अन्नलाई अङ्ग्रेजीमा ‘ग्रेन’ भनिन्छ । व्यङ्ग्यार्थमा ब्रेनद्वारा सृजित शब्द भएको हुनाले ‘ग्रेन’ हुन गएको हो । अन्न र अन्य सुन्दा उस्तै लागे पनि यो समश्रुति भिन्नार्थक शब्दयुग्म मानिन्छ । अन्न मानवीय उपभोग्य वस्तु भन्ने बुझिन्छ । अन्य भनेको चाहिँ अरू कुनै त्योबाहेक अर्काे भन्ने अर्थ लाग्छ । अन्नको पर्यायवाची शब्द अनाज धान्य, शस्य, दाना, खाद्यान्न पनि हो । मानव शरीरलाई दरो, हृष्टपुष्ट र सबल पार्न यी अन्नको अहम् भूमिका रहेको हुन्छ । त्यसैले मान्छेले जागिर खाने, दुःख गर्ने, देशै छोडेर जाने बिहानबेलुका सेवन गर्ने अन्नकै लागि हो । बाल, वयस्क, वृद्ध हरेक स्तरका मान्छे यसको उपभोग गर्न हरक्षण लालायित हुन्छन् ।
मानव शरीरलाई आवश्यक पर्ने अन्न प्रचुर मात्रामा उत्पादन गर्ने भएर नै नेपाल सिङ्गो देशले कृषिप्रधान देशको पगरी गुथेको हो । यहाँका सबै जग्गाजमिनमा तनमनधन लगाएर खेती गर्ने हो भने तीन करोड होइन, ३० करोड जनतालाई खान पुग्छ भन्दै ठुला नेता मिठा मिठा भाषण फलाक्ने गर्छन् र आफू चाहिँ अटुट रूपमा भारतीय खाद्यान्न प्रयोग गर्छन् । नेपाली जनतालाई परनिर्भर हुन नेपाली नेताले नै सिकाइरहेका छन् । भनेको बेलामा नेपाली कृषकले मल, बिउबिजन केही पनि पाउँदैनन् । देशमा सबभन्दा गरिब नै कृषक बन्नु परिरहेको छ । उस्तै परे भोकभोकै काम गर्ने वर्गमा पर्छ कृषक ।
संसारका हरेक मान्छेले आफ्नो घ्याम्पे थैलो भर्नु प¥यो भने अन्नकै शरण पर्नु पर्छ । महँगा सुनचाँदी, हिरामोतीले पेट भरिँदैन त्यसैले जति नै ठुलो महामानव भए पनि जन्मदेखि मृत्यु पर्यन्त अन्नमै मुख जोतिरहेका हुन्छन् । त्यतिले नपुगेर समाधिस्थलमा लम्पसार अर्थीमा समेत मानाचामल भरेर पोको पारेर छातीमा राखिदिनु पर्छ । त्यसैले अन्नको महत्व अपरम्पार छ । धन्न अन्न छ र हामी छौँ । अन्न माटोमा उम्रिन्छ । माटोमै जरा गाडेर धनसारको भकारी भरिदिन्छ । माटोमा फल्छ, माटोमै मौलाउँछ । माटोमा फुल्छ, माटोमै फक्रिन्छ । माटोमै परिपक्व हुन्छ र मान्छेले आफ्नो अनुकूल पारेर थन्क्याउने भोकले भुतुक्क हुँदा दन्क्याउने गर्छ । पाकेको होस् या काँचो फाँचो फुलाउन पनि हसुर्नु बुद्धिमानी ठहर्छ ।
एकादशीका दिन व्रतालुले आलु खान्छन् तर अन्न खाँदैनन् । भन्छन्, “एकादशीका दिनमा अन्नमा पाप बसेको हुन्छ रे ।” त्यसैले त्यस दिन अन्न नखानु भन्छन् । मृतकको आशौच बारेका बेलामा एक छाक मात्रै अन्न खाने परम्परा रहिआएको छ । एकछाकीका दिन बेलका र पूजाकर्म गर्नुअगाडि अन्न खान वर्जित छ तर बुद्ध धर्मले टन्न अन्न खाएर पूजा गर भन्छ ।
अन्न यस्तो चिज हो, जुन किसानको धाराप्रवाह पसिना खर्चिएर मात्रै तयार हुन्छ तर विलासी वर्गले सुको दाम खर्चिएर मिठोमसिनो सिदो पिठो रोजी रोजी आफ्नो पोल्टामा पार्दै कृषकभन्दा ठालु पल्टिने रित ज्यँुका त्युँ छ । मानव चोलाभित्र पनि आफूलाई असाध्यै भाग्यमानी, धनी, सुखी ठान्नेहरू आफ्नो अहङ्कारको नसाले पिरोल्दा आफूले टेकेको धराको गुण भुसुक्कै भुल्छन् । मानिस आकाशतिर फर्किएर बुजो हाल्छ, आकाशतिरै फर्किएर कुल्ला गर्छ र थुक्छ । मानिसले भुइँतिर फर्किएर अन्न कसरी उत्पादन हुन्छ र आफ्नो भान्सा मुखसम्म आइपुग्दा कृषकले अन्नका साथ कति हन्डर खाएको हुन्छ भन्ने कुरा घमण्डको रापतापका कारण त्यसतर्फ नफर्कीकनै चोला बदल्छ । यसरी जब मान्छे मैमत्त बनेर रन्थनाइरहेको हुन्छ नि; हो, त्यतिखेर उसले आफूबाहेक कसैलाई देख्दैन । यो चाहिँ अन्नबाट बन्ने भात नभएर मात हो । मातले मान्छेलाई नराम्रो गरी पछार्छ । अन्नपानीको शरीर हो, कतिखेर के हुन्छ मानव शरीरको के भर छ र भनेर आफूले आफ्नै जिन्दगीसँग गुनासो गरेको पनि सुन्न पाइन्छ । अन्न पृथ्वीको पनि उर्वर भूमिमा मात्रै पाइन्छ । त्यसमा पनि नेपाल, भारत, पाकिस्तानका कृषक जाँगरिला छन् त्यसैले त्यहाँ धेरै अन्न फलाउँछन् । विश्वको लगभग ४० प्रतिशत अन्न त भारतले नै उत्पादन गर्छ । मानिसले अरू देशको माटो, हावापानी अनुसारको मानवीय उपभोग्य वस्तु ठाउँ अनुसार खेतीपाती गर्ने गर्छन् । धान, गहुँ, कोदो, जौलगायत मानवीय खुराक पोषक तत्वका रूपमा अनेक किसिमका खुराकलाई समेट्न सकिन्छ । भात खाँदा वाक्क लागे हामीले रूप परिवर्तन गरेर रोटी, पुवा, ढिँडो, जाउलो, जेरी, पुरी, परौठा, पापड, अनेक मिष्ठान्न व्यञ्जनले व्यष्ठित भएर जिउन पिउन सकिन्छ ।
अन्नमा भरपुर पोषक तत्व रहेको हुन्छ त्यसैले यसको उत्पादनमा मान्छेले जोड दिन्छ । स्वास्थ्य मानवले अन्न उपभोग गरेको २४ घण्टापछि मलद्वारको मार्ग हुँदै मलका रूपमा पैठारी गर्ने प्रबन्ध दैवले नै मिलाएको हुन्छ र हामी त्यसै अनुसार चल्छौँ पनि । आरामले मल विसर्जन गर्नकै लागि जगत्मा रेस्टरुमको प्रादुर्भाव भएको मानिन्छ । पहिला पहिला मान्छेले पनि पशुले झँै जहाँ च्याप्छ, त्यही थ्याच्च बसेर मल निष्कासन गर्ने चलन थियो । पछि मानव सभ्य शिक्षित, ज्ञानी हुँदै गएपछि दुर्गन्धको बैगुन थाहा भयो । त्यसपछि सेन्टको विकास भयो र त्यसले पनि धान्ने छाँटकाँट नदेखिएपछि मलमूत्ररहित पालिकाको घोषणा गर्न थालियो तर घोषणा मात्रैले केही प्रगति नहुँदा अहिले नेपालमा मानव दुर्गन्धित जीवनयापन गर्न अभ्यस्त भइसकेका छन् । चाहे नचाहिँदो काम गरेर दुर्गन्धित बनून् या भ्रष्टाचार । यी सबै दुर्गन्धयोग्य छन् ।
एउटा उखान हाम्रो समाजमा प्रचलित छ, ‘घरै पिँडालु बनै पिँडालु, ससुराली गयो बाह्र हातको पिँडालु’ । हो, अन्न पनि यस्तै हो, हामी जतासुकै गएर सामान्य खाना खाए पनि भव्य मेजमान भोजभतेर गरे पनि अन्न नै अगाडि सारिन्छ । अनि अन्नप्राशन गरेर बच्चैबाट अन्न खान सिकाइन्छ । सिकाएपछि सिकेर जानेर गुरुको आदेश पालन गर्नै पर्छ । हाम्रा सन्ततिले पनि रिट्ठो नबिराई ‘महाजनो यनगत सः पन्या’ भने झैँ ठुला अग्रजले हिँड्नेको बाटो हिँडिरहेकै छन् ।
अन्नविहीन घर वा देश छ भने त्यस्तो अवस्थामा अनिकाल परेको भनिन्छ । खेतबारीको उब्जनी सकिएपछि अनिकालले मुख देखाउँछ तर अहिलेको जमानामा एउटा देशमा अनिकाल प¥यो भने अर्काे देशबाट अन्न आयात गरेर थैलो भर्दै अन्नपूर्ण देवीको दैलो उघार्ने चलन छ । अनिकाल रहरले पर्दैन तर दैवी विपत् र उब्जनीयोग्य जमिनमा कङ्क्रिटका सहर लहर लागेर उभिन थाले भने अनिकाल निकट छ है भनेर जाने हुन्छ ।
पूर्वीय मान्यता अनुसार मेघलाई अन्नको अधिपति मानिन्छ । पानी नपर्ने मरुभूमि र अधिक चिसो आइसल्यान्डमा अन्नको कल्पना गर्न सकिँदैन । अनिकाल त्यस्तो सङ्कट हो, जुन लाग्नासाथ मान्छेहरू जङ्गल पसेर गिठ्ठाभ्याकुर, सर्प, गँड्यौला, भ्यागुता, किरा, फट्याङ्ग्रा, जलचर, थलचर, उभयचर, चराचुरुङ्गी, रुखका पात, बोक्रा, जरा जे पाइन्छ त्यही खाइन्छ भन्ने नारासाथ अगाडि बढ्नुपर्ने हुन्छ तर अहिले अन्नका परिकारमा आएको विविधीकरण र प्रचुरताले गर्दा यो खाने, त्यो नखाने यो अन्न त्यो कुअन्न, तँ मांसाहारी, म शाकाहारी भनेर स्वदेहलाई नै विभाजित गरेका छन् । साँच्चै अनिकाल परेर मर्न लागेमा ती छुसी मान्छेहरू जस्तो पाइन्छ त्यस्तै खान हारालुछ गर्छन् । किनकि सङ्कटमा प्राणभन्दा ठुलो प्राणीका लागि केही हुँदैन ।
यहाँ अन्नसम्बन्धी प्रचलित एउटा भनाइ प्रस्तुत गर्नु समुचित नै ठहर्ला । प्रारब्धमा ईश्वरले ब्रह्माण्ड सिर्जना गरेपछि त्यसको रेखदेख, उन्नति प्रगति गर्न मानवको सिर्जना गर्नु पनि अति आवश्यक ठानेछन् । त्यसैले लोकपालहरू सिर्जना गरे । अनि ती लोकपालले खाने गुजारा गर्ने अन्न पनि सिर्जना गर्नैपर्ने ठानेर अन्न पनि सिर्जना गरिदिएछन् तर अन्न मान्छे देखेर भाग्न थालेछ । मान्छेले अन्न अन्न भनेर बोलाउँदा पनि अन्न टाढा टाढा भागेछ । मान्छेको छेउ नै परेन अनि मान्छेले आफ्ना हातखुट्टा तथा इन्द्रियले पक्रिन खोज्यो सकेन, अन्न भाग्न छोडेनछ । अनि अन्त्यमा मुखले पक्रिँदा मात्रै अन्न अडिएछ ।
अन्न अन्न भनेर बोलाउँदा नै अन्न आएको भए सायद मान्छेले अन्नको उच्चारण गर्नासाथ अघाउँथ्यो होला । हृष्टपुष्ट हुन्थ्यो होला तर मुखले पक्रिँदा मात्रै अन्न रोकिएको हुनाले मान्छेलाई सन्तुष्ट पार्न, अघाउन र अन्नको असली स्वाद थाहा पाउन मुखमा नै लग्नु पर्छ तब मात्रै मान्छेको धीत मर्छ । मौरीलाई महको स्वादमा लत बसे झैँ अन्नको स्वादमा मान्छे रत्तिन, रमाउन थाल्यो । आफूलाई चाहिनेभन्दा धेरै उत्पादन गर्न थाल्यो । अन्नलाई जोगाउन जगेडा राख्न थाल्यो । अन्न भनेपछि मान्छे हुरुक्क मात्रै होइन, फुरुक्क नै हुन थाल्यो । मेहनत गर्दा गर्दा आफू दुब्लाएर सिन्को भए पनि दिनका दिन अन्नका खातिर मरिहत्ते गर्न थाल्यो । यसरी साँच्चै असल कुशल कृषकले अन्नलाई उखुम माया गर्छ । चुप्पा मात्रै गर्दैन, निली नै दिन्छ र त हिलो, मल, माटोमा लुटपुटिन पनि मान्छे केही झैँ मान्दैन ।
ब्रह्माण समाजमा अन्नलाई भगवान्कै देन मानिन्छ । त्यसैले भन्ने गरिन्छ अन्न पञ्चमहाभूतको मूर्त रूप । हामीले बिहानबेलुका भोजन गर्दा विशेष गरी भात खाँदा हाम्रा पुर्खाले नै देहायबमोजिमको मन्त्रको उच्चारणका साथ अपसानी हालेर (चढाएर) मात्रै खान सुझाएका छन्–
ॐ अन्नब्रह्मा रक्षे विष्णु भुक्तादेव महेश्वर ।
दिएते पञ्चभूवात्मा पाख्खेदोषो नदियते ।
ॐ भूपतयै स्वाहाः भूपते ब्रह्मा, भूपते विष्णु,
भूपते रुद्र, भूवनपल्यै स्वाहाः
यसरी अन्नको गाँस निल्नुभन्दा अगाडि भूमिका मालिक अन्नका अधिपतिलाई अर्पण गरेर मात्रै मुखमा बुजो हाल्ने गाँस लिने चलन हाम्रो पूर्वीय संस्कारमा चल्दै आएको छ । मन्त्र धेरै छन्, यहाँ छोटकरीमा मात्रै मैले प्रस्तुत गरेँ । जुन मानव हितार्थ ज्यादै उपयोगी मानिन्छन् तर मैमत्तहरूले संस्कारलाई हेला गर्छु, लत्याउँछुभन्दा कृषक भूमिका पतिलाई नै लत्याएको आभास हुन्छ । भूमिमा एक थोपो पसिना नबगाई भूमितिर फर्किंदै नफर्की माटोलाई स्पर्श नै नगरी उच्चस्तरीय मानवजुनी व्यतीत गरेको देख्दा अब कृषिप्रधान देश भन्ने दिन सकिएछ कि झैँ लागिरहेको छ ।