हे प्रिय !
तिमी मेरो अर्थ नफेर्नु
टुक्रिएका मेरा वाक्यका टुक्रा टुक्रामा,
म त आफ्नै कथामा
पहिल्यै फेरिइसकेकी छु ।
जाडोको मृत रात्रिमा
हजुरबाले बुद्ध–निर्वाणको
कथा सुनाइरहँदा,
अँगेनामा निभेका भिक्राहरू जस्तै
म त भित्रभित्रै निदाइसकेकी हुन्छु
यसैले प्रिय !
यो मस्त निद्राभित्र
मेरो कथा नफेर्नु तिमीले ।
दक्षको यज्ञमा सती गुमाएका
हजुरबाका आँखाहरू शिवनेत्र हुन्
खसेका अङ्गहरूको
पीठहरू बन्दै जान्छन्
स्वस्थानीमा तिनै पीठका कथाहरू बोल्छन्
सतीदेवीका पीडाहरू ओकल्छन्
महादेवका नेत्रहरू बल्दछन्
पौराणिक ती कथाहरू
हजुरबुवाका आँखाहरूले बोल्छन्
किल्लाहरू हाँक्छन्
दूर दिशामा– मेरा हजुरबाहरू !
यसैले प्रिय !
मलाई कथाभित्रै रहन दिनु
मेरो कथा नफेर्नु तिमीले ।
समयका कानमा आदेश झैँ,
अझै खुरहरूको धुन सुनिन्छ भने,
पुजिएका ती पीठहरूमा,
गलेर खसेका ती अङ्गहरूमा,
कथा सुनाउने वृद्ध मेरा हजुरबाहरू
साँच्चै नै बुद्धत्वमा पुगेका थिए त ?
तर, हो भन्नैपर्ने हुन्छ ।
अवचेतन थिए ती पीठहरू इतिहासमा,
अवचेतन छौँ हामी पनि वर्तमानमा,
कथा सुनाइरहेका मेरा हजुरबाहरू जस्तै,
मानवताको चेतनाका कथाहरू
अवचेतन भई बोलिरहन्छ सधैँ ।
यसैले प्रिय !
तिमी मेरो अर्थ नफेर्नू
म त आफ्नै कथामा
पहिल्यै बोलिसकेकी छु ।