• ९ मंसिर २०८१, आइतबार

गुँड (कथा)

blog

एसएलसीपछि दीनानाथको छोरा भूषण घर बसेन । छोराले गाउँमै पढोस् भन्ने भित्री चाहना थियो । तर आफूले पढ्न पाइएन, छोराले राम्ररी पढोस् भन्ठानी दीनानाथले छोरालाई सहर पठाएका थिए । 

हिँड्ने बेला भक्कानिँदै उनले भने, “राम्ररी पढेस् बाबु । कुलको इज्जत राखेस् । अहिले एक्लै डेरामा बस्न तँलाई गाह्रो होला, मामाको छोरासँग बस्नू । चामल यतैबाट पठाउँला । डेरा भाडा महिनामा पालो गरेर तिर्नू । यस्तो गर्दा खर्च पनि कम लाग्छ । ससानो जागिर खान थालेपछि अर्को छुट्टै डेरा खोज्नु पर्छ । ल बाबु, राम्ररी जानू ।”

भूषणले भन्यो, “हस् बुवा, मेरो चिन्ता गर्नु पर्दैन । खर्च खाँचो पर्दा म उतै सापटी लिउँला । तपाईंसँग हुँदा पठाइदिनू ।”

राधिका आमाले हिँड्ने बेला रातो अक्षता लगाइदिइन् । मन अमिलो भयो । छाती चरक्क चिरियो । छोराको अनुहारमा हेरेर बोल्न सकिनन् । मातृवात्सल्य छताछुल्ल भरिँदै आँसु बनेर बरबर झ-यो ।

भूषणको पनि मन कटक्क काटियो । फर्केर बाआमातिर हेर्न सकेन । मनमा विछोडको बह बोकेर जबर्जस्ती सहरको रुमानी सपना देख्दै बाटो लाग्यो । छोरालाई देखुन्जेल बाआमाले हेरिरहे । छोरा छेलिएपछि फर्किए ।

दीनानाथको आर्थिक अवस्था न कमजोर न बलियो, ठिकठिकै थियो । सेनामा जागिरे थिए, बिसै वर्षमा छाडे । छोराछोरी हुर्काउनका लागि हवल्दारबाटै निवृत्त भई घर आएका थिए । खेतबारी राम्रै जोडेका थिए । गर्न सक्दा राम्रै अन्न फल्थ्यो । सामान्य गुजाराका लागि पेन्सन आउँथ्यो । सानोतिनो काम गर्न रिन खोज्न जान पर्दैनथ्यो ।

छोरो हिँडेपछि उनीहरूको हातै भाँच्चियो । यसो गर् भूषण, यसो गर् भूषण । यता जा भूषण, उता जा भूषण । केटो छरितो थियो । आज्ञाकारी थियो । मेहनती थियो । खेतीपाती, कुलोपानी, बस्तुभाउ, अर्मपर्म सबैतिर भिजेको थियो । 

सहर छिरेपछि भूषणले मेहनत गरी पढ्यो । कक्षा १२ राम्ररी उत्तीर्ण गरी ऊ स्नातक पढ्दै थियो । त्यति पेन्सन बाआमालाई नै खर्च चाहिन्छ, मैले कमाउनु पर्छ भनेर ऊ सुरुदेखि नै काम गर्दै पढ्दै गर्न थालेको थियो । 

दीनानाथका एउटी छोरी थिई । उसको बिहेबारी भइसकेको थियो । अलि टाढै पुगेकाले माइत आइरहन गाह्रो थियो । फोनमा सन्चोबिसन्चोको कुरा दिनकै हुन्थ्यो । चाडबाडमा मात्र माइत आउँथी । 

भूषण गएको तीन वर्षसम्म दीनानाथको घरव्यवहार समथर ठाउँको नदी झैँ निर्बाध बग्यो । खेतीपाती चलाए । दुहुना बस्तुभाउ पाले । मिठै खाए । रमाएरै बसे ।

अचानक राधिका आमाको पेट दुख्न थाल्यो । आज आज, भोलि भोलि भन्दाभन्दै गाह्रोसाह्रो पार्दै ल्यायो । राधिका आमा निकै गलिन् । गाउँको स्वास्थ्यचौकी, क्लिनिक कतै जचाउन बाँकी राखेनन् । तै हुन्छ कि भनेर धमेली गरे । पाठीपरेवा भाके तर राधिका आमाको बेथा घटेन ।

राधिका आमा गाउँभरिकै ‘आमा’ थिइन् । उनको उमेरकाले पनि आमा भन्थे । कसैको दुःख देख्न नसक्ने, अरूलाई दिएरै मात्र आपूm खाने परमार्थी स्वभावकी थिइन् उनी । त्यसैले राधिका सबैकी आमा भएकी थिइन् । 

राधिका निचोरिएको अनुहार हेर्दै दीनानाथले भने, “हिँड अब सहर जाऊँ । यसरी बेथा पालेर बस्न हुँदैन । ठुलो अस्पतालमा नजाँची तिम्रो रोग खुट्टिँदैन ।”

राधिका आमाले भनिन्, “ओखती गरेकै छ । झारफुक गरेकै छ । अभैm केही दिन हेरम् । तै बिसेक हुन्छ कि !”

“बेथा पालेर बस्न हुन्न राधिका । बेलैमा जाँचेर आऊँ ।” दीनानाथले अघिकै कुरा दोहो-याए ।

अस्पताल जाने कुुरा राधिकाले मन्जुर गरिन् । एक हप्तापछि उनीहरू सहर जाने भए । बस्तुभाउ, खेतीपाती, तालासाँचो केही दिनका लागि छिमेकीलाई जिम्मा लगाए । 

दीनानाथले हतेर्दै अशक्त राधिकालाई डो-याए । पोकापन्तुरा उनैले बोके । एकचोटि घरपरिपरि घुमेर हेरे । दलिनको गुँडबाट गौथली च्यार्र गर्दै उडेर बाहिर आयो । उनी निस्किन लागेको देखेर होला काली भैँसी “आँइ” गरेर करायो । भैँसीसितै बोले, “ल ल नकरा । तँलाई घाँसपानी, खोलेफाडो गर्ने मान्छे छन् । हामी दुई चार दिनमा आइपुग्छौँ ।”

राधिका आमा सुनेर हेरिबसिन् । केही बोल्न सकिनन् । उनको अनुहारमा गहिरो पीडा परावर्तन भइरहेको थियो । ओठमुख सुकेका थिए । वर्षौंदेखि उनी यै घरको सुसेधन्दामा व्यस्त थिइन् । घर छाडेर कतै जान उनलाई अवकाश हुँदैनथ्यो । एक दिन यो गुँड छोड्न पर्दा संसारै छाडेको जस्तो हुन्थ्यो । 

राधिका आमा आज यो घरको बोझबाट निवृत्त भएकी थिएन तर रोगी भएर । उनको सर्वस्व नै यही घरव्यवहार थियो । पेट दुखाइको यति कडा पीडा नभएको भए उनले घर छोड्ने थिइनन् । घर छाड्न मन नलागेको सङ्केत उनको अनुहारले गर्दै थियो ।

साँझ ४ बजेतिर दीनानाथका दुई जना काठमाडौँ पुगे । अतिशय पीडाका कारण राधिका केही नखाई सुतिन् । भोलिपल्ट बिहान बाउछोराले राधिकालाई ट्याक्सीमा राखेर सैनिक अस्पताल लगे । लाइन बस्ने, टिकट लिने काम भूषणले ग¥यो । राधिका हिँड्न र बोल्न नसक्ने भएकी थिइन् ।

डाक्टरले रगत, दिसा, पिसाब परीक्षण गर्न लेखिदियो । पेटको अल्ट्रासाउन्ड गर्न सिफारिस ग-यो । यी सबै जाँचपड्तालको रिपोर्ट भोलिपल्ट मात्र आउने भएपछि डाक्टरले लेखिदिएको सामान्य औषधि किनेर उनीहरू डेरामा फर्किए ।

भूषणले भन्यो, “आमा, तातो केही खानु है ! दुख्न कम हुन्छ । जाउलो बनाऊँ ?”

राधिका आमाले ‘हुन्छ’ भनेर टाउकाले सङ्केत गरेपछि भूषणले जाउलो पकाएर ल्यायो । दुई चम्चा खाएपछि राधिकाले भनिन्, “कान्छा, मलाई खानै मन लागेन । कस्तो बान्ता आउला जस्तो भयो ।”

दीनानाथले भने, “अलिकति बल गरेको भए हुन्थ्यो । जाँदै नगए के बल गर्नु ! भो भो छाड्दिेऊ ।”

जाउलोको थाल पर सारेर राधिका सिरकमा डल्लो परिन् । उनलाई दुखाइ थाम्न धेरै गाह्रो भएको थियो । दाँत किटेर सहने प्रयास गरिन् । पीडाले उनलाई काम छुटेको थियो । 

मामाको छोराले बिहे गरेकाले भूषण अन्तै डेरा खोज्न बाध्य भयो । अहिले भूषणले छुट्टै डेरा लिएको थियो । कोठा साँघुरो थियो । भान्सा त्यहीँ, सुत्ने ओछ्यान त्यहीँ, राखनधरन त्यहीँ । एउटा कुनामा भूषण सुत्ने खाट थियो । अर्को कुनामा कोही पाहुनापाछा आउँदा सुत्ने जगेडा खाट थियो । भूषणका बाआमा त्यही खाटमा सुते ।

दुखाइले राधिकाले आँखा झिमिक्क गरिनन् । छेउमा सुतेका दीनानाथ बेलाबेला झकाउँथे तर राधिकाको छटपटीका कारण बिउँझिहाल्थे । राति उनले पानी मागिन् । दीनानाथले पानी तताएर दिए । उज्यालो हुने बेला राधिका झकाइन् ।

भूषणले भोलिपल्ट बिहानै आमालाई अस्पताल पु-यायो । दीनानाथ पनि सँगै गए । जाँचको रिपोर्ट आइसकेको थियो । डाक्टरलाई देखाउने पालो पर्खेर बेन्चमा तीनै जना बसे । पालोमा भित्र पसेपछि डाक्टरले रिपोर्ट हेर्दै भन्यो, “अरू त ठिकै छ, अल्ट्रासाउन्डमा पेटमा घाउ देखिएको छ । एकचोटि अरू जाँच गरेर हेरौँ ।”

डाक्टरले थप औषधी लेखिदियो । इन्डोस्कोपी, कोलोनोस्कोपी लगायत अरू परीक्षण गर्न सिफारिस गरिदियो । ती परीक्षणको पालो भोलि मात्र मिल्ने भएपछि औषधी किनेर उनीहरू डेरामा फर्किए ।

डाक्टरले एकपछि अर्को परीक्षण गराउँदै गयो । पेटमा सामान्य घाउबाहेक कुनै जटिल कैफियत नदेखिए पनि राधिकाको पेटको बेथा निको हुने लक्षण देखिएन ।

अन्ततः राधिकाको रोग खुट्टियो । डाक्टरले भूषणलाई एकान्तमा लगेर भन्यो, “भाइ, आमाको पेटमा क्यान्सर भएको छ । क्यान्सर निकै पैmलिसकेको छ । खर्चका लागि तयार हुनु । म क्यान्सर अस्पतालमा रिफर गरिदिन्छु ।”

भूषण छाँगाबाट तल बजारियो । होसै हराउला जस्तो भयो । आपूmलाई नियन्त्रण ग¥यो । बालाई भनौँ कि नभनौँ भनेर एकछिन् सोच्यो । नजिक आएर भन्यो, “आमाको पेटमा ठुलो घाउ भएको रे । खर्च अलि बढी नै लाग्छ रे बुबा ।”

दीनानाथले भने, “उपचार गर्नु परिहाल्यो नि छोरा । घाउ निको भैहाल्छ नि !”

बाले त्यसो भन्दा भूषण अँध्यारो मुख पारेर उभिइबस्यो । ऊ निकट भविष्यमा आमाको सम्भावित अवस्था आकलन गर्न थाल्यो । छोरो टोलाएको देखेर दीनानाथले सोधे, “किन पिर गरेको कान्छा ! आमालाई निको भैहाल्छ नि !”

“डाक्टरले अर्को अस्पताल लैजान रिफर गरेका छन् । यहाँभन्दा त्यहाँ राम्रा डाक्टर छन् । ठिक हुन्छ बा आमालाई । बरु तपाईं चाहिँ पिर नगर्नू ।”

भोलिपल्टै राधिका आमालाई क्यान्सर अस्पताल लगियो । इमर्जेन्सीबाट सोभैm बिरामीलाई वार्डमा भर्ना गर्न पठाइदियो डाक्टरले । किन पठायो, किन भर्ना ग-यो, यो कुरा भूषणलाई थाह थियो । तर उसले बालाई अभैm भनेको थिएन ।

राधिका आमाको उपचार सुरु भयो । क्यान्सर अस्पतालमा पठाइदिएपछि दीनानाथलाई पनि राधिकाको रोेग थाह भइहाल्यो । आजभोलि गर्दागर्दै हप्ता बित्यो । हप्तौँ बिते । राधिका आमा उठेर हिँड्लिन् भनेको झनै शिथिल हुँदै गइन् । “यो जाँच, त्यो जाँच । यता गएर रिपोर्ट लेऊ, उता गएर रगत लेऊ” गर्दा गर्दा भूषण हत्तुहैरान भयो । दीनानाथसित भएका पैसा पनि सकियो । गाउँबाट पैसा मगाए । साथीभाइ गुहारे । साथीभाइ, इष्टमित्रले सकेको सहयोग गरे ।

छोरीज्वाइँ भेट्न आए । एक दुई दिन कुरुवा बसेर फर्किहाले । भूषण काममा नगएको धेरै दिन भयो । उसको अफिसले ताकेता गर्न थालेपछि कि जागिर छाड्नुपर्ने भयो कि जानुपर्ने भयो । 

दीनानाथले भने, “कान्छा, म एक पटक घर गएर बस्तुभाउ बेचेर आउँछु । अर्कालाई धेरै दुःख दिनु हुँदैन । कसैले जग्गा अधियाँमा खाए दिन्छु । नखाए बाँभैm बसोस् । म आएपछि तँ काममा जा । भएको काम छुट्यो भने अन्त काम पाइँदैन । खाने बाटो पनि हराउँछ ।”

राधिका आमाले सासैले भनिन्, “म पनि घर जान्छु । मलाई उहीँ निको हुन्छ । मलाई निकाल्न लगा कान्छा ।”

भूषण बोल्न सकेन । निभ्दै गरेको बत्ती जस्तै आमाको मलिन अनुहार हेरेर तरक्क आँसु खसाल्यो । अर्कापट्टि फर्केर आँसु पुछ्यो । बाको अनुहारमा हेर्न सकेन ।

आमालाई भन्यो, “रोग निको नभई कहाँ घर जाने आमा ! अलि सन्चो हुन्छ अनि जाने नि !”

आमाले शिथिल स्वरमा भनिन्, “मलाई गाउँमै ठिक हुन्छ कान्छा । मलाई गाउँ पु-याइदे । मरे पनि म मेरै गुँडमा मर्छु ।”  

दीनानाथ भारी मन पारेर गाउँ आए । उनले सस्तैमा बस्तुभाउ बेचे । खेतीबारीमा बाली लगाएर आधा गेडो दिने कोही भेटेनन् । ढोकामा ताल्चा झुन्ड्याएर उनी फेरि सहर हिँडे । 

दीनानाथ राधिकालाई रुँग्न थाले । भूषण अस्पतालमा बाआमालाई खाना लगिदिएर काममा जान थाल्यो । वार्डको ओर्तिर पर्तिर भएका बिरामी कराइरहेका हुन्थे । छटपटिइरहेका हुन्थे । चिच्याइरहेका हुन्थे । त्यो करुण चीत्कार सुन्दा दीनानाथको मनभित्रैबाट गलेर आउँथ्यो । उनी रुँगालुसित कुराकानी गरेर मन बहलाउँथे ।

राधिका ओछ्यानमा अनेक कुरा खेलाइरहेकी हुन्थिन् । उनलाई तुरुन्तै घर जान मन थियो । दीनानाथले बस्तुभाउ बेचेको कुरा उनलाई मन परेको थिएन । उनले भनिन्, “त्यति दुधालु भैँसी पनि बेच्नु भो है ! म निको भएर गएपछि राम्ररी पालिहाल्थेँ नि !”

दीनाथलाले भने, “हामी यहाँ, कसले पालिदिन्छ ? निको भएपछि अर्को किनौँला न । किन पिर गरेकी !”

राधिकाले सासैले भनिन्, “त्यस्तो गुनिलो भैँसी कहाँ पाइला र खै !”

उनीहरूको दिन यस्तै गन्थनमा बित्थ्यो । पालोमा नर्स आएर औषधी दिन्थे । तापव्रmम र रक्तचाप लिन्थे । रिपोर्ट लेख्थे । अनि अनेक फर्मान दिएर जान्थे । दिनको एक दुई पटक राउन्डमा डाक्टर आउँथे । नर्सले गरेको रिपोर्टिङ सुनेर जान्थे ।

महिना दिन बित्यो । दुई महिना बित्यो । सरसापटी गर्ने ठाउँ पनि सकियो । सहयोग गर्नेले गरिसके । अब दीनानाथलाई पैसाको ठुलो सङ्कट प-यो । छोराले कमाएको कोठामै खर्च हुन्थ्यो । उनको थोरैै पेन्सनले कति धान्थ्यो र !

डाक्टरले भन्यो, “पेटको अप्रेसन गर्नु पर्छ, खर्चको जोहो गर्नुहोला ।”

दीनानाथले सोधे, “अप्रेसन गरेपछि ठिक होला त डाक्टर साप !”

डाक्टरले भन्यो, “त्यो ग्यारेन्टी गर्न सकिँदैन । आन्द्रामा घाउ निकै फैलिएको छ ।”

दीनानाथको टाउकोमा अर्को पहाड खस्यो । डाक्टरले भनेपछि नाइँ कसरी भन्ने ! आफ्नी जीवन सगिङ्नीको बेथा निको हुन्छ भने दीनानाथ आफैँ बन्धक बस्न पनि तयार थिए । उनले अप्रेसनका लागि सहमति जनाए ।

अप्रेसन भयो । राधिका आमाको पेटको बेथा निको हुने कुनै छाँट देखिएन । अस्पतालले फलोअपमा आउने गरी घर पठाइदियो ।

कोठामा दीनानाथले राधिका आमाको सक्दो स्याहारसुसार गरे । उनलाई अभाव र तनावको चव्रmवातले उडाएर कता कता पु-याउँथ्यो । पागलै हुन्छु कि जस्तो लाग्थ्यो । श्रीमतीभन्दा अघि नै आफ्नै जीवन विसर्जन गर्ने सोच पनि मनमा नआएको होइन । सोचे, “म पहिले मरेँ भने राधिकाको के हबिगत होला !”

अन्ततः राधिकाले नश्वर चोला छाडिन् । परत्र चोला सुखमय होस् भनेर कामना गर्दै दीनानाथले श्रीमतीलाई सदाका लागि बिदा गरे । आर्यघाटमा उनको पार्थिव शरीर धुवाँमा बिलायो ।

दीनानाथ एक्लिए । एकातिर श्रीमतीको माया, अर्कातिर चालिस वर्ष सुखदुःखमा साथ दिएकी जीवनसाथीले आपूmलाई छाडेर जाँदा उनी आगामी आफ्ना दिनका चिन्ताले पागल जस्तै भएका थिए । उनको जीवन उजाडियो । बाँकी जीवन भुक्तान कसरी गर्ने ? दीनानाथ गहिरो मानसिक पीडामा डुबे ।

आमाको अनन्ततिरको यात्रापछि भूषण टुहुरो भयो । उसले कुनै गतिलो काम पाएको थिएन । पाउने सम्भावना थिएन । आमाको उपचार गर्दा लागेको रिनले ऊ थिचिएको थियो । देशमा आफ्नो भविष्य देखेन, जसरी लाखौँ युवाले देखेका थिएनन् । एक दिन भूषण विदेश उड्यो, जसरी लाखौँ युवा उडिरहेका थिए ।

दीनानाथलाई गाउँमा जान मन थिएन, सहरमा बस्नै मन थिएन । मन नभएर कहाँ जानुथ्यो र ! मन नहुँदा नहुँदै दीनानाथ त्यही डेरामा एक्लै बसे । छोराले यतै बस्नु भनेको थियो । दिउँसोतिर बाहिरफेर निस्कन्थे । कहिलेकाहीँ आफन्तकोमा जान्थे । कहिले मन्दिर जान्थे । छोरीकोमा गएर तीन चार महिना बसे । त्यहाँ पनि अडिन सकेनन् । दीनानाथका दिन बोझिला, पट्यारिला र निरस बन्दै गएका थिए ।   

पाँच वर्षपछि दीनानाथ एक्लै घर फर्किए । साँझ पर्न लागेको थियो । गाउँतिर कतै देखा परेनन् । उनी घरमाथि चिलाउनेको फेदमा गएर बसे । चराहरू चिर्बिराउँदै गुँडमा फर्कंदै थिए । हो, उनी पनि आज गुँडमा फर्कंदै थिए तर उनको त्यो जीर्ण गुँडमा चरी थिइन् । गुँड उजाड र एक्लो थियो । 

काँस र मधेसी बनमाराको घारी पन्छाउँदै उनी आँगनमा आए । लुगाभरी कुरो टाँसियो । आफ्नै आँगन बिरानो लाग्यो । बाहिर खाटमा गएर बसे । खाट धमिराले चिरिप्पै पारेको रहेछ । ढिकेटो भत्किएर ढिकी कुहिसकेछ । जाँतोको नामनिसान केही थिएन । जाँतोमा हातो थिएन, जसरी उनको जीवनको हातो फुक्लिएर असहाय बनेको थियो । मतानका खाँबा लडिसकेछन्, जसरी उनको जीवनको मूल खाँबो लडेको थियो । घरको जस्तापाताको सेतो छानो खियाले खैरो भइसकेछ । बाहिरको पालीको काठ कुहिएर खस्न लागेको रहेछ । 

सधैँ उनको घरमा गौथलीले गुँड लगाएर बच्चा हुर्काउँथ्यो । दलानमाथिको दलिनमा टाँसेर गौथलीले लगाएर गुँड भ्वाक्कै तल खसेको रहेछ । त्यहाँ गौथलीका भुत्ला टाँसिएका थिए, सायद बिरालोले गुँडबाट गौथलीका बच्चा झारेर खाएको थियो होला । पहिले पनि बिरालोले गौथलीका बच्चा खान धेरै झमट गथ्र्यो । उनी बिरालो धपाइदिन्थे र गौथली बच्चा हुर्काएर लैजान पाउँथी ।  

उनले खिया लागेका ताल्चामा साँचो घुसारे । निकै गाह्रो गरी ढोकाको ताल्चा खुल्यो । मन भारी पारेर भित्र पसे । कोठामा ढुसी गनाएर बस्नै नसक्ने भएको रहेछ । दराजमा भएका दुई चार थान धार्मिक किताब मुसाले टुक्राटुक्रा पारेको रहेछ । उनको जीवनलाई सार्थक र आदर्शवान् बनाउन भूमिका खेलेको गीताको किताब टेलरमा कपडा काटेर निस्केका टाला जस्ता टुक्रैटुक्रा भएको रहेछ । 

सधैँ प्रातः कालमा पूजा गर्न खटियामा राखेका शालिग्राम भुइँतिर लडेको देखे । दिन बिराएर मोही पार्दा दुई माना घिउ झिकेको चारपाथे ठेकी हातै भित्र पस्ने गरी चिराचिरा परेर फुटेछ । खाटका डस्ना सिरक मुसाले धुजाधुजा पारेको थियो ।

उनले राधिकाको राखनधरन गर्ने दराज खोले । राधिकाले लगाउने लुगा एउटा सद्दे थिएन । दराजका अरू चिज हेर्नै सकेनन् । झ्याल, ढोका, गारो, दलान, खाट, दराज भएर मात्र घर नहुँदो रहेछ । घर थियो तर घर ‘घर’ जस्तो थिएन ।

उनी बाहिर आए । मूल ढोकाको ठिक माथितिर घुर्मैलो, रङ उडिसकेको र माउले छेउछेउजति चपाइसकेको फ्रेमसहित झुन्डिएको फोटो उनका आँखामा प¥यो । फोटोमा उनी थिए र उनकी जीवन सङ्गिनी राधिका थिइन् । राधिकाले भूषणलाई छातीमा टाँसेर बोकेकी थिइन् । त्यो फोटो सालोले शान्तिसेनाबाट फर्कंदा ल्याएको क्यामेराले खिचेको थियो । हिकोलाको रिल काठमाडौँबाट धोएर ल्याउन महिना दिन लागेको थियो । फोटो हात परेको दिन उनी केटाकेटी झैँ फुरुङ्ग भएका थिए ।

दीनानाथले ढोकामाथिको फोटो झिके । प्रेमसाथ ओल्टाइपल्टाई हेरे । लागेको धुलो टकटक्याए । छातीमा टाँसे । सास बढेर आयो । लामो सास फेरे । मुटु फुट्ला जस्तो भयो । फोटो छातीमा टाँसेको टाँस्यै दीनानाथ भुइँमा लडे ।