काठमाडौँ, चैत २३ गते । स्वास्थ्य बिमा बोर्डले स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत सेवाग्राहीलाई अस्पतालबाहिर औषधी तथा सामग्री किन्न लगाउने स्वास्थ्य संस्थामाथि कारबाही हुने चेतावनी दिएको छ।
बोर्डले सूचना जारी गर्दै स्वास्थ्य बिमा सेवामा समावेश औषधी तथा औषधीजन्य सामग्रीसमेत सेवाप्रदायक स्वास्थ्य संस्थाले आफ्नै व्यवस्थाबाट उपलब्ध गराउनुपर्ने व्यवस्था रहेको उल्लेख गर्दै यस्तो चेतावनी दिएको हो ।
केही स्वास्थ्य संस्थाले बिमितलाई बाह्य औषधी पसलबाट नगदमा औषधी किन्न लगाएको भन्दै गुनासो आएकोले बोर्डले यस्तो चेतावनी दिएको हो ।
बोर्डका अनुसार यस्तो कार्य नगर्न र गरेको पाइएमा स्वास्थ्य बिमा नियमावली, २०७५ को नियम १९ को उपनियम (१) को खण्ड (क) बमोजिम कारबाही गरिने सूचनामा उल्लेख गरेको छ ।
यस्तै केही स्वास्थ्य संस्थाले बिमितलाई स्वास्थ्य बिमा सेवामार्फत सेवा लिन अग्रिम समय लिन बाध्य पार्ने तथा बिमितसँग भेदभावपूर्ण व्यवहार गरेको गुनासोसमेत प्राप्त भएकोको यस्तो गतिविधि दोहोरिएमा स्वास्थ्य बिमा ऐन, २०७४ अनुसार कारबाहीका साथै सम्बन्धित संस्थाको सूचीकृत सेवा प्रदायकको मान्यता रद्दसमेत गरिने चेतावनी दिइएको छ।
बोर्डले बिमा सुविधा तालिकामा उल्लेख गरिएको दररेटभन्दा कममा अस्पतालले दाबी गर्न नपाउने व्यवस्था रहेको पनि स्पष्ट पारेको छ।
दाबीसम्बन्धी विवरण बिमा व्यवस्थापन सूचना प्रणालीमा एपीआईमार्फत दाबी गर्न मिल्ने भएकाले सोहीअनुसार अनिवार्य रूपमा प्रक्रिया पूरा गर्न सेवाप्रदायक स्वास्थ्य संस्थालाई निर्देशन दिइएको छ।
बिमा कार्यक्रमलाई प्रभावकारी, पारदर्शी र सेवाग्राहीमैत्री बनाउन सबै सेवाप्रदायक स्वास्थ्य संस्थालाई नियमअनुसार सेवा प्रवाह गर्न बोर्डले आग्रह गरेको छ।