सियोल, पुस १० गते । उत्तर कोरियाले आणविक-सञ्चालित पनडुब्बी निर्माणमा उल्लेखनीय प्रगति गरेको सङ्केत दिएको छ । राज्य सञ्चारमाध्यमले सार्वजनिक गरेका तस्बिरमा धेरै हदसम्म पूरा भएको पनडुब्बीको बाहिरी संरचना देखिन्छ ।
यस क्रममा नेता किम जोङ उनले दक्षिण कोरियाले यस्तै प्रविधि हासिल गर्न दबाब दिइरहेको भन्दै कडा आलोचना गर्नु भएको छ । उत्तर कोरियाको आधिकारिक कोरियन सेन्ट्रल न्युज एजेन्सीका अनुसार किमले आठ हजार ७०० टन क्षमताको आणविक-प्रोपेल्ड पनडुब्बी निर्माण भइरहेको एक शिपयार्डको निरीक्षण गर्नु भएको हो ।
उहाँले यस पनडुब्बीलाई उत्तर कोरियाली नौसेनाको आधुनिकीकरण र आणविक प्रतिरोध क्षमताका लागि अत्यन्तै महत्वपूर्ण कदमका रूपमा वर्णन गर्नुभयो । उत्तर कोरियाले यसलाई ‘रणनीतिक निर्देशित मिसाइल पनडुब्बी’ वा ‘रणनीतिक आणविक आक्रमण पनडुब्बी’ भन्दै भविष्यमा आणविक हतियारले सुसज्जित गर्ने योजना रहेको सङ्केत दिएको छ ।
निरीक्षणका क्रममा उहाँले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थनमा दक्षिण कोरियाले आफ्नै आणविक–सञ्चालित पनडुब्बी प्राप्त गर्ने प्रयास गरिरहेको उल्लेख गर्दै त्यसलाई उत्तर कोरियाको सुरक्षा र समुद्री सार्वभौमिकतामाथिको ‘आक्रामक कार्य’ भन्नुभयो । उहाँका अनुसार यस्ता योजनाले उत्तर कोरियालाई आफ्नो नौसेना र आणविक प्रतिरोध क्षमता अझ सशक्त बनाउन बाध्य बनाएको छ ।
राज्य मिडियाले किमले कहिले शिपयार्ड भ्रमण गर्नु भएको हो भन्ने स्पष्ट नगरे पनि सार्वजनिक तस्बिरमा उहाँले वरिष्ठ अधिकारी र आफ्नी छोरीसँगै विशाल जहाजको निरीक्षण गरिरहेको देखिन्छ । मार्चपछि पहिलो पटक पनडुब्बीको स्पष्ट तस्बिर सार्वजनिक गरिएको हो ।
पनडुब्बी कहिले पूर्णरूपमा तयार हुन्छ भन्ने खुल्न नसके पनि दक्षिण कोरियाका विज्ञका अनुसार बाहिरी संरचना लगभग तयार देखिनु भनेको इन्जिन र सम्भावित रिएक्टर जस्ता मुख्य प्रणालीभित्रै जडान भइसकेको सङ्केत हुन सक्छ । हानयाङ विश्वविद्यालयका पनडुब्बी विशेषज्ञ मुन केउन-सिकका अनुसार यो जहाज केही महिनाभित्र समुद्र परीक्षणमा जान सक्ने सम्भावना छ ।
आणविक–सञ्चालित पनडुब्बी किमले सन् २०२१ मा घोषणा गर्नुभएको दीर्घकालीन सैन्य लक्ष्यमध्ये एक हो । यस सूचीमा ठोस इन्धनयुक्त अन्तरमहाद्वीपीय ब्यालिस्टिक मिसाइल, हाइपरसोनिक हतियार, जासुसी उपग्रह र बहुवारहेड मिसाइल पनि समावेश थिए, जसमध्ये केहीमा उत्तर कोरियाले पहिले नै प्रगति गरिसकेको छ । रासस/एपी