गोरखापत्र समाचारदाता
काठमाडौँ, कात्तिक २१ गते । ललितपुर महानगरपालिकालाई युनेस्कोले ‘सङ्गीतको सिर्जनात्मक सहर’ का रूपमा घोषणा गरेको छ । महानगरद्वारा बिहीबार राजधानीमा आयोजित कार्यक्रममा महानगर प्रमुख चिरीबाबु महर्जनले युनेस्कोले अक्टोबर ३१ तारिख, विश्व सहर दिवसका अवसरमा ललितपुर महानगरलाई सङ्गीतको सिर्जनात्मक सहरका रूपमा घोषणा गरेको जानकारी दिँदै महानगरले यसलाई सफल बनाउन योजनाबद्ध कार्यक्रम अगाडि सारेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “सांस्कृतिक सहर ललितपुरमा विभिन्न जात्रा, पर्वसँग सम्बन्धित सङ्गीत, भजनकीर्तन, नृत्यका साथै यहाँ सयौँ साङ्गीतिक क्रियाकलाप परम्परागत रूपमै चलिरहेको हो, यस संस्कारलाई थप योजना, कार्यक्रमसहित व्यवस्थित बनाउन नीतिनिर्माण गर्दै ‘ललितपुर सिर्जनात्मक कला केन्द्र’ को स्थापना गर्ने प्रतिबद्धता जनाउनुभयो । महानगर प्रमुख महर्जनले युनेस्कोबाट उक्त मान्यता पाउन चार बर्से योजनासहित प्रस्ताव पेस गर्नुपर्ने प्रावधान अन्तर्गत सङ्गीतसम्बन्धी अनुसन्धान तथा शैक्षिक कार्यक्रम, नीतिनिर्माण र स्रोत तथा साधनको विकास गर्ने प्रतिबद्धतासहित महानगरले सङ्गीतलाई उद्योगका रूपमा विकास गर्ने, सङ्गीतसम्बन्धी अनुसन्धान केन्द्र, अभिलेखालय र तालिम केन्द्रको समेत व्यवस्था गर्ने बताउनुभयो ।
त्यसै गरी परम्परागत र आधुनिक, समकालीन सङ्गीत विधालाई विद्यालयस्तरीय पाठ्यक्रममा समावेश गर्ने, जेठ पूर्णिमाको दिनलाई राष्ट्रिय सङ्गीत दिवसका रूपमा घोषणाका लागि पहल गर्ने, परम्परागत वाद्यवादनमा महिला, बालबालिका, अपाङ्गता भएका व्यक्तिको सहभागिता बढाउने, बाजाको संरक्षणलगायतका सङ्गीतसँग सम्बन्धित अन्तर्क्रिया, प्रशिक्षणलगायतका विषयमा सङ्गीतज्ञसँग सहकार्य गर्ने कार्यक्रम रहेको छ ।
महानगरका उपप्रमुख मञ्जली शाक्य वज्राचार्यले कला, सङ्गीत, सांस्कृतिक जात्रापर्वको सङ्गम ललितपुर महानगरमा सङ्गीतको सिपबाटै रोजगारीसमेत सिर्जना हुने र परम्परागत सङ्गीतको प्रवर्धन हुने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले युनेस्कोले ललितपुर महानगरलाई सङ्गीतको सिर्जनात्मक सहरका रूपमा विधागत सदस्यता प्राप्त गरेपछि थप उत्साहका साथ काम गर्ने हौसला बढेको बताउनुभयो ।
सन् २००४ देखि युनेस्कोले ‘युनेस्को सिर्जनात्मक सहरको सञ्जाल’ कार्यक्रम सुरु गरेको थियो । यस कार्यक्रम अन्तर्गत हालसम्म विश्वका एक सय देशका ४०८ वटा सहरले विभिन्न विधामा सो सञ्जालको सदस्यता प्राप्त गरिसकेका छन् ।