• ९ पुस २०८२, बुधबार

मुस्ताङ भन्सार कार्यालय

धमाधम भित्रिदैंछन् विद्युतीय सवारी साधन

blog

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका –२, छोसेरस्थित नेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयको पार्किङस्थलमा राखिएको विवाइडी गाडी । तस्बिरः हरिकृष्ण शर्मा

हरिकृष्ण शर्मा 

मुक्तिनाथ (मुस्ताङ), पुस ९ गते । बिहान–बेलुकीको तापक्रम माइनस १५ डिग्रीसम्म पुग्नेगरेको छ । नेपाल–चीन २४ नम्बरको सीमास्तम्भ आसपासमा ब्यवसाय गर्ने स्थानीय जाडो छल्न बेंसी झरिसकेका छन् । 

उपल्लो मुस्ताङमा चहलपहल हुने छोसेर, लोमान्थाङ बस्तीसहित कोरला–जोमसोम सडकखण्ड अन्तर्गत बाक्लो बस्तीमा रहेका होटल तथा रेष्टुरेन्ट बन्द छन् । कठ्याङ्ग्रिँदो चिसोसँगै बस्ती सुनसान भए पनि चिनको तिब्वतबाट लिजी–नेचुङ (कोरला) नाका हुँदै धमाधम विद्युतीय गाडी भित्रिएका छन् । 

चीनको स्वायत्त प्रदेश तिब्बतको झोङवासेन जिल्लाबाट कोरला नाकाबाट हुँदै पछिल्लो तीन दिनमा दुईसय विद्युतीय गाडी (इभी) लोमान्थाङ गाउँपालिका–२, नेचुङमा अवस्थित मुस्ताङ भन्सार कार्यालयबाट जाँचपास गरी पठाइएको छ । भन्सार कार्यालयको पार्किङस्थलमा एक सयभन्दा बढी चिनियाँ विवाइडी गाडी रहेको भन्सार कार्यालय प्रमुख रमेश खड्काले बताउनुभयो । 

भन्सार कार्यालय प्रमुख खड्का भन्नुहुन्छ, ‘‘विद्युतीय सवारीसाधनको चाप धेरै छ, अत्यधिक चिसो भएकाले बाँकी सवारी साधनको पनि जाँचपास गरी पठाउँदैछौ ।’’ पुस महिनामा पैठारी कम हुने अनुमान गरिएकोमा नियमित विद्युतीय सवारी साधनसहित अन्य उपकरण तथा सामान बोकेका मालबाहक ट्रक र कन्टेनर भित्रिरहेको कार्यालय प्रमुख खड्काले बताउनुभयो । 

कोरला नाका हुँदै थप सामान आउने भएकाले भन्सार कार्यालयमा सवारी साधनका चालकको चहलपहल छ । विद्युतीय सवारीसाधनलाई चालकले गुडाएरै पोखरासम्म लैजाने गरेका छन् । चिसोका कारण विद्युतीय सवारी साधनका लागि बनाइएको चार्जिङ स्टेशनमा अत्यधिक चाप छ । 

विहान र बेलुकीको समयमा माइनस तापक्रममा कोरला नाकाबाट १४ किलोमिटरको दूरीमा रहेको भन्सार कार्यालयसम्म सडकमा जमेको बरफ फुटाउँदै मालबाहक सामान र इभी गाडी ल्याउनु पर्ने बाध्यता छ । मुस्ताङ भन्सार कार्यालयले पुस ८ गतेसम्म ४ अर्ब ९७ करोड ९९ लाख बढी राजस्व सङ्कलन गरेको छ । 


यो अवधिमा भन्सार कार्यालयमा हालसम्म १ हजार ९ सय ७४ वटा विद्युतीय (इभी) सहित १६ सय २० कन्टेनरमार्फत सामान पैठारी भएको छ । निकासीतर्फ एकसय २१ मालवाहक, कन्टेनरमार्फत नेपालमा उत्पादन हुने हस्तकला सामग्री, कपडा लगायतका सामान रहेको छ । 

भन्सार कार्यालयको सूचना अधिकारी अमिन्द्र सिंहका अनुसार विस २०८० कात्तिक २७ देखि औपचारिक उदघाटन भएको नाका चालु आर्थिक बर्ष २०८२–८३ भदौ महिनाको ३० गतेदेखि ब्यावसायिक रुपमा सञ्चालनमा आएको थियो । 

भन्सार कार्यालयबाट जाँचपास भएका सवारीसाधन समेत एकसय ८६ किलोमिटर दूरीको कोरला–जोमसोम–बेनी सडकखण्ड सुधार नहुँदा ठुला कन्टेनर सञ्चालनमा समस्या भइरहेको छ भने कोरलाबाट गण्डकी प्रदेशको राजधानी पोखरासम्म लैैजान २ सय ५१ किलोमिटरको सडक मार्ग पार गर्नुपर्छ । 

समुन्द्री सतहदेखि चार हजार ६ सय ५० मिटर उचाइमा अवस्थित कोरोला नाका सन् १९६० को दशकमा चीनमा तिब्बत गाभिएपछि तिब्बतका खम्पाहरू नेपाली भूमि प्रयोग गरेर विद्रोह गरेपछि रोकिएको भन्सार कार्यालय ब्यावसायिक रुपमा सञ्चालनमा आएपछि उपल्लो मुस्ताङबासीलाई रोजगार, ब्यापार तथा सामान निर्यातमा भ्याइ नभ्याई छ ।