• १ जेठ २०८२, बिहिबार

सागरनाथ वन विकास परियोजनाभित्र काठ तस्करी बढ्दो

blog

तस्करले काठ काटेर लगेपछि भेटिएको सालको ठुटो । तस्बिर : जनार्जन खत्री

जनार्जन खत्री

सर्लाही, साउन १४ गते । वन रक्षकसहित सम्पूर्ण कर्मचारी तलब माग गर्दै काठमाडौँमा आन्दोलन गर्न पुगेपछि सागरनाथ वन विकास परियोजनाको जङ्गल क्षेत्रमा काठ तस्करी बढेको छ । 

गस्ती नै हुन छाडेको मौकामा तस्करले परियोजना अन्तर्गत पर्ने जङ्गल क्षेत्रबाट साल (साखु) र अन्य काठको तस्करी बढाएका हुन् । वनभित्र अहिले जताततै रुख कटान गरेर लगेको ठुटा भेटिन्छ । गएको वर्ष भदौदेखि तलब नपाएपछि परियोजनाका सम्पूर्ण कर्मचारी कार्यालय नै बन्द गरेर यही साउन ९ गतेदेखि काठमाडौँस्थित माइतीघरमा गएर धर्नामा बसिरहेका छन् । 

सागरनाथ परियोजनाको सर्लाही, महोत्तरी र रौतहट गरी तीन जिल्लामा १३ हजार ५१२ हेक्टर जङ्ग क्षेत्र पर्छ । जिल्लामा पटक–पटक आन्दोलन गर्दा ११ महिनासम्म तलब नपाएपछि बाध्य भएर काठमाडौँ पुगेर आन्दोलन गर्नुपरेको परियोजनाका कर्मचारी छत्रबहादुर डुमजनले जानकारी दिनुभयो । “काम गरेको कार्यालयबाट ११ महिनासम्म तलब नपाउँदा हाम्रो व्यवहार कसरी चलेको होला ! त्यहाँ हाम्रो गुनासो कसैले सुनेन, त्यसैले तलब माग गर्दै काठमाडौँ नै आउन बाध्य भयौँ,” डुमजनले टेलिफोनबाट भन्नुभयो, “हामीले पाउनुपर्ने तलब हात लाग्ने आधार तय नभएसम्म काठमाडाैँबाट फर्किँदैनौँ ।” 

कुनै विकल्प नभएपछि परियोजनाको सर्लाही, महोत्तरी र रौतहट तीनवटै जिल्लामा कार्यरत करिब २०० कर्मचारी एकैसाथ काठमाडौँ पुगेको डुमजनले बताउनुभयो । हिजोआज वनमा घाँस, दाउरा तथा गोठालो जाँदा रुख कटान गरेर लगेको ठुटा धेरै भेटिन थालेको ईश्वरपुर नगरपालिका–४, सागरनाथका एक स्थानीयले जानकारी दिनुभयो । 

कर्मचारी नभएको मौकामा परियोजनाको जग्गा अतिक्रमण गर्ने पनि सक्रिय भएका छन् । डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख मन्जुर अहमदले वनका कर्मचारीलाई परियोजनाको जङ्गल क्षेत्रमा पनि निगरानी गर्न निर्देशन दिएको बताउनुभयो । 

“सागरनाथ वन विकास परियोजना हाम्रो क्षेत्रभित्र नपरे पनि वन जोगाउनु दायित्व भएको हिसाबले मातहतका युनिटलाई तत्काल परियोजनाको जङ्गलमा पनि रेखदेख गर्न निर्देशन दिएको छु,” डिभिजन वन प्रमुख अहमदले भन्नुभयो, “हाम्रा कर्मचारीले भ्याएसम्म परियोजनाको वनक्षेत्रमा समेत गस्ती गरिरहेका छन् ।” सागरनाथ वन विकास परियोजनाको स्वामित्वको विषयलाई लिएर सङ्घीय सरकार र प्रदेश सरकारीबीच लामो समयदेखि द्वन्द्व समेत चल्दै आएको छ ।