काठमाडौँ, साउन २२ गते । आन्तरिक उत्पादनको बजार सुनिश्चित गरी व्यापार संरक्षण गर्न गैरभन्सार कर लागु गर्नुपर्ने निष्कर्ष निकालिएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले हालै सार्वजनिक गरेको ‘नेपालमा व्यापार संरक्षणका उपाय’ अध्ययन प्रतिवेदनले विश्वव्यापी रूपमै गैरभन्सार करमार्फत व्यापार संरक्षणको नीति अवलम्बन गरिएकाले नेपालले पनि त्यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने निष्कर्ष निकालेको हो ।
व्यापार संरक्षणको अभावमा नेपालमा उत्पादित वस्तु प्रतिस्पर्धी बन्न नसकेको र त्यसले गर्दा कतिपय उद्योग धराशायी नै बन्न पुगेकाले नेपालले गैरभन्सार करमार्फत आयात नियन्त्रण गर्न सक्ने प्रतिवेदनमा उल्लेख छ ।
व्यापार संरक्षणका लागि मुख्य रूपमा एन्टिडम्पिङ, काउन्टर भेलिङ, सेफ गार्ड, सेनिटरी तथा फोटो सेनिटरीलगायतका गैरभन्सार कर प्रचलनमा रहेको यसको अवलम्बन नेपालका लागि जरुरी बनेको अध्ययनले देखाएको छ ।
नेपालले विगतमा गरेको द्विपक्षीय तथा बहुपक्षीय व्यापार सम्झौताले गर्दा प्रत्यक्ष रूपमा भन्सार बढाउन सक्ने परिस्थिति नरहेकाले पनि गैरभन्सार करमार्फत नै आयात नियन्त्रण गर्न सकिने सम्भावना रहेको प्रतिवेदनमा उल्लेख छ ।
“नेपालका प्रमुख व्यापार साझेदारहरू भारत, चीन, बङ्गलादेश, अमेरिकाजस्ता देशले एन्टिडम्पिङ, काउन्टर भेलिङ र सेफ गार्डको माध्यमबाट आयातलाई नियन्त्रण गरिरहेको पाइन्छ । व्यापार सम्झौताहरूले पनि यस्ता वैकल्पिक उपायको माध्यमबाट उद्योगको संरक्षण गर्न प्रशस्त प्रावधान खुला गरिदिएको छ,” प्रतिवेदनमा उल्लेख छ ।
व्यापार संरक्षणको उद्देश्यसहित नेपालले पनि २०७६ सालमा सेफ गार्ड, एन्टिडम्पिङ तथा काउन्टर भेलिङ सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन जारी गरे पनि त्यसको कार्यान्वयन हुन नसक्दा व्यापार संरक्षणमा पर्याप्त काम हुन नसकेको पाइएको छ ।
व्यापार संरक्षणका लागि भारतमा मन्त्रालयको विभाग अन्तर्गत डिरेक्टोरेट जेनेरल अफ टे«ड रिमेडिजमार्फत एन्टिडम्पिङको इन्भेस्टिगेसन तथा गैरकर कार्यान्वयन हुँदै आएकाले नेपालमा पनि त्यस्तै विभाग खडा गरी व्यापार संरक्षणको काम थाल्नुपर्ने अध्ययनको निष्कर्ष छ ।
संवेदनशील वस्तुको सूची तयार गरी नेपालभित्रै आत्मनिर्भर हुन सक्ने उद्योगको प्रवर्धन तथा त्यस्ता वस्तुको आयातमा गैरभन्सार कर लगाई आयात नियन्त्रण गर्नुपर्ने अध्ययनले देखाएको छ । स्वदेशमै माग धान्न सक्ने वस्तुको प्रयोग बढाउन सरकारी निकायले जनचेतना जगाउनुपर्ने पनि अध्ययनको सुझाव छ ।
“सेनिटरी तथा फोटो सेनिटरी उपायमार्फत तरकारी, फलफूल, काठ, फर्निचर, दुध, माछा, मासुजस्ता वस्तुमा आत्मनिर्भर हुन सकिने र जुत्ताचप्पल, चिया, जस्तापाता, पेन्ट, गार्मेन्ट तथा टेक्सटाइल, औषधीजस्ता वस्तुको पनि उत्पादन बढाएर आत्मनिर्भर हुन सकिने सम्भावना छ,” प्रतिवेदनमा उल्लेख छ ।
यस्ता वस्तुमा अन्य देशले नेपाली सामानको आयातमा सेफ गार्ड्स लगाएजस्तै नेपालले पनि एन्टिडम्पिङ तथा सेफ गार्ड लगाउन जरुरी रहेको अध्ययनले निष्कर्ष निकालेको छ ।