वियोगी बुढाथोकीको नियात्रा कृति ‘समयले जुटाएको चिटचिट’ नियात्रा अध्ययन गर्ने मौका मिल्यो यसपालि । उहाँका अरू साहित्यिक कृतिहरू पनि रहेछन् तर पढेकी छैन अन्य कृति । संसार बुझ्न कि यात्रा गर्नु पर्छ कि नियात्रा अध्ययन गर्नु पर्छ । यसै क्रममा वियोगी बुढाथोकीको पुस्तकबाट कहिल्यै घाम नअस्ताउने देश बेलायतलाई नियाल्दै छु । परिचित हुँदै छु, त्यहाँको कला, साहित्य र भूगोलसँग । यो साहित्यिक यात्रावृत्तान्त सर्जकको करिब छमहिने लन्डन बसाइबाट जन्मिएको छ । कृति दुई भागमा बाँडिएको छ । पूर्वार्धमा विदेशको फन्को छ, उत्तरार्धमा स्वदेशको चक्करले पूर्ण बनाएको छ ।
वियोगी दम्पती नेपालबाट छोरी ज्वाइँको कर्मथलो लन्डन पुग्दा आफन्त र पारिवारसँग मात्र रुमलिनुभएको छैन । बेलायती नेपाली डायास्पोरिक समाजको साहित्यिक कार्यक्रममा पनि उत्साहपूर्वक सरिक हुनुभएको छ । त्यहाँको सामाजिक, राजनीतिक, ऐतिहासिक र दार्शनिक विषयवस्तुलाई लेखकले पुस्तकमा उतार्नुभएको छ । शब्द खेलाउन सिपालु वियोगीले ठाउँ ठाउँमा कविता सिर्जना गरेर कृतिलाई रसिलो बनाउनुभएको छ ।
‘समयले जुटाएको चिटचिट’ अध्ययनपश्चात् सोच्दै छु म– विचित्रका कुराहरूले संसार सिँगारिएको हुन्छ । ती विचित्रका कुराहरू हेर्न कि त गन्तव्यमै पुग्नु पर्छ या उत्कृष्ट नियात्रा पढ्नु पर्छ । सोचमग्न हुँदै छु म सुनैसुनको दरबार उपशीर्षक पढेर । कस्तो थियो होला त्यो सुनको दरबार अनि त्यहाँको परिवेश भन्दै मस्तिष्कले बुन्दै छ– त्यस ठाउँको कल्पना । सामान्य सुनका सामान खर्चिंदा त आर्थिक हिसाबले हामीलाई गाह्रो हुन्छ भने त्यो सुनैसुनको दरबार कसरी बनाएका होलान् ! कहाँ होला यसको खानी ? नियात्राकार भन्छन्, आश्चर्यको दरबार देखाउने श्रेय अस्ट्रेलियाबाट आएकी छोरीलाई नै जान्छ र नातिनी दृष्टिको जन्मदिन पनि त्यहाँ धुमधामले मनाइन्छ ।
बेलायतको सेन्ट पल्स क्याथेड्रल ऐतिहासिक स्थल रहेछ । ५२८ खुट्किला रहेको त्यस भवनमा बडो सकससाथ पुग्नुभएको छ– सर्जक । सर्जकसँगसँगै पाठकको मनमा पनि कौतूहल छाएको छ, त्यस अद्भुत ठाउँको यात्रा पढ्दा । पिताजीको कलम चल्ने भएकाले सर्जककी छोरीले नौलो दृश्य, नौलो परिवेश र ज्ञानबाट केही साहित्यिक खुराक जन्मियोस् भन्ने हेतुले त्यस ठाउँमा पुग्न प्रेरित गरेकी छन् । विश्वमा वीरबहादुर उपनामले चिनिने नेपाली कमै मात्रामा त्यहाँ पुग्दा रहेछन् ।
बेलायतका विभिन्न स्थान सेन्ट्रल लन्डन, टावर ब्रिज, लन्डन आई, थेम्स नदी, बकिङ्घम दरबार आदि महत्वपूर्ण स्थलको दृश्यावलोकन गर्नुभएको छ साहित्यकार वियोगीले । ती महान् फ्लोरेन्स नाइटिङ्गेल ‘दी लेडी विथ ल्याम्प’ उपनामले विश्वमा चिनिने नर्सको समाधि पनि यसै क्षेत्रमा रहेछ । साथै त्यहाँ दिवङ्गत राजामहाराजाको अर्ध वा पूर्ण कदको सालिक बनाई जन्म र मृत्युको मिति उल्लेख गरेकोसमेत पाइयो । सालिक र समाधि पक्कै पनि युगान्तरसम्म बाँचिरहने माध्यम हुन् । साथै यसो गर्नु दिवङ्गत आत्माहरूको उच्च सम्मान पनि हो । इतिहास वर्तमानलाई सचेत गराउने एउटा कडी हो ।
डोरीमा सर्पको भ्रम भए जस्तै पाठकलाई पनि सर्जकसँगै यात्रामा छु भन्ने भ्रान्ति हुन्छ । हजारौँ वर्षपहिलेका कला, संस्कृति वैभवशाली इतिहासको जगेर्नाले देशलाई सभ्यताको बाटोमा हिँडाउँछ भन्ने कुरा कृतिले बोध गराएको छ । कला, संस्कृति र इतिहास देशका सम्पदा हुन् । यिनैको अध्ययनबाट देशको आर्थिक, सामाजिक र राजनीतिक पक्षलाई केलाउन सजिलो पर्छ ।
भुलेका छैनन् नेपालीले आफ्नो संस्कृतिलाई विदेशी भूमिमा पनि । तिहारको रौनकमा लेखक पनि समावेश भई रमाइलो गरेका छन् । त्यहाँ आफ्नो देशको धर्म, संस्कृति र संस्कारलाई नेपालीले जोगाएर राखेका छन् ता कि आगामी पुस्तामा पुस्तान्तरण होस् । विदेश गएका नेपालीले मनोरञ्जनका लागि ५२ पत्तीलाई आफूसँगै लैजाँदा रहेछन् । सर्जकले बडो सजग हुँदै परोक्ष ढङ्गले उक्त कुरा उल्लेख गर्नुभएको छ ।
साहित्यिक मन भएका वियोगीलाई बेलायती भूमिमा पनि साहित्यिक कार्यक्रम जुरिरहन्छ । त्यो नेपाली डायोस्परिक समाजमा आफ्नो भाषा, साहित्य, कला, संस्कृतिको श्रीवृद्धिमा हाम्रा बन्धुबान्धव सक्रिय भएर लागेका छन् । त्यहाँ बालबालिकालाई आफ्नो भाषा तथा साहित्य बचाऊ अभियानमा उत्प्रेरित गर्न पुरस्कार तथा प्रमाणपत्र वितरण गरिँदो रहेछ । यो उदाहरणीय कार्य हो । यसै सिलसिलामा ‘शिवपुरी सन्देश’ त्रैमासिक पत्रिका विमोचन गरिएको छ । त्यस कार्यक्रममा “युवाहरूको विदेशतर्फको लर्कोले देशलाई सन्चो हुने छाँटकाँट नदेखेको विचार पोख्यौँ (पृ.७४) ।” काँधमा देश बोक्ने युवाहरू दिनानुदिन भुइँ छोडेर बिदेसिँदा कसको मन रमाउँछ र ? दुखेको छ सर्जकलाई देश खोक्रिँदा, समाज युवाविहीन हुँदा । उहाँले यस पीडालाई विदेशमा गएर पनि व्यक्त गर्नुभएको छ । युवालाई नेपालमा अड्याउने ओखती कुन होला ?
आफन्त तथा साथीभाइले बेलायतको त्यो व्यस्त सहरमा पनि आफूलाई समय दिएकोमा सर्जकले साधुवाद दिनुभएको छ । ‘अतिथि देवो भव’ लाई मूल मन्त्र मानेका नेपाली संस्कार र संस्कृतिसँग बडो सजग छन् । आश्चर्यमा पर्नुहुन्छ लेखकपत्नी बेलायती सहर नेपालीमय भएको देखेर । सोच्दै छु म, जङ्गबहादुरले कति समय लगाएर बेलायत भ्रमण गरेका थिए ? आज प्रविधिको विकाससँगै नेपाली सजिलै छरिएर रहेका छन् विकसित मुलुकहरूमा । पृथ्वी एउटै भए पनि मानिसका आदिम संस्कार र संस्कृतिहरू कति फरक फरक हुँदा रहेछन् । यो कृति पढ्दा उमेर पुगेका सन्तानभन्दा विदेशमा कुकुर बिरालोको महत्व बढी रहेको जानकारी पाएँ । अपशकुन मान्छौँ हामी बिरालोले बाटो काट्दा । उता विदेशमा भने कुकुर बिरालोलाई भान्छा र ओछ्यानमा राखेका हुन्छन् । यो परिपाटी बिस्तारै नेपालमा पनि भित्रिँदै छ ।
राज्यले सबै सुविधा दिए पनि बेलायतमा मृत्युपश्चात् चिहान खोज्न सास्ती हुँदो रहेछ भन्ने कुरा म अहिले थाहा पाउँदै छु । ठिक त्यसको विपरीत नेपाली जनताले राज्यलाई कर तिरेर पनि खोइ राज्यबाट सेवासुविधा पाएका ? नेपालमा मृत्युपछि देह विसर्जन गर्ने ठाउँको भने अभाव छैन ।
जन्मदिनमा जोकोहीलाई केही न केही उपहार दिनु हाम्रो संस्कार हो । त्यसमा पनि बौद्धिक सोचका व्यक्तिले उपहारस्वरूप डायरी र कलमसमेत दिने गर्छन् । ती महान् छोरीहरू जसले सर्जक पितालाई डायरी र कलम दिएका छन् । पिताले त्यसलाई मनैदेखि सलाम गरे । सर्जकले प्रस्तुत सन्दर्भ पुस्तकमा उठाइरहँदा मलाई पनि सयौँ थरी कलम र डायरीको सम्झना भयो । हाम्रो घरमा रहेका सयौँ थरी कलम र डायरीले सजिएको कलमालय यसका पारखीहरूको आकर्षणको केन्द्र बनेको छ ।
विविध पर्यटकीय स्थल भ्रमण गर्दा सर्जक रोमाञ्चित हुनुहुन्छ । लन्डनभन्दा धेरै उचाइमा रहेको छ, वेल्स नगरी । उहाँले शिवपुरीको जङ्गलसँग दाँज्नुभएको छ– वेल्सको प्राकृतिक सुन्दरतालाई । मान्छे जहाँ गए पनि मातृभूमिको छायाँ देख्दो रहेछ र त सर्जकले पनि वेल्सबाट लिखुखोलाको पानी र बुढानीलकण्ठको मन्दिरलाई सम्झिनुभएको छ । बेलायतमा हुँदा सर्जकले मलाई सन्चै छ, देशलाई कस्तो छ भनी कवितामार्फत आफ्नो भूमिलाई सम्झिनुभएको छ ।
विदेशमा मात्र होइन, साहित्यकार वियोगी नेपालमा पनि विभिन्न ठाउँ अवलोकन गर्दै साहित्यिक कार्यक्रममा सहभागी हुँदै आउनुभएको छ । नियाल्नुहुन्छ उहाँ विभिन्न ठाउँका परिदृश्यलाई । प्रत्येक वडामा एउटा पुस्तकालय हुने हो भने पठन संस्कृतिले एउटा उचाइ लिन सक्छ कि भनी एक साहित्यिक कार्यक्रममा प्रसङ्ग उठेको छ । यस्तो उच्च विचार भएका साहित्यकारलाई हृदयदेखि नै नमन गर्न चाहेँ ।
शालीनदी, जसलाई पवित्र मानेर हामी त्यहाँ नुहाउँछौँ तर त्यसको माथिपट्टि खोल्सोमा नाली मिसाइएको थाहा पाउनुहुन्छ सर्जक । शुद्ध भनेर नुहाउने नदी नै अशुद्ध भएपछि कुन चिजलाई पवित्र मान्ने ?!
गोरखाको बारपाक भन्नेबित्तिकै मनमुटु सिरिङ्ग हुँदै २०७२ सालको भूकम्प स्मृतिमा आउँछ । गोरखा पर्यटकीय जिल्ला तथा नगरी मात्र होइन, उर्वर खेतीयोग्य क्षेत्र पनि रहेछ । लुम्बिनीको नयाँ रापताप पढ्दा दाउन्नेको परिवेशलाई समेटिएको छ; जुन अहिलेसम्म यथास्थितिमै छ । यात्रुले उत्तिकै सास्ती भोगिरहेका छन् । सोचिरहेकी छु, कहिले बन्छ होला त्यो बाटो ।
‘समयले जुटाएको चिटचिट’ केवल यात्रा विवरण र पारिवारिक मिलन मात्र होइन; इतिहासदेखि नेपाल र बेलायतबिचको सम्बन्धको कुरा पनि यसमा छ । यसले नियात्राको क्षेत्रमा एउटा रङ थपेको छ । बेलायती नेपाली डायोस्परिक समाजको मनोवैज्ञानिक, सामाजिक, साहित्यिक, धार्मिक पक्षको अवस्था पनि यसले देखाएको छ । त्यो समाजमा लेखक पनि सहभागी हुँदै रमाएका छन् । पुस्तकमा दैनिकीलाई यति बढी महत्व नदिइएको भए पनि हुन्थ्यो कि ! बेलायत र नेपालका १९ वटा यात्रा संस्मरणले पुस्तकको एउटा सुन्दर रूप लिएको छ । भाषा सरल र सम्प्रेषणीय छ । एकै बसाइमा पुस्तक पढ्न सकिन्छ । शीर्षकभित्रका उपशीर्षक लघुआकारका छन् । पाठकलाई शीर्षकले उत्सुक नबनाए पनि पुस्तक जानकारीमूलक, रोचक र पठनीय छ । कृति सानो छ तर निकै उपयोगी छ । यसै क्रममा यहाँ भारतीय कवि महादेवी वर्माले भनेको सम्झिन्छु–
दीपक सोनेका हो या मिट्टीका
मूल्य उसका नही, उसकी लौ का है ।
कृति सानो हुनु वा ठुलो हुनुले केही अर्थ राख्दैन, त्यसभित्रको ज्ञानले अर्थ राख्छ । सर्जकका अरू पनि नियात्रा आइरहून् पाठकमाझ यसै गरी ।