• २२ चैत २०८२, आइतबार

दिगो ऊर्जा प्रवर्धनका लागि निःशुल्क चुलो

blog

संस्थाको सहयोगमा गाउँपालिकाले वितरण गरेको सुधारिएको चुलो । तस्बिरः चाँदनी आचार्य

चाँदनी आचार्य

घोडाघोडी (कैलाली), चैत २० गते । कैलालीको बर्दगोेरिया गाउँपालिकाले स्थानीय उपभोक्तालाई सुधारिएको चुलो वितरण गरेको छ । एकता समाज काठमाडौँको सहयोग र गाउँपालिकाको समन्वयमा निःशुल्क रूपमा चुलो वितरण गरिएको हो । 

थोरै दाउराको प्रयोग गरी धुवाँ कम आउने चार हजार सात सय ९८ वटा चुलो वितरण गरिएको छ । वडा नम्बर १ देखि ६ सम्मको उपभोक्तालाई चैत २१ गतेसम्म चुलो वितरण गर्ने कार्यक्रम रहेको छ । 

ग्यासको मूल्य बढेको अवस्थामा गाउँपालिकाले निःशुल्क चुलो उपलब्ध गराएपछि उपभोक्ताहरू खुसी भएका छन् । केही फारम भर्न छुटेका उपभोक्ता निराश भए पनि गाउँपालिकाले छुटेकाहरूलाई पछि व्यवस्था गर्ने जनाएको छ ।

सुधारिएको चुलोले घरमित्रको धुँवा कम गरी स्वास प्रश्वाससम्बन्धी रोगबाट बचाउन र दाउराकाको खपत घटाउन मद्दत पुग्ने अपेक्षा लिइएको छ । गाउँपालिका अध्यक्ष कर्णबहादुर कुँवरले ग्यासको मूल्य बढेको अवस्थामा उपभोक्तालाई राहत पुगोस् भनी थोरै दाउराबाट खाना पकाउन सकिने सुधारिएको चुलो वितरण गरिएको बताउनुभयो ।

उहाँले निःशुल्क चुलो पाउने भएपछि स्थानीय उपभोक्ता उत्साहका साथ चुलो लिन आएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “वातावरण संरक्षण र दिगो ऊर्जा प्रवर्धन गर्ने उद्देश्यले चुलो वितरण गरेका छौं । गाउँपालिकाले चुलोका लागि आवेदन फारम माग गरेको थियो । फारम भरेकालाई पहिलो चरणमा वितरण गरेका छौं । छुट्न गएकाहरूलाई फेरि व्यवस्था मिलाउने छौं ।”