रामकृष्ण बोहरा
बागलुङ, पुस १० गते । बागलुङ नगरपालिकाले पर्याप्त सेवाका लागि स्वास्थ्यकर्मी र उपचार सामग्रीको व्यवस्थापन गरेपछि परिवार नियोजन र पाठेघरको उपचारमा बागलुङ नगरपालिका वडा ५ स्थित मालिका स्वास्थ्य चौकी अब्बल बन्दै गएको छ ।
केही वर्षअघिसम्म नगरका अधिकांस स्वास्थ्य संस्थामा आउने बिरामी धौलागिरि प्रादेशिक अस्पतालमा धाउनुपर्ने बाध्यता थियो । जनशक्ति र उपकरणको व्यवस्थापनपछि नगरका स्वास्थ्य चौकीहरु उत्कृष्ट बन्दै गएका हुन् । बर्थिङ सेन्टर र प्रसूती सेवा नभएपनि न्युनतम सेवा मापदण्ड (एमएसएस) का सूचक पुरा गर्न स्वास्थ्य संस्थाले सेवा बढाएका छन् ।
ती स्वास्थ्यमध्ये एक हो ‘मालिका स्वास्थ्यचौकी’ । बजार नजिकै भएपनि पहिले केही सेवा सुविधा नभएको मालिका स्वास्थ्यचौकीलाई नगरपालिकाले पर्याप्त सेवा दिन सामाग्री र स्वास्थ्यकर्मी पठाएको, सबै सूचकमा रिपोटिङको व्यवस्थापन गरिएको र हरेक स्वास्थ्य संस्थालाई विशेष बनाउन फरक फरक सेवा प्रवाहमा नमूना बनाउन खोजेको छ ।
महिलाको पाठेघर खस्ने समस्या, पाठेघरको मुखको क्यान्सरबारे परीक्षण, परिवार नियोजनको अस्थायी साधन सेवालाई व्यवस्थित बनाईएको मालिका स्वास्थ्य चौकीका प्रमुख बिलासचन्द्र पौडेलले बताउनुभयो । पौडेलका अनुसार, दक्ष स्वास्थ्यकर्मीको व्यवस्थापनले सुरक्षित गर्भपतन सेवा प्रभावकारी बन्दै गएको छ । ‘‘सस्थालाई नगरपालिका र प्रदेश स्वास्थ्य कार्यालयको नजरमा पार्ने प्रयास गरेका छौं’’ पौडेलले भन्नुभयो ।
गत वर्ष ८० जनाले परिवार नियोजनको लामो समयसम्म उपयोग गरिने अस्थायी साधनको प्रयोग गरेका छन् । ‘‘यो ग्रामीण क्षेत्रको स्वास्थ्य संस्थाको लागि नमूनायोग्य काम हो’’ पौडेलले भन्नुभयो । स्वास्थ्य चौकीबाट चालु आर्थिक वर्षमा आठ जनाको सुरक्षित गर्भपतन भएको छ । निजी क्लिनिकमा गएर असुरक्षित गर्भपपतन गर्ने प्रवृत्ति रोक्न मालिका स्वास्थ्यचौकी सफल भएको पौडेलले बताउनुभयो ।
स्वास्थ्य चौकीलाई व्यवस्थित बनाउन फेयरमेड फाउण्डेसन, नेपाल गाजा डेभलपमेन्ट फाउण्डेसन र सम्बोधन परियोजनाले दिएका छन् । गतवर्ष मालिका स्वास्थ्य चौकीको भवन मर्मत गरिदिएको परियोजनाले चालु वर्ष पेडीलाईट लगायतका सामाग्री हस्तान्तरण गरेको छ । विशेषगरी घाउचोटको उपचार, पाठेघरको क्यान्सर र अन्य सेवा प्रवाह तथा परिवार नियोजन सेवामा नमूना बन्ने लक्ष्यमा रहेको पौडेलले बताउनुभयो ।
स्वास्थ्य चौकीमा पोषण लेखाजोखा गरिएको र गर्भवतीलाई प्याकेजमा पोषण सामाग्री वितरणको प्रणाली व्यवस्थित बनाइएको काम पनि नमूनायोग्य भएको छ । यो अभियानमा उत्कृष्ट काम गरेकोले वडा तथा व्यवस्थापन समितिमार्फत गत महिना महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान समेत गरिएको थियो ।
चालु वर्षभित्र जिल्लाका अधिकांस स्वास्थ्य संस्थाको न्युनतम सेवा प्रवाहलाई गुणस्तरीय र अधिकतम अंकमा ल्याउने प्रयास भएको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङकी जनस्वास्थ्य निरीक्षक लक्ष्मी शर्माले जानकारी दिनुभयो । यसअघि नारायणस्थान स्वास्थ्य चौकीले जिल्लामै उत्कृष्ट बनेर शतप्रतिशत सूचक पुरा गरिसकेको छ ।