• १० पुस २०८२, बिहिबार

जाडो छल्न दाउरा वितरण गर्दै वन कार्यालय

blog

सार्वजनिक स्थानमा दाउरा वितरण भएपछि आगो ताप्दै डिभिजन वन कार्यालयका कर्मचारी, सुरक्षाकर्मी र सर्वसाधारण ।

प्रवीणकुमार शर्मा 

रौतहट, पुस १० गते । शीतलहरको कारण विगत केही दिनदेखि सर्वसाधारणको दैनिकी कष्टकर बन्दै गएपछि डिभिजन वन कार्यालय रौतहटले निःशुल्क दाउरा वितरण कार्यक्रम सञ्चालनमा ल्याएको छ ।

चिसो बढ्दै गएपछि डिभिजन वन कार्यालय रौतहटले सार्वजनिक स्थानमा आगो ताप्न दाउरा वितरण सुरू गरेको डिभिजन वन कार्यालय रौतहटका प्रमुख हेमन्तप्रसाद साहले बताउनुभयो ।

चन्द्रपुर नगरपालिका भित्रका सार्वजनिक स्थान, सर्वसाधारणको बढी ओहोरदोहोर हुने स्थान तथा चोक–चौतारामा दाउरा वितरण गरिएको उहाँले जानकारी दिनुभयो । बिहीबार नै चन्द्रपुर –७ बनबहुअरीमा रहेको मानवसेवा आश्रममा दाउरा वितरण गरिएको छ ।

पहिलो चरणअन्तर्गत बिहीबार चन्द्रपुरका चोकहरुमा निःशुल्क दाउरा वितरण गरिएको बताउनु हुँदै डिभिजन वन कार्यालय रौतहटका प्रमुख साहले शीतलहरको असर कायमै रहेसम्म आवश्यकताअनुसार थप स्थानमा पनि दाउरा वितरण गरिने  बताउनुभयो ।

सार्वजनिक स्थानमा दाउरा वितरण भएपछि सर्वसाधारण, बिरामीका आफन्त, ज्येष्ठ नागरिक तथा विपन्न वर्गलाई चिसोमा राहत पुग्ने उहाँले बताउनुभयो । चिसोबाट प्रत्यक्ष प्रभावित सर्वसाधारणलाई राहत दिन रौतहटका पालिकालाई माग तथा उपलब्धताको आधारमा दाउरा वितरण भइरहेको उहाँको भनाइ छ ।