यज्ञप्रसाद सापकोटा
गुलरिया(बर्दिया) पुस १० गते । घडियाल गोही प्रजनन्का लागि चर्चित बन्दै गएको बर्दिया राष्ट्रिय निकुञ्जले बबई नदीको परेवा ओडारमा फेरी दश वटा घडियाल गोहीका बच्चा प्राकृतिक बासस्थानमा छोडेको छ । वन तथा वातावरण मन्त्रालयका सचिव गोविन्द प्रसाद शर्माले बबई नदिमा १० ओटा गोहीका बच्चा प्राकृतिक बासस्थानमा छोड्नु भएको हो ।
निकुञ्जको हाता भित्र हुर्किएका ४ वर्ष उमेरका ५ ओटा भाले र ५ ओटा पोथी घडियाल गोही प्राकृतिक बासस्थानमा छोडिएको हो । बबई नदीको परेवा ओडार क्षेत्र बर्दिया राष्ट्रिय निकुञ्ज भित्र नै पर्दछ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक बेदकुमार ढकाल, बर्दिया राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डा अशोक कुमार राम र जबरजंग गणका निमित्त गणपति श्री मुकुन्द न्यौपाने लगाएत निकुञ्जका कर्मचारीहरू गोहीको बच्चा छोड्ने कार्यक्रममा सहभागी हुनुभएको थियो ।
गत असोज ३० गते पनि गोही प्रजनन् केन्द्रमा हुर्किएका पाँच भाले र पाँच पोथी गरी १० ओटा घडियाल गोही निकुञ्ज भित्र रहेको खौराहा खोलामा छोडिएको थियो । बर्दिया निकुञ्जका सूचना अधिकारी एवं वरिष्ठ सहायक संरक्षण अधिकृत सरोजमणि पौडेलले अझैपनि करिब दुई सय गोहीका बच्चा प्रजनन् केन्द्रमा हुर्किरहेको बताउनुभयो । २०३९ सालमा स्थापना गरिएको प्रजनन केन्द्रमा २०७२ साल देखि प्रजनन प्रक्रियाको सुरुवात भएको थियो भने २०७४ सालमा गोहीलाई पहिलो पटक प्राकृतिक बासस्थानमा छाडिएको थियो । यस अघि बर्दियाको बबई नदीमा १३ र बाँकेको राप्ती नदीमा १० र खौराहा खोलामा १० गरी जम्मा ३३ ओटा बच्चालाई प्राकृतिक बासस्थानमा छोडिएको थियो ।
प्रजनन् केन्द्रमा हाल २ भाले र ४ पोथी गरि ६ वटा प्रजनन योग्य घडियाल गोही रहेका छन् । हुर्किएका बच्चाले प्राकृतिक बासस्थानमा सहजै शिकार गरेर खान सक्ने भएपछि छोड्ने गरिन्छ । सामान्यतया तीन बर्ष भन्दा माथिका बच्चालाई प्राकृतिक बासस्थानमा छोडिँदै आएको छ ।
घडियाल गोही स्वच्छ पानी र ताजा माछा खाने संरक्षित सूचीमा रहेको जीव हो । गोहीको बासस्थान व्यवस्थापन गर्ने, चोरी शिकार नियन्त्रण गर्ने खालका कामहरू भैरहेको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ । बर्दियाको कर्णाली र बबई नदीमा घडियाल गोही पाइन्छ । सरकारले वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार घस्रने जन्तु घडियाल गोहीलाई संरक्षित वन्यजन्तुको सूचिमा सूचीकृत गरेको थियो ।