• २३ असार २०८१, आइतबार

इजरायल सङ्कट

नेपालीको उद्धार तयारी

blog

नेपाल विद्यार्थी सङ्घद्वारा इजरायलमा ज्यान गुमाएका नेपाली विद्यार्थीको शोकमा सोमबार साँझ ललितपुरको मङ्गलबजारमा दीप प्रज्वलन गरेर श्रद्धाञ्जली व्यक्त गरिँदै । तस्बिर : सुजन गुरुङ

काठमाडौँ, असोज २३ गते । सरकारले इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका नेपालीको शव तथा अन्य विपत्मा परेका नेपाली नागरिकलाई उद्धार गर्ने भएको छ । त्यसका लागि सरकारले संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूबाट पनि समर्थन पाएको छ । 

उद्धार गर्ने निर्णय सोमबार बसेको मन्त्रीपरिषद्को आपत्कालीन बैठकले गरेको हो । त्यसलगत्तै बसेको सर्वदलीय बैठकले सरकारका काममा सहमति जनाएको हो । विपत्मा परेका नागरिक र मृतकका शव ल्याउन नेपाल वायु सेवा निगम र हिमालय एयरलाइन्सका विमान तयारी अवस्थामा राखिएको छ । 

इजरायलमा उद्धारको आवश्यकतामा रहेका विद्यार्थी र अन्यलाई सुरक्षित स्थानमा जम्मा पार्ने काम भइरहेको छ । यो समाचार तयार पार्दा (राति १० बजे) सम्म ३२ जना विद्यार्थीलाई इजरायली सेनाको सहयोगमा सुरक्षित स्थानमा सारिएको छ । इजरायलका लागि नेपालका राजदूत कान्ता रिजालले बाँकी १५ जनालाई पनि सुरक्षित स्थानमा ल्याउन पहल भइरहेको बताउनुभयो । 

इजरायल सरकारको ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत गएका विद्यार्थीमध्ये १० जना शनिबारको आक्रमणमा परेर हताहत भएका हुन् । मृत्यु हुने सबै विद्यार्थी सुदूरपश्चिमाञ्चल विश्वविद्यालयबाट काम गर्दै कृषिको अध्ययन गर्न गएका हुन् । एक जना अझै बेपत्ता रहेका छन् ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले मृतकको स्वास्थ्य र कूटनीतिक प्रोटोकल मिलाएर चाँडै नै शव ल्याउने तयारी रहेको बताउनुभयो । इजरायलमा भएका सबै नेपालीको यकिन तथ्याङ्क सङ्कलनपछि स्वदेश फर्किनेलाई ल्याइने लम्सालले जानकारी दिनुभयो । उहाँका अनुसार दुई सयभन्दा बढीले स्वदेश फर्कन नाम टिपाइसकेका छन् ।

सबै दललाई एक हुन आग्रह

सोमबार साँझको सर्वदलीय बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय सङ्कटका बेला सबै दललाई एकढिक्का हुन आग्रह गर्नुभयो । बैठकमा सहभागी माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनका अनुसार प्रधानमन्त्रीले सरकारले आफ्नोतर्फबाट सबै पहल जारी राखेको र उद्धार गर्न एनआरएनलाई समेत परिचालन गरिएको जानकारी दिनुभएको थियो । 

उद्धारका लागि परराष्ट्रमन्त्रीको संयोजकत्वमा द्रुत सेवा टोलीसमेत बनाइसकिएको प्रधानमन्त्रीले जानकारी दिनुभएको थियो । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले बैठकमा दलहरूले सरकारलाई तदारुकतासाथ उद्धारको काम गर्न, घाइतेको उपचार गर्न र मृतकको शव स्वदेश ल्याउन आग्रह गरेको जानकारी दिनुभयो । प्रधानमन्त्री प्रचण्डले इजरायलका प्रधानमन्त्रीसँग टेलिफोन संवाद गरेर नेपालीको उद्धार गर्न प्रयास भइरहेको उल्लेख गरेको गजुरेलले बताउनुभयो । 

बैठकमा सहभागी राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले इजरायलमा भएका नेपालीलाई उद्धार गर्न सरकारले युद्धस्तरमा नै काम गर्नुपर्ने सुझाव आएको बताउनुभयो । बैठकमा प्रधानमन्त्रीसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाल कम्युनिस्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, नेता अग्नि खरेल, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टीबाट प्रदीप यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष सिके साउत, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलगायतका नेताहरू सहभागी हुनुहुन्थ्यो । 

मङ्गलबार राष्ट्रिय शोक मनाइने 

सरकारले इजरायलमा निधन भएका विद्यार्थीको सम्मानमा मङ्गलबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद् बैठकले निधन भएका विद्यार्थीको सम्मानमा देशैभरका सरकारी कार्यालय र विदेशी नियोगमा राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताउनुभयो । गृह मन्त्रालयले पनि त्यससम्बन्धी परिपत्र गरिसकेको छ ।

मन्त्री शर्माका अनुसार निधन भएका परिवारलाई राहतस्वरूप प्रतिपरिवार १० लाख रुपियाँ दिने दिने निर्णय भएको बताउनुभयो । सुदूरपश्चिम प्रदेश सरकारले पनि प्रतिपरिवार दुई लाख रुपियाँ दिने यसअघि नै घोषणा गरिसकेको छ ।

  

Author
वीरेन्द्र ओली

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।