प्रेमराज सिम्खडा
कालीकोट, कात्तिक २१ गते । कालीकोटको खाँडाचक्र नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत हाजिर भएको २१ दिनमा सरुवा हुनुभएको छ । नगरपालिका स्थापना भएको नौ वर्षपछि दरबन्दीअनुसार प्रमुख प्रशासकीय अधिकृत पाएको खुसियाली चलिरहेकै बेला प्रमुख प्रशासकीय अधिकृत पदमवहादुर बुढा क्षेत्रीको दैलेख सरुवा भएको हो ।
२०७३ सालमा नगरपालिका घोषणा भएसँगै २०७४ मा पहिलो निर्वाचन भएको थियो । त्यसयता दरबन्दीअनुसारको कार्यालय प्रमुख अर्थात प्रमुख प्रशासकीय अधिकृत नपाएको खाँडाचक्र नगरपालिकाले नौ वर्ष ६ महिनापछि प्रमुख पाएको हो ।
गत असोज महिनाको ३१ गते शुक्रबार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत भदौ १२ गते खटाएका उपसचिव पदमबहादुर बुढा क्षेत्री हाजिर भएपछि दरवन्दी अनुसारको कार्यलय प्रमुख प्राप्त गरेको भन्दै कर्मचारी र स्थानीय खुसी भएका थिए ।
कार्यालयका कर्मचारीले क्षेत्रीलाई स्वागत गर्दै झण्डै नौ वर्षपछि दरवन्दी अनुसारको कार्यलय प्रमुख पाएकोमा खुसी व्यक्त गरे पनि मन्त्रालयले क्षेत्रीलाई २१ दिनमा दैलेखेको दुल्लु नगरपालिकामा सरुवा गरेपछि कर्मचारी निरास भएको बताएका छन् ।
दरबन्दी अनुसारको कार्यालय प्रमुख हुँदा हरेक काममा सहज हुने र कुनै कानुनी झनझट नहुने कर्मचारीको भनाइ एक महिना नपुग्दै अपुरो भएको छ । पदमबहादु बुढा क्षेत्री यसअघि लोकसेवा कार्यालय कर्णाली प्रदेशमा कार्यरत हुनुहुन्थ्यो । यता निर्वाचित स्थानीय सरकारले दरबन्दी अनुसारको कार्यालय प्रमुख ल्याउन नसक्दा कामकाज प्रभावित हुँदैआएको थियो ।
गत भदौमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा गरेका कर्मचारीलाई हाजिर भएको २१ दिनमा सरुवा गर्नु मन्त्रालयको अदूरदर्सिता भएको कर्मचारीकै गुनासो छ ।
हाजिर भएको २१ दिनमा पुनः सरुवा किन गरियो भन्ने प्रश्नमा स्थानीय तह समन्वय शाखाका उपसचिव हरिप्रसाद चापागाईले सरुवाको लिस्टमा नाम देखेको तर यो बिषय स्थानीय तह कर्मचारी प्रशासन शाखाको भएकाले त्यो शाखाका उपसचिव भिमकान्त पौडेलबाट जानकारी लिन जबाफ दिनुभयो ।