चकमन्न रातको समय । बिरानो मुलुकको बसाइ । छोराछोरी र दम्पती गरी चार जनाको परिवार । मुलुकबाहिरको बसाइ त्यति सजिलो कहाँ हुन्छ र ? सबै कुरा खोज्न र बेसाउनै पर्छ । आफ्नो चिज र आफ्नोपन भन्ने नै केही हुँदो रहेनछ मुलुकबाहिर । गोजी दह्रो भए सबै चिज सहज हुँदा रहेछन् । अन्यथा सबै नै लथालिङ्ग । त्यसमा पनि काम गर्न नपाउने विद्यार्थी । अध्ययन मात्र गर्नुपर्ने । विश्वविद्यालयले जति दिन्छ, त्यसैमा गुजारा चलाउनुपर्ने बाध्यता । यसरी जीवन निर्वाह चलिरहेछ भुवनेश्वरीको ।
मध्यरातमा अनौठो आवाजमा मोबाइलमा घन्टी बज्छ । किन सदाको जस्तो छैन आवाज मोबाइलको, अनौठो लाग्छ उनलाई । लगातार घन्टी बजिरहन्छ फरक किसिमले । भुवनेश्वरीलाई आश्चर्य लाग्छ– मोबाइलमा यस्तो आवाज कहिल्यै आएको थिएन । नराखेको साउन्ड बेजोडसँग कानै खाने गरी बजिरहेको हुन्छ । कता कता भुवनेश्वरीको मनले ठाउँ छोडेको हुन्छ । आज कुनै नराम्रो समाचार आउँदै छ । घरपरिवारमा कुनै विग्रह हुँदै छ अर्थात् कुनै अशुभ लक्षण निम्तिँदै छ ।
साँच्चै नै उनको अनुमान सत्यमा परिणत भएको हुन्छ । नभन्दै भाइ सरोजको फोन आएको रहेछ । सरोज बोल्न सक्दैन । मुखबाट आवाज निस्कँदै निस्किँदैन । केवल मुख र मोबाइलको सम्बन्ध मात्र जोडिएको हुन्छ आवाजविहीन भएर । दिदी भुवनेश्वरीले किन नबोलेको भनेर पटक पटक प्रश्न गर्छिन् तर सरोज बोल्नै सक्दैन । बोल्नुपर्ने उसको बाध्यता छ तर जति प्रयास गरे पनि केही भन्न सक्दैन । यसरी दिदीभाइबिच केही समय कुराकानी हुन सक्दैन । अन्त्यमा मनलाई बलियो बनाउँदै सरोज भन्छ– दिदी ! आज ममी हामीबिच रहनुभएन ।
यो वाक्यले भुवनेश्वरीलाई निकै रन्थन्यायो । उनको मन अत्तालियो । मुखबाट वाक्य नै फुटेन । आकाश झरेको र धर्ती फाटेको जस्तो भयो । एकछिन त पत्याउनै सकिनन् उनले । के भन्छस् तँ भन्दै भाइलाई ठुलो ठुलो स्वरले कराउँदै प्रश्न गरिन् । जति प्रश्न गरे पनि सरोजको एउटै उत्तर थियो, “आज ममी हामीबिच रहनुभएन ।” भुवनेश्वरीले आखिरमा विश्वास गर्नु नै थियो । किनभने उनीहरूको ममी राधाको मृत्यु भइसकेको थियो । सत्य सत्य नै हुन्छ । लुकाएर कति पो लुकाउन सकिन्थ्यो र !
मृत्युको खबरले भुवनेश्वरीले आफूलाई नियन्त्रण गर्न सकिनन् । शरीरमा पसिना बग्न थाले । आँखा तिरमिराउन थाले । गोडा लुगलुगाउन थाले । हात थरथर काँप्न थाले । आफ्नै शरीर आफैँलाई भारी हुन थाल्यो । थाम्न सकिनन् र क्षणभरमै जमिनमा ढल्न पुगिन् भुवनेश्वरी ।
यो दृश्य निकै हृदयविदारक थियो । श्रीमान् “के भयो ! के भयो ! तिमीलाई” भन्दै उठाउँदै थिए । भुवनेश्वरी भने विक्षिप्त भइसकेकी थिइन् । चिसो भइसकेकी थिइन् । रक्तसञ्चार बन्द भइसकेको जस्तो देखिन्थ्यो । अनुहारमा एक थोपा रगत पनि देखिँदैनथ्यो । अनुहार फुङ्ग भएको थियो ।
उनकी ममीको मृत्युको खबरले ममीलाई मात्र लगेन, धेरै सन्त्रास छाडेर गयो । दुःखमाथि दुःख थोपरेर गयो । आफ्ना बचेरालाई हुर्काउँदै गरेको कौवालाई बाजले लग्दा जसरी बचेराको बिल्लीबाठ हुन्छ, त्यस्तै हुन गयो उनीहरूको घरपरिवार । भुवनेश्वरीलाई पनि मृत्युको मुखमा पु¥याइसकेको थियो । उनी भने मूच्र्छित अवस्थाबाट ब्युँतिइन् र मृत्युबाट बच्न सकिन् । त्यहाँ एउटा अकल्पनीय दृश्य देखिन्थ्यो । एकप्रकारको मौन शून्यता । भुवनेश्वरी ममीको मृत्युको पीडाले छट्पटाइरहेकी थिइन् । मुखबाट अन्य केही शब्द नआई केवल ममी ममी भन्दै छाती पिटी पिटी रोइरहेकी थिइन् । यो दृश्यले एउटी सानी नानी जो भरखर पाँच वर्षकी मात्र थिइन्; उनले पनि आफूलाई समाल्न सकिनन् र भएभरको बुता लगाएर रुन कराउन थालिन् । “ममी तपाईंलाई के भयो, के भयो” भन्दै रोएको दृश्य निकै कारुणिक थियो । ममी कहिल्यै नरोएको तर अहिले रोएको देखेर उनी झन् झन् रुन कराउन थालिन् । उनी किन रोइन्, उनलाई नै थाहा थिएन । हुन पनि ती अबोध बालिकालाई के थाहा र ! उनकी आमा किन रोइरहेकी छन् भनेर । सायद तिनलाई यो पनि थाहा थिएन, मृत्यु भनेको के हो ? उनलाई यत्ति मात्र थाहा हुन सक्छ, ममीलाई केही दुःखाइ भएको हुन सक्छ । उता दिदी रोएको देखेर सानो दुधेबालक पनि चिच्याउँदै रुन थाल्छ । उसलाई पो के थाहा ! उसलाई त्यो शून्य वातावरणमा केवल रुवाइ मात्र थाहा थियो ।
अरू उसलाई झनै के थाहा र अबोध त्यो बालकलाई । जो केही बोल्न सक्दैन । भोक लाग्यो भन्न सक्दैन । कसैलाई सम्बोधन गर्न सक्दैन । ऊ त्यत्तिकै पीडामा हुन्छ र एकोहोरो रोइरहेको मात्र हुन्छ । त्यहाँ कस्तो बीभत्स दृश्य निर्माण भयो भने त्यसलाई मत्थर बनाउने कोही थिएनन् । सबैका आँखाभरि आँसु भरिएका थिए । सबै रोइकराइ गरिरहेका थिए । त्यो रुवाइ निरन्तर भइरह्यो । न उनीहरू आफू समालिन सके न त कोही समाल्ने मानिस नै त्यहाँ थिए । त्यहाँ पीडासिवाय अरू केही थिएन । त्यहाँ रुवाइसिवाय अरू केही थिएन । त्यहाँ मलीन अनुहारसिवाय अरू केही थिएन । त्यहाँ थियो त केवल एउटा अकल्पनीय घटनाको दुःखद खबर मात्र ।
उता भुवनेश्वरीको श्रीमान् प्रह्लाद किंकर्तव्यविमूढ भएको हुन्छ । श्रीमती र छोराछोरीलाई नरोऊ नरोऊ भन्नुसिवाय केही थिएन । नरोऊ नरोऊ भन्ने शब्दले भुवनेश्वरीलाई झनै रुवाएको थियो । साना छोराछोरी बाआमा रोएको देखेर झनै उनीहरूमा रुवावासी थपिँदै गएको थियो । त्यो सबैको रुवाइ सानो पीडा थिएन किनभने उनीहरूले अब ती राधा आमालाई कहिल्यै देख्न पाउन सक्ने छैनन् । भेट्न पाउन सक्ने छैनन् । उनको वात्सल्यप्रेम सदाका लागि मेटिएको छ ।
त्यसमा पनि त्यो सानो दुधेबालकले न कहिल्यै हजुरआमालाई देख्न पायो न त हजुरआमाले नै उसलाई देख्न पाइन् । एक पटक मात्र भए पनि दुधेबालक त्यो नातिलाई छातीमा टाँस्न पाएको भए राधालाई कति आनन्द आउँथ्यो होला ।
यी सबै कुरा एउटा दारुणिक कथा जस्तै भए । त्यो बालकले पछि गएर पनि आफ्नो हजुरआमाको अनुहारको आकृतिसम्म पनि अनुमान लगाउन सक्ने भएन । सायद उसले मेरी हजुरआमा यस्ती हुनुहुँदो रहेछ भनेर तस्बिर हेर्दै कुनै दिन अवश्य नै रोइरहने छ । स्वर्गमा गएकी राधा हजुरआमा पनि भौतिक रूपमा यो धर्तीमा आफ्नो नातिलाई देख्न नपाए पनि कल्पनाको सागरमा सायद अहिले पनि सम्झिरहेकी हुन सक्छिन् । त्यो वात्सल्यप्रेम दिन नपाएकोमा अहिले पनि उनको छातीभित्र रहिरहेको हुन सक्छ। उनले जोगाइराखेकी हुन सक्छिन् । यो उनको इच्छा थियो तर अब कहिल्यै पूरा हुने भएन । अधुरै रहन पुग्यो । मृत्युको खबर यति बलवान् हुँदो रहेछ कि परिवारका सबै सदस्यलाई ढाली नै दियो । पाँच वर्षकी सानी नानी र काखको दुधेबालकलाई पनि रुवाएरै छाड्यो । बोल्न नसक्ने दुधेबालक र पाँच वर्षकी ती अबोध बालिकाको के दोष थियो र त्यसरी रुवाउनुपर्ने कारण ? बोल्न नसक्ने दुधेबालक र मृत्यु भनेको के हो भन्ने नबुझ्ने बालिकालाई पनि रुवाएरै गयो त्यो निष्ठुर मृत्युले । सानी नानीलाई भान प¥यो कि बाबाले ममीलाई केही ग¥यो अथवा पिट्यो । सायद ती सानी नानीको बालमस्तिष्कमा यही कुराले दुःख दिइरहेको थियो । सायद सानो बालक आनन्द भने सबै रोएको देखेर ऊ रोएको थियो ।
यसरी मृत्युको खबरले सबैलाई पीडा नै दियो । पीडा दिएर उसले के पो पायो होला र ? धत्, निर्दयी मृत्यु दुधेबालक र पाँच वर्षकी एउटी अबोध बालिकादेखि लिएर सबैलाई रुवाएर गइस् धन्न तेरो निष्ठुरी मन ! ए मृत्यु अब फेरि कहिल्यै फर्केर नआएस् है ।