अनिल पराजुली
हेटौँडा, पुस १० गते । विद्यालयमा शिक्षक टिकाउन र भविष्यको सुुनिश्चित्त गर्न हेटौँडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय) ले निजीस्रोतमा कार्यरत १३ जना शिक्षक तथा कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराएको छ । देशकै पहिलो सामुदायिक विद्यालयको रूपमा भुटनदेवी माविले दुई शैक्षिकसत्र पूरा गरेका शिक्षक तथा कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराएको हो ।
बुधबार औपचारिक कार्यक्रमको आयोजना गरी नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) केन्द्रीय अध्यक्ष विनोद श्रेष्ठ र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवीन सिग्देलले कोषमा आबद्ध ६ जना शिक्षक र ७ जना कर्मचारीलाई परिचयपत्र (कार्ड) वितरण गर्नु भएको थियो ।
नेपाल सरकारले सामाजिक सुरक्षा कोष नियमावली, २०६७ बमोजिम कोषको स्थापना गरेको थियो । योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ तर्जुमा भई कार्यान्वयनमा आएपश्चात हाल सोही ऐन बमोजिम कोषले कार्य सञ्चालन गरिरहेको छ । योगदानमा आधारित सामाजिक सुरक्षाका योजना तर्जुमा तथा कार्यान्वयन गरी सामाजिक सुरक्षाको हक सुनिश्चित गर्नु सामाजिक सुरक्षा कोषको उद्देश्य हो ।
कोषको लागि विद्यालयले छुट्टै कोष बनाएको र त्यसमा हरेक वर्ष रकम जम्मा गरिने विद्यालयका प्रधानाध्यापक सूर्यप्रसाद घिमिरेले जानकारी दिनु भयो । कोषमा विद्यालयको तर्फबाट २० प्रतिशत र कर्मचारीको तर्फबाट ११ प्रतिशत रकम जम्मा गरिने उहाँले बताउनु भयो । विभिन्न चरणमा छलफल गरी निश्चित मापदण्ड बनाएर विद्यालयले कोषमा आबद्ध गराइएको छ ।