• २४ चैत २०८२, मङ्गलबार

बाँके २ बाट राप्रपा नेपालका अध्यक्ष कमल थापाको एकल नाम सिफारिस

blog

कमल थापा । फाइल तस्बिर

सिराज खान

नेपालगन्ज, पुस ९ गते। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल बाँकेले जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ मा सो पार्टीका केन्द्रीय अध्यक्ष कमल थापाको एकल नाम सिफारिस गरेको छ। 

बाँके क्षेत्र नम्बर २ बाट केन्द्रीय अध्यक्ष थापाको एकल नाम सर्वसम्मतिबाट सिफरिस गरिएको जनाउँदै राप्रपा नेपालका सहायक महामन्त्री अभय बस्नेतले बाँकेका स्थानीयको माग अनुसार नै उहाँको नाम सिफारिस गरिएको बताउनुभयो। 

उहाँले बाँके जिल्ला पहिले देखिनै राप्रपाको गढ भएको र यस पटक राप्रपाका नेता धवल शमशेर राणाले निर्वाचन नलड्ने घोषणा गरेकोले राप्रपा नेपालले आफ्नो पार्टीका अध्यक्ष थापालाई यहाँबाट उम्मेदवार बनाउन खोजेको बताउनुभयो। 

स्थानीय जनताले पनि अध्यक्ष थापाको उम्मेदवारीका लागि विगतबाटै माग गर्दै आएकोमा यस पटक राम्रो अवसर भएकोले नाम सिफारिस गरिएको सहायक महामन्त्री बस्नेतले बताउनुभयो। 

राप्रपा नेपाल बाँकेका अध्यक्ष दीपेन्द्रबहादुर सिंहले बाँके २ बाट निर्वाचनमा उम्मेदवार बन्न पार्टीका केन्द्रीय अध्यक्ष थापा सकारात्मक हुनुभएको पाएको पनि बताउनुभयो। 

बाँके २ बाट अध्यक्ष थापाले निर्वाचनमा उम्मेदवार हुने निर्णय गरेमा यहाँको निर्वाचन निकै रोचक हुने अनुमान गरिएको छ। बाँके २ बाट जसपाका महासचिव पूर्व मन्त्री मोहम्मद ईश्तियाक राईले उम्मेदवारी दिनुहुनेछ भने जसपा नेपालले नेपालगन्जका उपप्रमुख कमरुद्दीन राई र नरैनापुर गाउँपालिकाका अध्यक्ष ईश्तियाक अहमद शाहको नाम सिफारिस गरेको छ।