काठमाडौँ, पुस १० गते । क्रियाशील पत्रकार महिला(डब्लुडब्लुजे)ले पत्रकार महिलाको क्षमता अभिवृद्धिको उद्देश्यसहित राजधानीमा तीन दिने तालिम सम्पन्न गरेको छ । युएनडिपीको पिएसपी परियोजनाको सहयोगमा सम्पन्न ‘पत्रकार महिलाका लागि संसदीय मामिलामा खोजमूलक रिपोर्टिङ’ शीर्षकको उक्त तालिममा विभिन्न सञ्चार माध्यममा कार्यरत २५ जना पत्रकार महिला सहभागी थिए ।
तालिमको पहिलो दिन त्रिभुवन विश्वविद्यालयका लेक्चरर डा.जगत नेपालले संसदको संरचना, कार्य र प्रक्रियाहरूका बारेमा प्रशिक्षण दिनु भएको थियो । त्यसैगरी, अर्का प्रशिक्षक अन्नपूर्ण पोस्टका समाचार सम्पादक नरेन्द्र साउदले संसदीय रिपोर्टिङ र यसका अभ्यासहरू विषयमा प्रस्तुति दिनु भयो । दोस्रो दिन पूर्व सञ्चार ताथ सूचना प्रविधिमन्त्री रेखा शर्माले संसदमा लैङ्गिक मुद्दा र सञ्चार सम्बन्ध विषयक आफ्नो अनुभव सुनाउनु भयो । दोस्रो सत्रमा सङ्घीय संसद अन्तर्गतको राष्ट्रिय सभाका पूर्व सचिव राजेन्द्र फुँयालले संसद सचिवालय र यसका मुख्य जिम्मेवारीका विषयमा पत्रकार महिलालाई जानकारी दिनु भयो ।
तालिमको तेस्रो दिन नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष वरिष्ठ पत्रकार शिव गाउँलेले खोज पत्रकारिताको नैतिक मापदण्डका विषयमा प्रशिक्षण दिए भने दोस्रो सत्रमा खोज पत्रकारिता केन्द्रका पूर्व अध्यक्ष नम्रता शर्माले संसदीय रिपोर्टिङमा खोज पत्रकारिता विषयमा प्रस्तुति दिनु भएको थियो ।
तालिममा सहभागीहरूलाई युएनडिपी पिएसपी परियोजनाका नेसनल प्रोजेक्ट म्यानेजर दिला दत्त पन्त, वरिष्ठ पत्रकार नम्रता शर्मा र क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे) की पूर्व अध्यक्ष एवम् सल्लाहकार शुभेच्छा बिन्दुले प्रमाणपत्र वितरण गर्नु भयो । कार्यक्रममा युएनडिपी पिएसपी परियोजनाका नेसनल प्रोजेक्ट म्यानेजर पन्तले संसदको रिपोर्टिङका सन्दर्भमा बोल्दै पत्रकार महिलालाई अब रिपोर्टरभन्दा पनि बढी विज्ञ हुने यात्रामा लाग्न सुझाव दिनु भयो । संसद एउटा ठुलो खानी भएको र यसमा नखोलिएका विषयहरू धेरै भएकाले अहिलेको समयमा यसमा जसले नेतृत्व लिएर अगाडि बढ्न सक्यो उसैले जित्ने उहाँको भनाइ छ । ‘‘तपाईंहरु नेतृत्व लिएर अगाडि आउनु भयो भने यो क्षेत्रमा निकै राम्रो गर्न सक्नु हुन्छ,’’ पन्तले भन्नु भयो ।
संसदीय मामिलामा खोज पत्रकारिताले लोकतन्त्रलाई बलियो बनाउने, सत्तालाई जवाफदेही र जनतालाई सही सूचना दिने काम गर्ने हुँदा संसदका भित्री प्रक्रिया, निर्णय र प्रभावलाई जनतासामू ल्याउन तालिम आयोजना गरिएको डब्लुडब्लुजेका अध्यक्ष रामकला खड्काले बताउनु भयो । भ्रष्टाचार र आर्थिक अनियमितता, कानुन निर्माणमा स्वार्थको टकराव, संसदीय समितिको कामकारबाही, नीति निर्णयको प्रभावका विषयमा खोजी गरेर पत्रकार महिलाले खोजी रिपोर्टिङ गर्न सक्ने खड्काले जानकारी दिनु भयो ।
यस अघि पनि युएनडिपीकै सहयोगमा डब्लुडब्लुजेले नेपालको संसदमा प्रतिनिधित्वको सवालमा महिला सांसदको भूमिका विषयक अध्ययन सम्पन्न गरिसकेको छ ।
तालिममा सहभागी पत्रकार महिलाले तालिम आफूहरूका लागि निकै फलदायी भएको अनुभव सुनाए । तालिमपछि संसदभित्रका पनि लेखासम्बन्धि थुप्रै खोजीका विषयहरू आफूले पत्ता लगाएको सहभागीमध्येका ममता थापाले बताउनु भयो । डब्लुडब्लुजेले आगामी दिनमा पनि यस्ता खोजीका स्टोरीहरू लेखाउनका लागि पत्रकार महिलालाई हौशला दिनका लागि फेलोसिपका कार्यक्रमहरू राख्न उहाँको सुझाव छ । अर्का सहभागी आरती पौडेलले पनि तालिममार्फत आफूले संसद र त्यहाँ खोजी गर्न सकिने विषयमा धेरै जानकारी पाएको बताउनु भयो ।