शंकर केसी
सल्यान, पुस १० गते । दिगो विकासको लक्ष्य समेत रहेको स्वच्छ पानीको लागि सल्यानका पालिकाले निःशुल्क खानेपानी गुणस्तर परीक्षण शिविर सञ्चालन गर्ने भएका छन् ।
जिल्लाको छत्रेश्वरी गाउँपालिकाले पहिलो पटक पालिकामै आगामी आइतबारदेखि खानेपानी गुणस्तर परीक्षण गर्दैछ । गाउँपालिकाभरी सञ्चालनमा रहेका खानेपानी योजनाहरु तथा सातवटै वडाका अन्य खानेपानीको गुणस्तर परीक्षणका लागि समेत निःशुल्क शिविर आयोजना गरिएको हो ।
आइतबारदेखि शुक्रबारसम्म ६ दिने शिविर आयोजना गरिएको र यसका लागि गाउँपालिकामै पानी परीक्षणको मिनि ल्याब स्थापना गरिएको गाउँपालिकाका वास संयोजक निमराज केसीले जानकारी दिनुभयो ।
सबैको लागि दिगो खानेपानी, सरसफाई तथा स्वच्छता कार्यक्रम लागू भएका सल्यानका ६ स्थानीय तहसहित कर्णालीका २८ वटा स्थानीय तहमा खानेपानी गुणस्तर परीक्षण हुँदैछ । छत्रेश्वरी गाउँपालिकाले उपभोक्ता समिति तथा नागरिकलाई पानीको नमुना संकलन गर्दा ध्यान दिन पनि आग्रह गरेको छ ।
पानीको नमुना संकलनपूर्व साबुन पानीले राम्रोसँग हात धुने, खानेपानीको मुहान, पानी टंकी, धारा र पानी भर्ने भाँडो गरी ४ ठाउँबाट छुटाछुट्टै बोतलमा पानी भर्ने, पानी भर्ने बोतललाई नमुना संकलन गर्ने पानीले सफा गरी भर्ने र पानी भरेपछि छिटोभन्दा छिटो ६ घण्टाभित्र पालिकाको ल्याबमा ल्याउन गाउँपालिकाले अनुरोध गरेको छ । ल्याबमा खटिने वास युनिटका कर्मचारीले यससम्बन्धी तालिम प्राप्त गरेका छन् ।
पानीको गुणस्तर परीक्षण शिविरमा पिएच, टर्बिडिटी, इकोली, टिडिस, एफआरसि, इलेक्ट्रिकल कन्डक्टिभिटीजस्ता भौतिक, रासायनिक तथा जीवाणुजन्य परीक्षण हुने छत्रेश्वरीका वास संयोजक केसीले जानकारी दिनुभयो । गत वर्ष पनि चारवटा खानेपानी आयोजनाको पानीको नमुना काठमाडौँ लगेर परीक्षण गरिएको भन्दै उहाँले सबै पालिकाको नागरिकको पहुँचका लागि यस वर्षदेखि मिनिल्याब स्थापना गरेर पालिकामै परीक्षणको व्यवस्था गरिएको उहाँको भनाइ छ ।
पालिकावासीले प्रयोग गर्दैआएको पानीको समय समयमा गुणस्तर परीक्षण गर्न र सुरक्षित पानीको उपलब्धतालाई जोड दिँदै स्वस्थ जीवन बाँच्न पाउने नागरिकको अधिकार सुनिश्चित गर्नका लागि पालिकाले विभिन्न साझेदार निकायसँगको समन्वयमा काम गर्दैआएको छत्रेश्वरी गाउँपालिकाले जनाएको छ ।
सबैका लागि दिगो खानेपानी, सरसफाई तथा स्वच्छता कार्यक्रम लागू भएका पालिकामा सुरक्षित र शुद्ध खानेपानीका लागि इनलाइन क्लोरिनेशन प्रणाली जडान गरिएका खानेपानी आयोजनाहरु सञ्चालन भइरहेको छ ।