• १० पुस २०८२, बिहिबार

बाँकेका पाँच पालिकाका विद्यालय तीन दिन बन्द

blog

सिराज खान
नेपालगन्ज, पुस १० गते ।
केही दिनदेखि सुरु भएको शितलहरका कारण अत्यधिक चिसो बढ्काले बालबालिका बिरामी पर्न थालेपछि बाँके जिल्लाका पाँच वटा पालिकाका विद्यालयहरु बन्द गरिएका छन् ।  

अत्यधिक चिसोका कारण मौसम प्रतिकूल बन्दै गएको जनाउँदै जिल्लाको कोहलपुर नगरपालिका, खजुरा, जानकी र बैजनाथ गाउँपालिकाका विद्यालयहरु तीन दिन बन्द गरिएका छन् भने नेपालगन्ज उपमहानगरका विद्यालयहरु चार दिन बन्द गरिएका छन् ।

शितलहर, हुस्सु र कुहिरोका कारण बढेको अत्यधिक चिसो र मौसमको अवस्थालाई मध्यनजर गर्दै विभिन्न क्षेत्रबाट प्राप्त सुझावका आधारमा ती पालिकाहरुले पालिका भित्रका सबै सामुदायिक तथा निजी विद्यालयहरूलाई बन्द गर्ने निर्णय गरिएको जनाएका छन् ।

विद्यार्थीहरूको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै नगरपालिकाले तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यले बताउनुभयो ।

उहाँले मौसममा सुधार आएमा आइतबारदेखि नियमित रूपमा पठनपाठन सुचारु गराइने तथा सुधार नभए फेरी अर्को सूचना जारी गरेर केही दिन थप विद्यालय बन्द गरिने बताउनुभयो ।

सोही प्रकारले अत्यधिक चिसो बढेपछि जानकी गाउँपालिकाका सम्पूर्ण विद्यालयहरुमा पठनपाठन बन्द गर्ने निर्णय गरिएको छ । चिसो बढेपछि तीन दिनसम्म सम्पूर्ण विद्यालयहरूमा पठनपाठन बन्द गर्न निर्णय गरिएको हो ।

जानकी गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख कृष्णा कुमारी भण्डारीले शीतलहर तथा हुस्सुका कारण अत्यधिक चिसो बढेपछि तीन दिन सम्पूर्ण विद्यालय बन्द गरिएको बताउनुभयो ।

यसैगरी खजुरा गाउँपालिकाले अत्यधिक चिसोका कारण बालबालिकालाई विद्यालय आउन–जान असहजता भएको भन्दै तीन दिन विद्यालय बन्द गरिएको जनाएको छ ।

पालिकाले शिक्षा समितिको निर्णयअनुसार तीन दिन पठनपाठन स्थगित गरी प्रशासनिक कार्य भने नियमित सञ्चालन गर्न अनुरोध गरेको छ ।

खजुरा गाउँपालिका शिक्षा शाखा प्रमुख खगेन्द्र मल्लले अत्यधिक चिसो र शीत लहरका कारण बालबालिकाको स्वास्थ्यमा प्रतिकुल प्रभाव पार्न सक्ने अवस्थालाई मध्यनजर गर्दै सम्पूर्ण विद्यालयहरु बन्द गर्ने निर्णय गरिएको जानकारी दिनुभयो ।

यस्तै बैजनाथ गाउँपालिकाले पनि चिसो बढ्दा बालबालिकालाई समस्या भएको जनाउँदै तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको पालिकाको शिक्षा शाखाले जनाएको छ ।

सोही प्रकारले नेपालगन्ज उपमहानगरले भने पुस ११ गतेबाट चार दिनका लागि उपमहानगरभित्रका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको नेपालगन्ज उपमहानगरको शिक्षा शाखाका प्रमुख गोर्खबहादुर थापाले बताउनुभयो ।