• १४ पुस २०८१, आइतबार

विरूपाक्ष समय (कविता)

blog

आफ्नै आमासँगको सहवासले श्रापित

विरूपाक्ष 

पश्चातापको गहिरो खाडलबाट उठ्न  सकेको 

छैन  अझै

सङ्कोचको पर्खालभित्र निसास्सिएर  सधैँ

अनुहारको भूगोलमा लागेको दागैदागको

परिचय बोकेर, भौँतारिरहेको छ समयको न्यायलयमा

धुन सकेको छैन कुनै पनि नदीको 

पानीले, बदनामका दाग लागेको अनुहार कतै

पखाल्न सकेको छैन 

अपराध बोधको  गहु्रँगो  भारी बोकेर 

वर्षौंवर्षअघिदेखि 

समयको कठघरामा उभिएर  बयान दिइरहेछ 

विरूपाक्ष, इजलासमा  सिङ्गो इतिहास जाली प्रमाण

जुटाइरहेछ 

फगत निरिह विरूपाक्षको विपक्षमा

बागमतीको किनारै किनार  विक्षिप्त विचारहरूको 

ऐँजेरु  बोकेर मस्तिष्कमा, आफ्नै पुत्रबाट बलत्कृत आमा

प्रत्येक साँझको गङ्गा आरतीमा ताण्डब नाचिरहन्छिन्

आफ्नै सन्तानको दुर्दशाको  अव्यक्त पीडामाथि 

महोदयहरू तपाईंहरूले पनि देख्नु भएकै होला ।

तारिख धाउँदा धाउँदै तलुवा खिएर प्वाल परेको

हातीछाप चप्पल  लगाएर, पैदल यात्रामा

धेरै हिउँद वर्षा  छेक्दा छेक्दै जीर्ण बनेको

जिन्दगी जस्तै, छाताको जीर्ण करङले छेक्न सकेको छैन 

विपत्तिको कालो बर्खा, 

धेरैपल्ट न्याय माग्न  गोरखा दरबारको बन्द 

ढोका ढकढक्याइसक्यो

कहिले पनि खुलेन विरूपाक्षका लागि 

न्याय दिन गोर्खा दरबारको अभिसप्त ढोका

लामो दिनको पैदल यात्रापछि 

फर्केर आर्यघाटको  परिसरमा मरेको मान्छेहरूको

निर्जीव  सपना चोरेर

एक्लै एकान्तमा केलाइरहेछ धमिलो सपनाको 

रड

विरूपाक्षको न्यायको पक्षमा बोल्न नसकेर

समय मौन छ ।

स्तब्ध  छ ।

तारिख धाउँदा धाउँदै कमजोर विरूपाक्षका

आँखाहरूले, पढ्न नसकेर जीवनका मिसिलहरू

अस्तव्यस्त  छन् ।

आफ्नै पुत्रसँग सहवास हुँदा  हेरिरहने समय

सबै अपराध छेक्ने यो रातलाई  सधैँ सधैँ

सराप्दै धिकार्दै चिच्याइरहन्छिन् आर्यघाटको  

वरिपरि !

आफ्नी आमाको बीभत्स अनुहारमा सम्पूर्ण 

संसारको  घृणा देखेर

भित्रभित्रै सल्कन्छ  भुसको आगोजस्तै 

संसारका  सम्पूर्ण मान्छेहरूको विचारको दुर्गन्धले

भागेको विरूपाक्ष

इतिहासमा सधैँ सधैँ श्रापित भएर अझै पनि

आफू सधैँ बेकसुर भएको प्रमाणहरू जुटाएर

वर्षौंदेखि धाइरहेछ न्यायालय

आफ्नो मुद्दा कहिले सुनुवाइ हुन्छ  भन्ने 

आशैआशामा

बकपत्रमा आफू बेकसुर भएको यथेष्ट प्रमाणहरूको

पुरानो फाइल

कालो झोलामा बोकेर अदालत धाउँदा  धाउँदै 

धेरै कालखण्डहरू बित्यो ।

धेरै न्यायाधीशहरू फेरिए, हजारौँ मुद्दाको हारजित भयो

तर इतिहासको अदालतमा विरूपाक्षले अझै

न्याय पाएको छैन ।

आज आफ्नै आमाको मुत्युमा रुने आँशु छैन

विरूपाक्षको आँखामा, बस !

चुपचाप चुपचाप नियालिरहेछ

आफ्नै आमाको अर्ध जलेको देहबाट उडेको

धुवाँसँग, माफी मागेर  जीवनमा

अन्तिम पल्ट कठघरामा उभिएको छ, विरूपाक्ष 

किन खै आज इतिहासले  लगाएको हरेक

अपराध  स्वीकार्दै छ !

हरेक अपराध  सहजै कबुल गर्दै छ

बयान नसकिँदै विरूपाक्ष  मूर्तिवत्

बनेको छ किंवदन्ती  भएर इतिहासको, पानाहरूमा ! 


वर्तमान बस्ती, पुतलीसडक, काठमाडौँ