• २१ वैशाख २०८१, शुक्रबार

गज्जव भएछ साथी (कविता)

blog

साथी !

ए साथी !

गज्जब भएछ साथी । 

साथीले समाचार सुनेको हुनुपर्छ । 


समुद्रमा प्वाल पर्ने भयो । 

आकाश टुक्रिने भयो । 

पहाडहरू दगुर्ने भए । 

सर्पहरूले रतेउली खेल्ने भए । 

घडियालले सुत्केरी स्याहार्ने भयो । 


गोरुले दुध दिने भयो । 

गाईले बारी जोत्ने भयो । 

स्यालहरूका सिङ पलाएछन् । 

गधा चढेर जेठोबा तीर्थ गएछन् । 

भाइ मारेर जेठी छोरीले अंश मुद्दा हालिछिन् । 


छोरोले बाउ काटेछन् । 

बुहारीले सासू काटिछिन् । 

भाइले दाइ काट्न त

कुन ठुलो कुरा हो र साथी ? 

जस्तो कि, 

काबिलले हाबिल काटेका थिए ।

अझै अचम्मको कुरा के भने नि साथी ?

काटेर गाई पुजारीले गधा पुजेछन् । 


साथी !

ए साथी ! 

गज्जब भएछ साथी । 

साथीले समाचार सुनेको हुनुपर्छ ।