• २३ चैत २०८२, सोमबार

चुनावपछि अर्थतन्त्र लयमा फर्किन्छ : अर्थमन्त्री खनाल

blog

कार्यक्रममा सहभागी नेपाल सरकारका अर्थ मन्त्री डा. रामेश्वरप्रसाद खनाल दाता परिवारका मुरारीलाल मुरारका र पवनकुमार शारडालाई प्रमाणपत्रसहित सम्मान गर्नु हुँदै । तस्बिर : जीवछ यादव

जीवछ यादव

लहान, पुस १० गते । नेपाल सरकारको अर्थमन्त्री डा.रामेश्वर खनालले फागुन २१ गतेको चुनावपछि अर्थतन्त्र पूर्णरूपमा लयमा फर्किने बताउनु भएको छ । 

लहानस्थित रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पताल लहानको जग्गा हस्तान्तरण र सम्मान कार्यमा बोल्दै उहाँले यस्तो बताउनु भयो । 

जेनजी आन्दोलनपछि गठिन वर्तमान सरकार चुनाव गराउने प्रमुख दायित्व रहेकोले चाहेर पनि सोचे अनुसार अर्थतन्त्रमा सुधार हुन नसके पनि सुशासन स्थापना, भ्रष्टाचार नियन्त्रण गर्न  काम गरिरहेको मन्त्री खनालले बताउनु भयो । उहाँले भन्नुभयो,‘‘विनियोजित बजेटलाई कार्यान्वयनका लागि परेका छौँ । अर्थतन्त्रलाई लयमा फर्काउन काम सुरु भए पनि चुनावपछि पूर्णरूपमा लयमा फर्किने छ ।’’

देशको अर्थतन्त्रलाई सवल बनाउन विधिको शासन, प्रणालीगत सुधार र आचरणमा परिवर्तन आवश्यक रहेकोले परिर्वतनलाई संस्थागत गर्न जेनजी आन्दोलनमा उठेको माग सम्बोधन गर्न फागुन २१ गते हुने चुनावमा परिवर्तनकारी शक्तिको नेतृत्वमा सरकार गठन हुनुपर्ने धारणा व्यक्त गनुभयो । 

आफू राष्ट्रपति चुरे संरक्षण कार्यक्रममा आबद्ध रहँदा लहान नगरपालिकाको उत्तरी भेगमा रहेको देवी दहको संरक्षणको कार्यमा आउँदा लहानको सामाजिक परिवेशबाट परिचित रहेको छु,’’ उहाँले भन्नु भयो,‘‘४७ वर्षसम्म यस अस्पतालको जग्गा रजिस्ट्रेसन नहुनु र जेनजी आन्दोलनपछि बनेको सरकारले ४७ दिनमै एक करोड २४ लाख लाभकर मिनाहा गरेर दाता परिवारद्वय मुरारका र शारडा परिवारको चाहना पूरा भएको छ । यसका लागि युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताको महत्त्वपूर्ण भूमिका रह्यो ।’’

अस्पतालको थप विकासका लागि विनियोजित बजेटबाट थप बजेट दिन नमिल्ने प्रावधान रहेको मन्त्री खनालले भन्दै स्वास्थ्य मन्त्रालय र मधेश प्रदेशको बजेटबाट यस अस्पतालमा ट्रमा सेन्टर सञ्चालनको लागि पहल गरिने विश्वास व्यक्त गर्नु भयो । 

कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले मधेश प्रदेशको जनसङ्ख्या अनुसार बजेट नभएकोले शिक्षा स्वास्थ्य कृषि र पर्यटन क्षेत्रमा चाहेर पनि काम गर्न नसक्ने अवस्था रहेको बताउनु भयो । 

कार्यक्रममा दाता परिवारको तर्फबाट मुरारीलाल मुरारका र पवनकुमार शारडाले वर्तमान सरकारका युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले गरेको पहलबाट ४७ वर्षमा हुन नसकेको कार्य भएकोमा सरकारलाई धन्यवाद ज्ञापन गर्नु भयो । 

जिल्ला उद्योग वाणिज्य सङ्घ सिराहा लहानका अध्यक्ष विकास शारडाले उद्योगी व्यापारीलाई लगानी गर्न सुरक्षाको व्यवस्थाको माग गर्दै ज्ञापनपत्र अर्थमन्त्री खनाललाई बुझाउनु भयो । 

दिनहुँ अस्पतालमा चार सय बहिरङग सेवा लिइरहेको यस अस्पतालमा भौतिक सुधार र उपचारलाई प्रभावकारी बनाउन दक्ष चिकित्सक भर्ना आवश्यक रहेको ध्यनाकर्षण अस्पतालका मेसु रञ्जितकुमार झाले गराउनु भयो । 

कार्यक्रममा मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री जङ्गीलाल राय, प्रदेशसभा सदस्य राजेन्द्रप्रसाद चौधरी, राजकुमार गुप्ता, सिराहा जिल्ला समन्व समिति प्रमुख दिनेशकुमार महतो, लहान नगरपालिका प्रमुख महेशप्रसाद चौधरी लगायतका उपस्थिति रहेको थियो । कार्यक्रम अस्पताल विकास समितिको अध्यक्ष रामनारायण मेहताको अध्यक्षतामा सम्पन्न भएको थियो ।