गोरखापत्र समाचारदाता
काठमाडौँ, वैशाख २६ गते । शुक्रबारबाट हलमा तीन नेपाली चलचित्र लालीबजार, गुरुआमा र मालती मङ्गले प्रदर्शनमा आएको छ । स्वस्तिमा खड्का अभिनीत चलचित्र ‘लालीबजार’ बादी समुदायकी एक महिलाले छोरीको प्रतिष्ठा र जीविकोका लागि गर्ने सङ्घर्षको कथा बताउँछ । चलचित्रलाई यम थापाले निर्देशन गर्नुभएको छ । स्वस्तिमासँग चलचित्रका अन्य कलाकारमा रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, प्रदीप ढकाल, आशा पौडेललगायतको अभिनय रहेको छ । प्रकु पाण्डेयको निर्देशन तथा कथा लेखन रहेको चलचित्र ‘मालती मङ्गले’ ले ग्रामीण दम्पतीको प्रेम र सामाजिक परिवेशलाई समेटेको छ । चलचित्रमा विजय बराल, वर्षा राउत, मेक्सम गौडेल, प्रकाश घिमिरे, सरिता गिरी, शुषमा निरौला, सुनील तामाङलगायतका कलाकारको अभिनय रहेको छ । त्यस्तै चलचित्र ‘गुरुआमा’ ले किशोरकिशोरी कसरी दुव्र्यसनमा फस्छन् र यसमा अभिभावकको भूमिका कस्तो हुन्छ भन्ने कथा दर्साउँछ । प्रेम सोनी सुनारकोे निर्माण तथा निर्देशन रहेको चलचित्रमा मिथिला शर्मा, गौरी मल्ल, बुद्धि तामाङ, टीका सानु र शुषमा थापाको अभिनय छ ।