गोरखापत्र समाचारदाता
काठमाडौँ, वैशाख २६ गते । राष्ट्रपति रामचन्द्र पौडेलले साहित्य, कला र सङ्गीतले सबै नेपालीलाई एकताको सूत्रमा बाँधेको बताउनुभएको छ । राष्ट्रपति भवनमा शुक्रबार आयोजित नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान तथा पुरस्कार प्रदान समारोहमा उहाँले साहित्य, कला र सङ्गीतले सामाजिक एकता सुदृढ बनाउने बताउनुभयो ।
राष्ट्रपति पौडेलले भन्नुभयो, “बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र भौगोलिक विविधता रहेको हाम्रो देशमा साहित्य, कला, गीत, सङ्गीत आपसमा प्रेम, मित्रता र भ्रातृत्व बढाउँदै राष्ट्रिय एकतालाई बलियो बनाउने आधार हुन् ।” उहाँले नेपाली गीत÷सङ्गीतको प्रवर्धनमा जोड दिँदै यसको विकास तथा आधुनिकताबिच सन्तुलन कायम गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
राष्ट्रपति पौडेलले नेपाली लोकभाका पछ्याउँदै आधुनिक गीत/सङ्गीतको सिर्जनामा नातिकाजीले पु¥याउनुभएको योगदान अनुकरणीय रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “नातिकाजीका सिर्जनामा रहेको चेतना, प्रेम, देशभक्ति र मानवीय संवेदनाका अनुभूतिले उहाँलाई नेपाली गीत/सङ्गीतप्रेमीमाझ सदैव अमर बनाइराखेको छ ।”
सो समारोहमा ‘नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान तथा पुरस्कार–२०८१’ प्रदान गरिएको थियो । कार्यक्रममा ‘नातिकाजी राष्ट्रिय विशिष्ट सङ्गीत सम्मान–२०८१’ बाट गीतकार नारायणकुमार आचार्य, गायक जुजुकाजी रञ्जित, गीतकार वीरेन्द्र पाठक, गायक शशि गुरुङ, गणेश पराजुली, गीतकार/गायक/सङ्गीतकार डा. भीमार्जुन आचार्य, सङ्गीतकार निर्वाणसिं गुरुङ, गीतकार साबु गदाल र गीतकार तथा सङ्गीतकार अष्ट लामा सम्मनित हुनुभयो ।
त्यस्तै ‘नातिकाजी राष्ट्रिय सङ्गीत पुरस्कार–२०८१’ बाट गीतकार मनोज खड्का, गायक रोशन गुरुङ, सङ्गीतकार ताराप्रकाश लिम्बू, गायिका सरिता शाही, एरेन्जर चाँद सिंह र रेकर्डिस्ट महेश्वर राजभण्डारी सम्मानित हुनुभयो । कार्यक्रममा ‘नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार–२०८१’ गायिका सहिमा श्रेष्ठ, गायक सुरेश लामा र गायिका विपना तामाङलाई प्रदान गरिएको थियो । त्यस्तै ‘नातिकाजी राष्ट्रिय शास्त्रीय सङ्गीत पुरस्कार–२०८१’ बाट शास्त्रीय सङ्गीततर्फ प्रमोद उपाध्याय सम्मानित हुनुभयो । सो अवसरमा ‘नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कार–२०८१’ पत्रकारिता क्षेत्रबाट अनन्त वाग्ले र गीता अधिकारी पुरस्कृत हुनुभयो । हरेक वर्ष स्रष्टाको पहिचान र प्रोत्साहनका लागि सम्मान तथा पुरस्कार प्रदान गर्दै आएको समाजका अध्यक्ष शम्भुजित बाँस्कोटाले बताउनुभयो । कार्यक्रममा सम्मानित तथा पुरस्कृत कलाकर्मीले स्वर्गीय नातिकाजीका गीत प्रत्यक्ष प्रस्तुत गर्नुभएको थियो ।