• २५ फागुन २०८२, सोमबार

समानुपातिकतर्फ पनि रास्वपा पहिलो पार्टी

blog

केदार तिमल्सिना 

बनेपा, फागुन २५ गते । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा काभ्रेपलाञ्चोक जिल्लामा प्रत्यक्ष तथा समानुपातिक मतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो पार्टी बनेको छ । प्रत्यक्षतर्फ जिल्लाका दुबै क्षेत्रमा रास्वपाका उम्मेदवार विजयी हुनुभएको छ भने समानुपातिकतर्फ पनि अन्य पार्टीको भन्दा धैरै जनमत प्राप्त भएको हो । 

मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रतिनिधि सभा क्षेत्र नम्बर-२ मा समानुपातिकतर्फको अन्तिम मत परिणाम सार्वजनिक गर्दै यो क्षेत्रमा अन्य दलको तुलनामा रास्वपाले धेरै मत ल्याएर पहिलो भएको जनाएको छ । 

मुख्य निर्वाचन अधिकृत प्रेमप्रसाद न्यौपानेले क्षेत्र नम्बर-२ मा रास्वपाले ५५ हजार ३५५ मत, नेपाली काङ्ग्रेसले १४ हजार ७४५ मत, नेकपा एमालेले १२ हजार ७८२ मत, नेपाली कम्यूनिष्ट पार्टीले छ हजार ५४ मत प्राप्त गरेका छन् । यस्तै यो क्षेत्रमा राष्ट्रिय परिवर्तन पार्टीले सात हजार २७६ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई हजार ४२६ मत, श्रम संस्कृति पार्टीले ७३४ मत, संयुक्त नागरिक पार्टीले १७८ मत, जनमत पार्टीले १३१ मत, नेपाल मजदुर किसान पार्टीले ६०१ मत, प्रगतिशिल लोकतान्त्रिक पार्टीले १४३ मत, नेपाल जनता संरक्षण पार्टीले २६५ मत प्राप्त गरेका छन्। 

समानुपातिक सूचीमा रहेका ५७ राजनीतिक दलहरुमध्ये काभ्रेपलाञ्चोक क्षेत्र नम्बर-२ मा ४५ वटा राजनीतिक दलले एक सय मत पनि प्राप्त गर्न सकेका छैनन् । यसैबीच प्रतिनिधि सभा क्षेत्र नम्बर–१ को समानुपातिकतर्फको अन्तिम परिणाम अनुसार यो क्षेत्रमा रास्वपाले ३२ हजार ६२९ मत, नेपाली काङ्ग्रेसले १४ हजार ५५१ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

यस्तै यो क्षेत्रमा राष्ट्रिय परिवर्तन पार्टीले १३ हजार ६९९ मत, नेपाली कम्यूनिष्ट पार्टीले ११ हजार ९५२ मत र नेकपा एमालेले ११ हजार ३८६ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीले एक हजार ४४८ मत प्राप्त गरेको छ । 

प्रतिनिधि सभा सदस्य निर्वाचन २०७९ मा काभ्रेपलाञ्चोक क्षेत्र नम्बर-१ मा समानुपातिकतर्फ नेकपा एमालेले २४ हजार ७९ मत, नेपाली काङ्ग्रेसले २१ हजार ७५५ मत, नेकपा माओवादी केन्द्रले १७ हजार ३३५ मत पाएको थियो । यो क्षेत्रमा नेकपा एकिकृत समाजवादीले एक हजार ९५५ मत र रास्वपाले नौ हजार ७९४ मत प्राप्त गरेको थियो । 

अघिल्लो प्रतिनिधि सभा सदस्य निर्वाचनमा क्षेत्र नम्बर-२ मा नेकपा एमालेले समानुपातिकतर्फ ३४ हजार ७०५ मत, नेपाली काङ्ग्रेसले २६ हजार ५५६ मत, नेकपा माओवादी केन्द्रले सात हजार ९२६ मत, नेकपा एकिकृत समाजवादीले छ हजार १४३ मत र रास्वपाले १६ हजार ८२४ मत प्राप्त गरेका थिए । 

यस पटकको निर्वाचनमा अघिल्लो निर्वाचनमा क्षेत्र नम्बर–१ मा प्रत्यक्षतर्फ दोस्रो स्थानमा रहेको नेकपा एमाले यस पटक चौथो स्थानमा पुगेको छ । यस्तै अघिल्लो पटक क्षेत्र नम्बर-२ मा जित हासिल गरेको नेकपा एमाले यस पटक तेस्रो स्थानमा खुम्चिन पुगेको हो । 

यसैगरि समानुपातिक तर्फ अघिल्लो निर्वाचनमा जिल्लाको दुवै क्षेत्रमा पहिलो स्थानमा रहेको एमाले यस पटक क्षेत्र नम्बर–१ मा पाँचौ स्थानमा झरेको छ भने क्षेत्र नम्बर-२ मा तेस्रो स्थानमा झरेको छ ।