• २३ चैत २०८२, सोमबार

एमाले निर्वाचन विरोधी होइन : अध्यक्ष ओली

blog

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली ।

काठमाडाैं, पुस १० गते । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमाले निर्वाचन विरोधी नभएको तर अहिले तत्काल निर्वाचनको सम्भावना नरहेको बताउनु भएको छ । पार्टीको ११ औँ महाधिवेशनका स्वयंमसेवकलाई धन्यावाद ज्ञापन गर्न बिहीबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । 

उहाँले सरकारले नेताहरूमाथि प्रतिबन्ध, अखबारबाजी, सामाजिक सञ्जालबाट दुस्प्रचार र मिडिया ट्रायल गरेर समाजमा त्रासको वातावरण सिर्जना गरेको आरोप लगाउनु भयो । उहाँले प्रधानमन्त्रीसहित राष्ट्रपतिसँगको छलफलमा आफूले एमाले निर्वाचन विरोधी नभई प्रतिगमन विरोधी भएको कुरा राखेको समेत खुलाउनु भयो । अध्यक्ष ओलीले निर्वाचनका लागि वातावरण नबनेको कारण आफूहरू विघठित संसद पुनःस्थापनाको मुद्दामा अडिग रहेको समेत जिकिर गर्नु भयो । उहाँले पछिल्लो समय जेनजी काममा समाजमा भय र त्रास सिर्जना गर्ने काम गरिएको समेत टिप्पणी गर्नु भयो । 

उहाँले भन्नुभयो, ‘राष्ट्रपतिजीको जोड चुनाव गराउनु पर्छ भन्नेमा थियो । हामीले यो अग्रमगमनको बाटो गएको छैन प्रतिगमतिर गएको छ भन्यौँ । असंवैधानिक ढङ्गले सरकार बनेको छ । तर पनि चुनाव विरोधी हामी होइनौँ । प्रतिगम विरोधी हौँ । चुनाव हुनु हुँदैन भन्ने हाम्रो कुरा होइन । प्रतिगमन हुनु हुँदैन भन्ने हाम्रो कुरा हो । सकेसम्म छिटो संसदको उपस्थिति चाहिन्छ । त्यसकारण हामीले विघटित संसद पुनःस्थापनको माग गरेका छौँ । छलफलमा यस विषयमा अदालतले जे फैसला गर्छ त्यसको कार्यान्वयन गर्ने कुरा भयो । राष्ट्रपति र प्रधानमन्त्री चुनाव गरौँ भन्दा हामीले नगरौँ भनेका छैनौँ । तर खै वातावरण बनेको ? वातवरण बन्ने लक्षण छैन, बनेको छैन।"

यसैगरी, अहिले विभिन्न ठाउँमा आक्रमण हुने, कतै जान नदिने, नेताहरुमाथि प्रतिबन्ध, अनेक प्रकारका अखबारबाजी, सामाजिक सञ्जालबाट दुस्प्रचर र मिडिया ट्रायल गर्ने कुराहरू लगातार भइरहेको र त्रास खडा गर्ने वातावरण बनेको उल्लेख गर्नु भयाे । "नवयुवाहरूको नाम बेचेर जेन–जीका नाममा केही छट्टु टाठाबाठाहरूले खाने गरेका छन् । त्यसकारण अहिले वातावरण बनेको छैन, बन्नेवाला पनि छैन र अहिले निर्वाचनको सम्भावना नै देखिँदैन, " उहाँले भन्नु भयाे ।

जेनजीका नाममा नवयुवाहरूको नाम बेचेर केही छट्टु टाठाबाठाहरूले खाइरहेको टिप्पणी समेत गर्नु भयो ।