• २२ कात्तिक २०८२, शनिबार

जीर्ण काठेपुलमा आवतजावत गर्न स्थानीय बाध्य

blog

तिला ३ को कुडारीमा रहेको जीर्ण काठेपुल । तस्बिर : नौरते नेपाली

नौरते नेपाली
सिँजा (जुम्ला), कात्तिक २२ गते ।
तिला गाउँपालिका–३ कुडारीस्थित काठेपुल अहिले अत्यन्त जीर्ण बनेको छ । वि.सं. २०३४ सालमा निर्माण गरिएको सो पुल अहिले जीर्ण भएर भत्किन थालेको छ । पुल जीर्ण अवस्थामै रहे पनि स्थानीयवासी जोखिम मोलेर दैनिक आवतजावत गर्न बाध्य छन् ।

कुडारी, सियाला लुम्सेरा र नुवाकोटका बासिन्दाहरूका लागि यही पुल मुख्य बाटो भएकाले विकल्प अभावमा सबै उमेर समूहका मानिसहरू त्यहीबाट आउने जाने गर्न बाध्य छन् । स्थानीय कर्णबहादुर हमालका अनुसार, पुलको अवस्था निकै खतरनाक भएकाले आवतजावत गर्दा डर लाग्ने गरेको बताउनुभयो ।

केही दिनअघि एक जना स्थानीय व्यक्ति पुलबाट नदीमा खस्नु भएको थियो । पौडिन जान्ने भएकाले मात्रै ज्यान जोगिएको उहाँको भनाइ छ । महिलाहरू घास दाउरा, गाईबस्तु चराउन बनतिर लैजाँदा पनि अक्सर मानिस र जनावर दुबै नदिमा खस्ने जोखिम बढेको छ ।

यता, वडाध्यक्ष धनबहादुर शाहीका अनुसार, पुल तत्काल मर्मत वा नयाँ निर्माण नगरिए आगामी दिनमा थप दुर्घटनाको जोखिम उच्च रहेको बताउनुभयो । पुल निर्माणको रकम वडामा नभएकाले नयाँ निर्माण गर्न सकिने अवस्था नभएकाो उहाँको भनाइ छ ।

वडाले मर्मत गर्ने तयारी गरेको भएपनि स्थानीयले पक्की पुलको माग गर्दै असहयोग गरेपछि प्रक्रिया अघि बढ्न नसकेको वडाध्यक्ष शाहीले बताउनुभयो । यसैगरी, तिला गाउँपालिका अध्यक्ष मोलिलाल रोकायाले स्थानीय सरकारको बजेट सिमित भएकाले संघ र प्रदेश सरकारलाई पक्की वा बेलिब्रिज निर्माणका लागि पटक–पटक अनुरोध गरिएको बताउनुभयो ।

माथिल्लो निकायले स्थानीय सरकारको अनुरोधलाई बेवास्ता गरेको उहाँको भनाइ छ । उपाध्यक्ष गोरिकला बुढाका अनुसार, जीर्ण काठेपुल मर्मतका लागि ठुलो रकम आवश्यक नपर्ने भएकाले यदि स्थानीयहरूले मर्मतमा सहकार्य गरे पालिकाले तुरुन्तै बजेट व्यवस्था गर्न तयार रहेको बताउनुभयो ।

स्थानीयहरूको भनाइमा, पुल पुनर्निर्माण नगरेमा विद्यालय जाने बालबालिका, बिरामी बोकेर अस्पताल लैजाने, गाईबस्तु चराउने जस्ता दैनिक कार्यहरू झन् जोखिमपूर्ण हुने बताएका छन् ।