• ११ असार २०८१, मङ्गलबार

रेबिज खोप लगाउन सुझाव

blog

काठमाडौँ, असोज १३ गते । नेपालले रेबिजलाई सन् २०३० सम्म शून्यमा झार्ने लक्ष्य लिएको छ तर चिकित्सकहरूले रेबिजबाट हुने क्षति अझै पनि कम नभएको भन्दै सन् २०३० सम्म रेबिजलाई शून्यमा झार्ने सरकारको लक्ष्य पूरा गर्न कठिन हुने बताएका छन् । 

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले नेपालमा पशुबाट मानिसलाई सर्ने रेबिज रोग चुनौती बन्दै गएको बताउनुभयो । “मानिसमा अझै पनि रेबिज रोगप्रतिको गलत धारणा रहेकाले लक्ष्य प्राप्त गर्न कठिन भएको छ,” उहाँले भन्नुभयो । रेबिज रोगलाई कसैले पनि ध्यान नदिएको बताउँदै उहाँले कुकुरले टोकेको त हो, केही गर्नु पर्दैन, किन खोप लगाउनु भन्ने जस्ता गलत धारणा आममानिसमा रहेको उल्लेख गर्नुभयो । उहाँले रेबिजबाट बच्न कुकुर वा अन्य जनावरबाट टोकेपछि तत्काल रेबिजविरुद्धको खोप लगाइहाल्नुपर्ने सुझाव दिनुभयो । 

डा. पुनले भन्नुभयो, “सानो कुकुरले टोकेको त हो, घाउ सानो छ । टोकेको तीन/चार दिन कटिसकेछ सुइँ लगाउनु पर्दैन भन्ने जस्ता गलत धारणा सामाजमा व्याप्त छन् ।” उहाँले स्वास्थ्य संस्थामा प्रशस्त मात्रामा खोप हुँदा हुँदै समेत सङ्ख्यात्मक रूपमा रेबिज रोगबाट मृत्यु हुनेको सङ्ख्या धेरै रहेको बताउनुभयो । 

शुव्रmराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मात्रै रेबिजबाट वार्षिक २० जनाको मृत्यु हुने गरेको छ । रेबिज लागेको लक्षण देखिनासाथ पाँचदेखि सात दिनमा मानिसको मृत्यु हुने गर्छ । सरुवा रोग विशेषज्ञ डा. पुनले रेबिजको लक्षण देखिन एकदेखि तीन महिनासम्म लाग्ने गरेको जानकारी दिनुभयो । “औँलाको टुप्पामा गहिरोसँग टोकेको छ वा घाँटीभन्दा माथिल्लो भागमा टोकेको छ भने एक महिनाअगाडि लक्षण देखिन सक्छ,” उहाँले भन्नुभयो । डा. पुनले नेपालमा छदेखि आठ महिनापछि पनि रेबिजको लक्षण देखा परेको घटना आफूले भेटेको अनुभव सुनाउनुभयो । उहाँले रेबिजको छुट्टै निर्देशिका तयार गर्नुपर्ने उल्लेख गर्दै सकेसम्म कुकुरले टोकेपछि तत्काल खोप लगाउनुपर्ने जानकारी दिनुभयो ।

डा. पुनले सरकारी तथ्याङ्कमा कम देखाए पनि रेबिजले टोकेर मृत्यु हुनेको सङ्ख्या बढेको बताउनुभयो । उहाँले ९० प्रतिशत कुकुरको टोकाइबाट रेबिज सर्ने गरेकाले कुकुरको व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो । रेबिज रोगको रोकथामका लागि कुकुरलाई एन्टिरेबिज भ्याक्सिन लगाउनुपर्ने सुझाव दिँदै उहाँले भुस्याहा कुकुर रेबिजको मुख्य समस्याका रूपमा देखिएको उल्लेख गर्नुभयो । “घरकै कुकुरले टोकेर रेबिज भएको पाइएको छ,” डा. पुनले भन्नुभयो, “घरको कुकुर बाहिर गएर घुम्ने हुँदा जुनसुकै कुकुरले टोके पनि खोप लगाइहाल्नुपर्छ ।” उहाँले टेकु अस्पतालमा मात्र २४ घण्टामा सात सय जनाले रेबिजविरुद्धको खोप लगाउने गरेको जानकारी दिनुभयो । 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको गत आर्थिक वर्ष २०७९/८० को तथ्याङ्क अनुसार ७५ हजार ५६२ जनालाई कुकुरले टोकेको छ । यस्तै नौ हजार ९२१ जनालाई अन्य जनावरले टोकेको पाइएको उल्लेख छ । महाशाखाका डा. हेमन्त ओझाले नेपालमा गत वर्ष दुई लाख ५० हजार ‘एआरभी’ खोपको प्रयोग भएको जानकारी दिनुभयो ।  रेबिज कुकुर, स्याल, चमेरो, न्याउरी मुसो, बाघ, चितुवा र बिरालो जस्ता सङ्क्रमित जनावरको टोकाइबाट सर्ने गर्छ । 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाकी पशु चिकित्सक डा. रोशिका श्रेष्ठले रेबिजबाट बच्न सतर्कता अपनाउनुपर्ने बताउनुभयो । उहाँले कुकुरले टोकेमा टोकेको स्थानमा तत्काल साबुन पानीले कम्तीमा १५ मिनेट धुने र नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरी स्वास्थ्यकर्मीको सल्लाहबमोजिम रेबिजविरुद्धको खोप लगाउन सुझाव दिनुभयो ।

  

Author
सरोज ढुङ्गेल

उहाँ गोरखापत्रका लागि स्वास्थ्य क्षेत्रको रिपोर्टिङ गर्नुहुन्छ ।