• २४ वैशाख २०८१, सोमबार

संस्कार संस्कृतको

blog

साथीहरू । बिहानको समय पढ्ने, योगा गर्ने, ध्यान गर्ने, भगवान्को नाम जप्ने हो रे त्यही भएर बिहान म मोबाइल, टिभी हेर्दिनँ । मलाई यशोदाको नन्दलाला भन्ने टिभी सिरियल एकदमै मन पर्छ, युट्युबमा दोहोराइ दोहोराइ हेरेको छु । मेरो स्कुल बिदा भएको बेलामा श्रीकृष्णले माटो खाएको, गाई चराएको ठाउँ वृन्दावनमा जाने ठुलो रहर छ । कुनै दिन मिलाएर बाबाले लैजान्छु भन्नुभएको छ ।  मलाई धेरै भजन पनि गाउन आउँछ, एकादशी तुलसी तिलको दान..., अच्युतम केशवम्...हे राम... जय राम..., ओम नमो भगवते वासुदेवाय..., हरहर शम्भु, नारायण नारायण..., जय सरस्वती माता... यस्ता धेरै भजन हामी साँझको सन्ध्या पूजा गरेपछि मम्मीसँगै गाउँछौँ । 

म युट्युबमा बाल संस्कार भन्ने कार्यक्रम हेर्छु, त्यसमा बालबालिकालाई धेरै राम्रा कुरा सिकाइन्छ । विस्तारमा उठ्दा खेरी भनिने मन्त्र करागरे वसती लक्ष्मी... देखि साँझ सुत्ने बेलासम्मका मन्त्र सिकाइन्छ, अनुशासन, संस्कार सिकाइन्छ । मलाई बाबा मम्मीले यो च्यानल हेर्न भन्नुभएको हो, मलाई पनि एकदमै मन पर्छ । मेरो बहिनीलाई पनि कुनै कुनै मन्त्र आउँछ  । आखिर श्रीकृष्ण रहेछन् एक भन्ने श्लोगान मलाई एकदमै मन पर्छ । 

मेरो स्कुलमा पनि धेरै संस्कृति सिकाउने कार्यव्रmम हुन्छन् । नयाँ कक्षा सुरु गर्दा हाम्रो स्कुलमा हरेक वर्ष  हवन हुन्छ ।  यो वर्ष पनि हवनको कार्यव्रmम थियो, घरबाट फूल, प्रसाद, अगरबती लिएर जान्छौँ, होम गर्दा चरु  हाल्छौँ । होम गर्दा चरुको बासना निकै मिठो लाग्छ । गुरुले सबै जनालाई तिलक लगाइदिनु हुन्छ । मेरो घरमा कोही बुवाहरू पहेँलो लुगा लगाएर आउनुभयो भने म राधेराधे, जय श्रीकृण भन्छु, मलाई पनि बुवाहरू नारायण नारायण... बाबु भन्नुहुन्छ । 

उमेरले सानै भए पनि म कृष्ण भगवान्को भक्त हुँ । मैले टिभीमा, युट्युबमा महाभारत, रामायण  धेरै पटक हेरेको छु ।  मलाई कार्टोन लिटिल कृष्ण एकदमै मन पर्छ, बालगणेश, बालहनुमान खुब हेर्छु । कृष्ण भगवान् यो धर्तीमा कसरी आउनुभयो? किन आउनुभयो ? धर्तीमा हुन्जेल के के गर्नुभयो ? सबै कुरा थाहा छ । मेरो घरमा गीता सार लेखेको ठुलो भगवान्को फोटो छ । त्यसमा कृष्ण भगवान्ले अर्जुनलाई महाभारतको युद्धमा सिकाएका अर्ती उपदेश लेखिएका छन् । गीता सारमा लेखेका कुरा मलाई थाहा छ । 

मलाई धेरै मन्त्र, श्लोक याद छन् । हरेक बिहान सरस्वती मन्त्र ११ पटकसम्म जप गर्छु, सूर्य भगवान्लाई सधैँ म जल चढाउँछु । निधारमा चन्दन, टीका नलगाइकन म कहिल्यै पनि स्कुल जाँदिन । हात हेर्ने मन्त्र हेरेर मात्रै ओछ्यानबाट उठ्छु, अनि धर्तीमातालाई ढोग्छु । मलाई पनि एकदम रहर छ संस्कृत पढ्ने । मेरो स्कुलमा कक्षा ५ मा संस्कृत विषय पढाइ हुन्छ ।

 मलाई संस्कृत पढ्न एकदम रुचि लाग्छ । म्यामले सिकाउने कतिपय श्लोक त मलाई पहिल्यै थाहा हुन्छ, घरमा भनिरहेका श्लोकहरू म्यामले स्कुलमा सिकाउनुहुन्छ  ।

महाभारतको युद्धमा सबैभन्दा ठुलो भूमिका श्री कृष्ण भगवान्को थियो । कृष्ण भगवान्ले अर्जुनलाई धेरै अर्ती उपदेश दिनुभयो, त्यसैलाई हामी भागवत गीता भन्छौँ । गीताका श्लोकहरू संस्कृतमा पढ्ने कोसिस गर्दै छु । अलि अलि पढ्न जानेको छु, मेरो बाबाले राम्रोसँग पढ्नुहुन्छ । 

सरस्वती देवीका मन्त्र, लक्ष्मी माताका मन्त्र, श्रीकृष्णका मन्त्र, राम भगवान्का  मन्त्र, शिवजीका मन्त्र, हनुमानजीका मन्त्र, गणेश स्तुति, गुरु वन्दना, गायत्रीमन्त्र मलाई कण्ठस्थ छ । नवदुर्गा स्त्रोत्र पनि याद गर्दै छु । म मङ्गलबार हनुमान चालिसा पढ्छु । चार÷पाँच पाना त मलाई नहेरिकनै याद छ, हनुमान चालिसाको अरू चाहिँ किताबमा हेर्नु पर्छ, युट्युबमा सुन्नु पर्छ । 

रामायणमा भगवान् राम र हनुमानको दोस्ती मन पर्छ । महाभारतमा श्रीकृष्ण र बलरामको दोस्ती निकै मन पर्छ । मैले युट्युबमा वृन्दावन, महाभारतको युद्ध भएको ठाउँ कुरु क्षेत्र पनि हेरेको छु । मेरो मम्मी एकादशीको व्रत बस्नुहुन्छ, म पनि एकादशीको व्रत बस्छु स्कुल बिदा भएको बेलामा । स्कुल गएको बेलामा एकादशी प¥यो भने म चामलको माम खान्न, एकादशीमा चामलको माम खानु हुँदैन रे त्यही भएर म मकैको माम, रोटी खान्छु ।