• ८ मंसिर २०८१, शनिबार

सन्दर्भ : विश्व मुटु दिवस

अस्वस्थकर जीवनशैलीले मुटुरोगको जोखिम बढ्दाे

blog

काठमाडौँ, असोज १२ गते । मानिसको अस्वस्थकर जीवनशैलीमा आएको परिवर्तनले मुटुरोगको जोखिम बढिरहेको छ । त्यस्तै उमेर, तनाव, खानपान, अल्छीपनजस्ता कारणले पनि मुटुरोगको जोखिम बढ्दो छ । नियमित शारीरिक अभ्यास तथा शारीरिक श्रमपूर्ण काम नगर्ने प्रवृत्तिले मुटुरोगी बढ्दै गएको छ ।

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिलले मिठो, मसलेदार, चिल्लो, स्वादिलो खाना मुटुका लागि अप्रिय रहेको बताउनुभयो । यीबाहेक चुरोट, खैनी, गुट्खा, रक्सी पिउने बानी त मुटुका लागि घातक हुने उहाँले बताउनुभयो । 

तर त्यो पनि व्यक्ति अनुसार फरक हुने उहाँले बताउनुभयो । उहाँका अनुसार एक व्यक्तिले सयौँ चुरोट खाएर केही नहुन सक्ने तर त्यही व्यक्तिले पिएको धुवाँका कारण अन्य व्यक्तिको स्वास्थ्यमा ठुलो असर पर्न सक्छ । उहाँले अस्वस्थकर खानपान तथा चुरोट, बिँडीजस्ता पदार्थ नियमित सेवन गर्नाले मुटुलाई बढी बल परेर रक्तचाप बढ्न जाने बताउनुभयो । 

अत्यधिक खानपिन र शारीरिक निष्क्रियताबाट विश्वका एक अर्ब मानिस बोसोका कारण ‘ओभर वेट’ समस्यामा परेको अनुमान छ । सामान्यतया एक जना स्वस्थ मानिसको बडी मास इन्डेक्स (आइबिएम) १८.५ देखि २४.५ बिचमा हुनु पर्छ । योभन्दा बढी उचाइ र मोटाइमा आधारित शारीरिक नाप वा ३५ इन्चभन्दा मोटो कम्मर भएका महिला र ३४ इन्चभन्दा बढी कम्मर भएका पुरुषलाई ‘ओभर वेट’ मानिन्छ । ‘ओभर वेट’ महिला, पुरुष रक्तचाप र मधुमेह रोगको जोखिममा हुन्छन् । 

विश्वमा बर्सेनि एक करोड ८० लाख मानिस मुटुरोगका कारण मर्ने गर्छन् । तीमध्ये विकासोन्मुख राष्ट्रमा मुटुरोगबाट मर्नेको सङ्ख्या ८० प्रतिशतभन्दा बढी छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् २०३० सम्ममा मुटुरोगबाट विश्वभर मर्नेको सङ्ख्या बर्सेनि दुई करोड ५० लाख पुग्ने अनुमान छ । नेपाल हृदयरोग निवारण प्रतिष्ठानका अनुसार हाल नेपालमा कुल जनसख्ंयाको २५ प्रतिशत अर्थात करिव ७५लाख जनता मुटुरोगी भएको अनुमान गरिएको छ । नेपालमा करिब ३० प्रतिशत वयस्कलाई उच्च रक्तचाप छ । २० प्रतिशतलाई कोलेस्ट्रोल छ, १० प्रतिशतलाई मधुमेह रहेको छ । त्यस्तै १ प्रतिशत बालबालिकालाई बाथ मुटुरोग छ । बर्सेनि एक हजार बालबालिका बाथ मुटुरोगका कारण मर्ने गर्छन् ।

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीले व्यायामले कोलेस्ट्रोल सन्तुलनमा राख्नुका साथै रक्तचाप, सुगर र ‘स्ट्रेस’ लाई पनि नियन्त्रित गर्ने बताउनुभयो । सानै उमेरमा पनि मुटुरोगको जोखिम बढेको भन्दै उहाँले उच्च रक्तचाप तथा मुटुको परीक्षण नियमित गर्नुपर्ने बताउनुभयो । 

डा. रेग्मीले आफूलाई रक्तचाप, हाई कोलेस्ट्रोल, मधुमेह वा अन्य किसिमका समस्या भएकोजस्तो लाग्नासाथ चिकित्सकहाँ गई उपचार गर्नुपर्ने बताउनुभयो । उहाँले छातीमा असजिलो र पीडा हुने, असजिलो बढ्दै गएर हुने पीडा आरामले बस्दा पनि नघट्ने, त्यस्तो बेला छातीबिचको अघिल्लो हड्डी, पाखुरा, घाँटी र ढाडमा पनि असजिलोका साथै ढुकढुकी अनियमित हुने, पसिना आउने, वाकवाकी र बाडुली पनि लाग्ने लक्षण मुटुरोगका लक्षण हुन सक्ने बताउनुभयो । 

यसैबिच विश्व मुटु महासङ्घको आह्वानमा शुक्रबार विश्वभर विश्व मुटु दिवस मनाइँदै छ । मुटुसम्बन्धी विभिन्न जनचेतनामूलक कार्यक्रम गरेर विश्व मुटु दिवस मनाइने गरिन्छ ।   

Author
सरोज ढुङ्गेल

उहाँ गोरखापत्रका लागि स्वास्थ्य क्षेत्रको रिपोर्टिङ गर्नुहुन्छ ।