• २१ वैशाख २०८३, सोमबार

लोप हुँदै बाजुराको लेउ फेर्‍या

blog

बाजुराका महिला लेउ फेर्‍या बुन्नका लागि भेडाबाख्राको रौलाई ऊन बनाउँदै । तस्बिरः शेरबहादुर सार्की

शेरबहादुर सार्की

बाजुरा, वैशाख २१ गते । बाजुराको लेउ फेर्‍या बुन्ने प्रचलन विस्तारै लोप हुँदै गएको छ । यहाँका हिमाली क्षेत्रका स्थानीयले पहिला भेडाबाख्रा पाल्ने र त्यसैको रौंबाट ऊन बनाउने गर्थे । 

त्यो ऊनबाट उनीहरू चिसोमा काम लाग्नेगरी राम्रो लेउ फेर्‍या बुन्ने गर्थे । त्यसबाट यहाँका पुराना पुस्ताले कमाइ राम्रो गर्थे । अहिले उनीहरूका नयाँ पुस्ताले यो त्यो लेउ फेर्‍या बनाउने कामलाई विस्तारै छोड्दै गएपछि बाजुराको लेउ फेर्‍या पनि विस्तारै लोप हुँदै गएको छ । 

उनीहरूले पहिलो पुस्ताले पाल्ने गरेका भेडाबाख्रा अहिले पाल्न छोडेका छन् । भेडाबाख्रा पाल्न छोडेसँगै अहिलेका पुस्ताको यो लेउ फेर्‍या बुन्ने काम पनि विस्तारै छोडिएको हो । 

बुढीनन्दा नगरपालिका–३ का स्थानीय भद्या चँदाराले, पहिला यहाँका गाउँ बस्तीमा धेरैले लेउ फेर्‍या बुन्ने गरेको भए पनि अहिले त्यो काम विस्तारै छोड्दै गएको बताउनुभयो ।

उहाँले भन्नभुयो, “हिमाली भेग भएकाले यहाँ हिउँदको महिना धेरै चिसो हुन्छ । त्यही चिसोको समय ओड्ने र ओछ्याउनका लागि यहाँका स्थानीयले पहिला धेरै लेउ फेर्‍या बुन्ने गर्थे ।” 

अहिले यहाँका अधिकांश गाउँबस्तीमा गाडी पुगेसँगै तल सहरकै समान पनि घरमा पुग्न थाल्यो । त्यसैमा यहाँका नयाँ पुस्ताले भेडाबाख्रा समेत पाल्न छोडेपछि लेउ फेर्‍या पनि विस्तारै बुन्न छोड्दै गएको चँदाराले बताउनुभयो ।

लेउ फेर्‍याको अहिले पनि झण्डै पाँचदेखि सात हजारसम्म मूल्य पर्छ । यो बलियो र टिकाउ पनि हुने गर्छ । भोटे समुदायको घरमा अहिले पनि यो पाइने गरेको छ । यहाँका हिमाली, स्वामिकार्तिक खापर, जगनाथ, बुढीनन्दा लगायतका केही ठाउँका केही स्थानीयले अहिले पनि लेउ फेर्‍या बुन्ने गरेका छन् । 

यहाँका स्थानीय पहिला लेउ फेर्‍याको व्यापार नै गर्ने गर्थे । उनीहरूले भेडाबाख्रा पाल्ने र त्यसैको रौंको ऊन बनाएर लेउ फेर्‍या बनाउने गर्थे । त्यसलाई उनीहरु देशको ठुला सहर काठमाडौँ, नेपालगन्ज र धनगढीमा बिक्री गर्थे । 

यसबाट उनीहरूको राम्रो कमाइ हुन्थ्यो । अहिले गाउँ बस्तीमा सडक पुगेसँगै यो लेउ फेर्‍या बुन्ने काम पनि विस्तारै हराउँदै गएको छ । कोही कसैले दुई चार वटा बुन्ने गरेको भए पनि अधिकांशले भने यो काम विस्तारै छोड्दै गएका हुन् । 

हिमाली गाउँपालिका अध्यक्ष गोविन्दबहादुर बल्लले, स्थानीय तहमा हुने गरेका परम्परागत सिपलाई पुनः उजागर गर्ने गरी पालिकाले यो कामलाई पहिलो प्राथमिता दिँदै आएको बताउनुभयो । 

उहाँले भन्नभुयो, “यसका लागि हामीले थप उनीहरूलाई तालिमको समेत व्यवस्था गर्दैआएका छौं । डोका नाग्ला, हँसिया बनाउने, लेउ फेर्‍या बुन्ने लगायतका पेशालाई बढी प्राथमिकता दिने गरेका छौं । 

यहाँका स्थानीयहरूको आर्थिक अवस्था मजबुद पार्नेगरी अहिले हामीले पुराना पुस्ताले छोडेर गएका सिप कलालाई समेत अहिले पहिलो प्राथमिकता दिने गरेको अध्यक्ष मल्लले बताउनुभयो ।