काठमाडौँ, साउन २९ गते । नेपाली भाषा–साहित्यका ज्ञाता डा. देवीप्रसाद सुवेदीद्वारा लिखित ऋग्वेदकालीन उपन्यास ‘मनु’ माथि अन्तर्क्रिया सम्पन्न भएको छ । राजधानीमा आयोजित कार्यक्रममा समालोचक प्राडा लक्ष्मणप्रसाद गौतम, डा. रजनी ढकाल र पुराना पत्रकार सोमनाथ घिमिरेले पुस्तकमाथि परिचर्चा गर्नुभयो ।
पुस्तकमाथि चर्चा गर्दै प्राडा गौतमले भन्नुभयो, “हाम्रो सभ्यताको जरासम्म पुग्न र आफ्नो भाषा संस्कृतिलाई बुझ्न अहिलेको पुस्ताले उपन्यास पढ्नै पर्छ । साहित्यलाई हल्काफुल्का लेखाइ हो भनेर व्याख्या गरिरहेको अहिलेको समयमा उत्तरवैदिककालीन समाजका पात्र, समय र परिवेश पढ्दा पाठकले साँच्चिकै नौलो कल्पनाशीलताको महसुस गर्छन् ।”
“साहित्य मात्रै कोरा कल्पना होइन, यो इतिहास, संस्कृति र सभ्यताको द्योतक पनि भएकाले मनुभित्रको तक्षशिला स्कुलमा प्रवेश गर्नु पर्छ,” उपन्यासबारे बोल्दै पत्रकार घिमिरेले भन्नुभयो । लेखक सुवेदीले युवावयदेखि सोचिरहेको उपन्यास लेखेर पाठकलाई हस्तान्तरण गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो ।