पाँचथर, वैशाख २५ गते । यासोक बजार ध्वजापताकाले सिँगारेर चिरिच्याट्ट छ । सर्वसाधारण सानाठुला समूह बनाएर ‘धान नाच’ नाचिरहेका छन् । धान नाचसँगै च्याब्रुङको धुन र ‘पालाम’ ले यासोकलाई गुञ्जायमान बनाएको छ । फुटबल, ब्याडमिन्टन र चेस प्रतियोगिता सञ्चालन भइरहेका छन् । ‘मिनी’ मेलामा बालबालिका रमाइरहेका छन् ।
पाँचथरको कुम्मायक गाउँपालिकाको केन्द्र यासोकमा त्रिसाली मेला सुरु भएको छ । जिल्लाकै पुरानोमध्येको एक यासोक बजारमा हरेक तीन वर्षमा त्रिसाली मेला लाग्ने गर्छ । तीन वर्षमा लाग्ने भएकाले यो मेलालाई त्रिसाली भन्ने गरिएको हो ।
त्रिसाली पूजा तथा मेलामा विशेषतः माङहिम (पवित्रस्थल) कुम्मायक र कुस्सायकमा पूजाअर्चना गरिन्छ । त्रिसाली पूजाको मुख्य दिन देशविदेशबाट आएका हजारौँ भक्तजनले पूजाअर्चना गरे । सबै समुदायका मानिसले पूजा गर्ने गर्छन् । लिम्बू समुदायले आस्था गर्ने युमा माङले अन्तिम पटक कुम्मायकमा साक्षात् दर्शन दिएको जनविश्वास रहेको स्थानीय लालबहादुर सम्बाहाम्फेले बताउनुभयो ।
कुम्मायक, कुस्सायक क्षेत्र विकास संस्थाका सचिव सम्बाहाम्फेका अनुसार त्रिसाली मेलालाई ‘तङसुम तङनाम’ समेत भन्ने गरिन्छ । लिम्बू भाषामा तङ भनेको वर्ष र सुम भनेको तीन भन्ने हुन्छ । नवौँ शताब्दीका राजा उवाहाङले इलामको चेम्फोजोङमा राजधानी बनाई राज्य विस्तार गरेको किंवदन्ती छ । राजा उवाहाङले यहाँ युमा माङसँग शक्ति मागेको र राज्य विस्तार गर्न सफल भएपछि पुनः फर्केर आई परेवा उडाएर उत्सव मनाएको जनश्रुति छ । यसैका आधारमा यहाँ मेला लाग्न थालेको र उवाहाङकै छोरा माबोहाङले अन्तिम पटक युमा माङको दर्शन पाएको पनि जनश्रुति छ ।
शुक्रबारसम्म चल्ने मेलामा नेपालका विभिन्न जिल्लासहित भारत, म्यान्मार, भुटान, बेलायतलगायत देशबाट मेला भर्न आएको मेला मूल आयोजक समितिका अध्यक्ष देवेन्द्रकुमार लावतीले जानकारी दिनुभयो ।