• १० पुस २०८२, बिहिबार

त्रिविका स्वर्ण पदकधारी

स्वदेशमै सम्भावनाका प्रेरक

blog

पछिल्लो समय युवा पुस्तामा स्वदेशभन्दा विदेशमा मात्रै धेरै सम्भावना देख्ने प्रवृत्ति बढेको छ तर काम गर्नेका लागि नेपालमै विदेशमा भन्दा धेरै अवसर छ । 

काठमाडौँ, पुस १० गते । त्रिभुवन विश्वविद्यालयबाट बिए एलएलबीमा उत्कृष्ट (स्वर्ण पदक विजेता) भावना अधिकारी न्याय प्रशासन सेवाको राजपत्राङ्कित तृतीय श्रेणी (अधिकृत) मा कार्यरत हुनुहुन्छ । पशु सेवा विभागमा कानुन अधिकृतका रूपमा कार्यरत अधिकारीले एलएलबीमा त्रिभुवन विश्वविद्यालयबाट स्वर्ण पदक (गोल्ड मेडल) मात्रै पाउनुभएन, सरकारी सेवामा प्रवेश गर्दा पनि दोस्रो नम्बरमै नाम निकाल्नुभयो । 

उच्च मेहनत गर्ने हो भने कामका लागि स्वदेशमै प्रशस्त सम्भावना रहेको अधिकारीको अनुभव छ । उच्च शिक्षा अध्ययनका लागि विदेश जाने सोचमा आफू कहिल्यै नभएको बताउँदै अधिकारी भन्नुहुन्छ, “पछिल्लो समय युवा पुस्तामा स्वदेशभन्दा विदेशमा मात्रै धेरै सम्भावना देख्ने प्रवृत्ति बढेको छ तर काम गर्नेका लागि नेपालमै विदेशमा भन्दा धेरै अवसर छ ।” 

“अब युवा पुस्ताले स्वदेशप्रति गुनासो होइन, सम्भावना खोज्नु पर्छ । स्वदेशलाई नै कर्मथलो बनाउनु पर्छ,” अधिकारीको भनाइ छ, “देशमा सम्भावना युवाले नै खोज्ने हो, यसको सुरुवात हामीले नै गर्नु पर्छ ।” नेपाल ल क्याम्पसमा एलएलबी पढेर सर्वोत्कृष्ट हुनुभएकी अधिकारीलाई ‘लोकराज ज्ञवाली पदक र पुरस्कार’ प्रदान गरिने छ । उहाँले ३.८० जिपिए ल्याउनुभएको थियो । त्रिविबाटै स्नातकोत्तर तहको माइक्रोबायोलोजीमा सर्वोत्कृष्ट (गोल्ड मेडलिस्ट) घोषित हुनुभएका रवीन्द्र पण्डित पनि काम गर्नेका लागि विदेश र स्वदेशले केही फरक नपार्ने बताउनुहुन्छ तर मुलुकमा राजनीतिक स्थिरता हुनुपर्ने र बनेका नियम, कानुनको भने सबै पक्षबाट पूर्ण पालना हुनुपर्ने उहाँको भनाइ छ । “हामीसँग सम्भावना नभएको होइन, त्यसको उत्खनन गर्न नसकेको मात्रै हो । अब यसका लागि सरकार र युवा सँगसँगै लाग्नु पर्छ,” पण्डित भन्नुहुन्छ । 

काठमाडौँ कलेज अफ साइन्स एन्ड टेक्नोलोजीमा अध्ययन गर्नुभएका पण्डितले ३.७६ जिपिए प्राप्त गर्नुभएको थियो । उहाँलाई ‘रुद्रकुमारी घिमिरे स्मृति पदक’ प्रदान गरिने छ । 

हेटौँडास्थित मकवानपुर बहुमुखी क्याम्पसमा अध्ययन गरेर ब्याचलर अफ बिज्नेस स्टडिज (बिबिएस) मा स्वर्ण पदक हासिल गर्नुभएका अन्वेष पोखरेल भने मुलुकको राजनीति तथा सरकार स्थिर नभएका कारण युवामा निराशा छाएको बताउनुहुन्छ तर पनि स्वदेशमा केही पनि छैन भन्दै विदेश जाने पक्षमा भने आफू नरहेको पोखरेलको भनाइ छ । “मैले बिबिएस पूरा गरिसक्दा मुलुकमा चार जना प्रधानमन्त्री परिवर्तन भयो । यति सारो अस्थिर मुलुकमा युवाले कसरी भविष्य खोज्ने ?” 

पोखरेल भन्नुहुन्छ, “तर स्वदेशमै अवसर छैन भन्ने पक्षमा म छैन । सारा मानिसले यहीँ काम गरिरहेका छन् भने मैले किन सक्दिनँ भनेर स्नातकोत्तर तह पनि त्रिविमै पढ्न थालेको छु ।” बिबिएसमा ८०.२५ प्रतिशत अङ्क ल्याएर सर्वोत्कृष्ट हुनुभएका पोखरेललाई ‘नेपाल बैङ्क छत्रबहादुर पदक’ प्रदान गरिने छ । जेनजी आन्दोलनपछि मुलुक राजनीतिक, प्रशासनिक र सामाजिक हिसाबले पनि परिवर्तनको सँघारमा छ । नेपालीको भविष्य नेपालीले नै बनाउनुपर्नेमा जेनजी समूहमै पर्ने यी ‘गोल्ड मेडलिस्ट’ हरू पनि सहमत देखिन्छन् ।  तर त्यसका लागि सरकारले अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने, सेवा सुविधामा समय अनुसार बढोत्तरी हुनुपर्ने, रचनात्मक क्षमता भएका युवालाई राज्यले चिनेर सम्मानजनक व्यवहार गर्नुपर्ने उहाँहरूको भनाइ छ । 

त्रिविमै मास्टर्स अफ बिज्नेस एड्मिनिस्टे«सन (एमबिए) मा गोल्ड मेडल हासिल गर्नुभएकी रक्षा भेटुवाल भन्नुहुन्छ, “पहिला स्वदेशमै कोसिस गर्नु पर्छ । त्यति गर्दा पनि केही भएन भने विदेशलाई पनि विकल्प बनाउन सकिन्छ तर कुनै काममा दत्तचित्त भएर लाग्ने हो भने समस्या होला जस्तो लाग्दैन ।” हाल बैङ्किङ फाइनान्स एन्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल (बिएफआइएन) मा अन्तर्राष्ट्रिय कार्यक्रम अधिकृतका रूपमा कार्यरत भेटुवाल नेतृत्वमा युवा वा वृद्ध जो आए पनि मुलुकको हित चिताउने हुनुपर्ने बताउनुहुन्छ । स्कुल अफ म्यानेज्मेन्ट कीर्तिपुरबाट एमबिएममा ३.९३ जिपिए ल्याई सर्वोत्कृष्ट हुनुभएकी भेटुवाललाई ‘इन्द्रभक्त श्रेष्ठ स्वर्ण पदक’ प्रदान गरिने छ । 

  

Author
सूर्यप्रसाद पाण्डे

उहाँ शिक्षा र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।