• ९ मंसिर २०८१, आइतबार

काठमाडौं विश्वविद्यालय र मधेश विश्वविद्यालयबीच सहकार्य

blog

स्नातक र स्नातकोत्तर तहका दुई विषयमा संयुक्त रुपमा अध्यापन गराउने काठमाडौं विश्वविद्यालय र मधेश विश्वविद्यालयबीच सहमति । तस्बिर : रासस

काठमाडौं, साउन १० गते । काठमाडौं विश्वविद्यालय र मधेश विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहका दुई विषयमा संयुक्त रुपमा अध्यापन गराउन सहमति गरेका छन् । काठमाडौं विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापा र मधेश विश्वविद्यालयका उपकुलपति डा. दीपक शाक्यले मङ्गलबार सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो ।

सम्झौताअनुसार स्नातक तहमा जनप्रशासन तथा व्यवस्थापन र स्नातकोत्तर तहमा सङ्घीय शासन तथा जनप्रशासन विषय संयुक्त रुपमा अध्यापन गराइनेछ ।

काठमाडौं विश्वविद्यालयका उपकुलपति प्राडा थापाले मधेश प्रदेश सरकारद्वारा गतवर्ष स्थापित मधेस विश्वविद्यालयसँगको सहकार्यले मधेस प्रदेशमा उच्च शिक्षाको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । मधेश विश्वविद्यालयका उपकुलपति डा. शाक्यले स्थापनाको पहिलो वर्षमै काठमाडौं विश्वविद्यालयसँगको सहकार्यले आगामी दिनमा मधेश विश्वविद्यालयले गुणस्तरीय शिक्षा दिनका लागि थप प्रेरित गर्ने बताउनुभयो ।

काठमाडौं विश्वविद्यालयले यसअघि गण्डकी  र लुम्बिनी बौद्ध विश्वविद्यालयसँग पनि संयुक्त रुपमा अध्यापनका लागि सहकार्य गरिसकेको छ । काठमाडौं विश्वविद्यालय अष्ट्रेलियाको वेष्टर्न सिड्नी विश्वविद्यालय, अमेरिकाको जर्ज मेसन विश्वविद्यालय र भारतको आइआइटी मद्राससँग समेत सहकार्य गरिसकेको छ । सम्झौताअनुसार विद्यार्थीले स्नातकोत्तर तहमा तीन सेमेष्टर भर्ना भएको विश्वविद्यालय र  बाँकी एक सेमेष्टर सम्बन्धित विश्वविद्यालयमा अध्ययन गर्न सक्नेछन्  ।

यसका लागि दुवै विश्वविद्यालयले पाठ्यक्रम निर्माणदेखि अन्य विषय आपसी सहमतिमा तय गर्ने सहमति गरेका छन् । यसैगरी विद्यार्थीको प्रमाणपत्रमा दुवै विश्वविद्यालयको छाप रहने र विद्यार्थीले दुवै विश्वविद्यालयको दीक्षान्त समारोहमा भाग लिनुपर्नेछ ।  यसबाट विद्यार्थीले विश्वस्तरीय शिक्षा प्राप्त गर्नाका साथै कम शुल्कमा विदेशी विश्वविद्यालयमा अध्ययन गर्न पाउने काठमाडौं विश्वविद्यालयको भनाइ छ । रासस