० वर्षसम्म उमेर पुगेका ३८ महिला र ४४ जना पुरुष रहनुभएको वडाध्यक्ष हाङ्गामले जानकारी दिनुभयो ।
उहाँका अनुसार ज्येष्ठ नागरिकलाई काँचको थाल र बटुकाको सेट वितरण गरी सम्मान गरिएको छ । वडाभित्र सामाजिक सुरक्षा भत्ता (वृद्ध भत्ता) प्राप्त गर्ने लाभग्राही अर्थात ज्येष्ठ नागरिकको सङ्ख्या ८६ जना रहेकोमा चारजना भने गाउँ बाहिर जानुभएकाले सम्मानबाट छुट्नुभएको वडाध्यक्ष हाङ्गामले बताउनुभयो ।
उहाँका अनुसार वडाको विभिन्न टोलमा पुगेर बुधबार र बिहीबार ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो । शुक्रबार भने ज्येष्ठ नागरिकलाई वडा कार्यालयमा केन्द्रितगरी सम्मान गरिएको उहाँले जानकारी दिनुभयो । सम्मानसँगै ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षणसमेत गरिएको छ ।
ज्येष्ठ नागरिकको उच्च रक्तचाप, मधुमेह, यरिक एसिड लगायत स्वास्थ्य समस्यासम्बन्धी परीक्षण गरिएको वडा कार्यालयले जनाएको छ । चालु आर्थिक वर्षका लागि स्वीकृत योजना अन्तर्गत दुई लाख रुपियाँ बजेटले ज्येष्ठ नागरिक सम्मान कार्यक्रम कार्यान्वयन गरिएको वडाध्यक्ष हाङ्गामले बताउनुभयो ।