काठमाडौं, साउन ७ गते । पछिल्लो समय उच्च रक्तचापका बिरामी बढ्दै गएका छन् । विश्वमा उच्च रक्तचापका कारण सबैभन्दा बढी मानिसको मृत्यु हुने विभिन्न अध्ययनले देखाएको छ ।
नेपालजस्ता विकासोन्मुख देशमा दुई तिहाइ जनसङ्ख्यामा उच्च रक्तचाप हुने गरेको विभिन्न अध्ययनले देखाएको छ ।
नेपाल डेमोग्राफिक एण्ड सर्वे २०२२ ले नेपालमा १५ वर्षभन्दा माथिका १७ प्रतिशत महिला र २३ प्रतिशत पुरुषमा २३ उच्च रक्तचाप पाइएको थियो ।
उच्च रक्तचाप उमेरसँगै बढ्दै गएको छ । ७० वर्ष र सोभन्दा माथिका महिलाहरूमा (५२ प्रतिशत) र ६५ वर्ष र सो भन्दा माथिका पुरुषहरूमा (४५ प्रतिशत)– उच्च रक्तचाप ५५–५९ उच्च रक्तचाप हुनेमा कोशी प्रदेशमा सबैभन्दा बढी–महिलामा २५ प्रतिशत र पुरुषमा २७ प्रतिशत छ । त्यसैगरी, सबैभन्दा कम कर्णाली प्रदेशमा १२ प्रतिशत महिलामा र १८ प्रतिशत पुरुषमा उच्च रक्तचाप छ ।
उच्च रक्तचापको प्रभाव सहरी क्षेत्रमा बढी
प्रतिवेदन अनुसार सहरी क्षेत्रका १८ प्रतिशत महिलाहरूमा र ग्रामीण क्षेत्रका १७ प्रतिशत महिलाहरूमा उच्च रक्तचाप भएको पाइएको छ । सहरी क्षेत्रका २५ प्रतिशत पुरुषमा उच्च रक्तचाप रहेको छ भने ग्रामीण क्षेत्रका १८ प्रतिशत पुरुषमा उच्च रक्तचाप छ।
उच्च रक्तचापको जोखिममा सबै उमेर समूहका र सबै भूभागका मानिस जोखिममा हुन्छन् । मुटुरोग विशेषज्ञ ओममूर्ति अनिलका अनुसार सहरी क्षेत्रमा उच्च रक्तचापको प्रभाव बढ्दो छ ।
मोटोपन र तनावयुक्त जीवनशैली, धूम्रपान न र मदिरा सेवन गर्ने, खानामा नुनको मात्रा बढी प्रयोग गर्ने, रातो र धेरै बोसोयुक्त मासुको प्रयोग गर्ने निष्क्रिय जीवनशैली अपनाउने मानिस बढी जोखिममा हुने डा. अनिल बताउनुहुन्छ ।
डा. अनिलका अनुसार यो रोगले लक्षण बिना नै मृत्युको मुखमा लैजाने भएकाले उच्च रक्तचापलाई साइलेन्ट किलर भन्ने गरिन्छ ।
उच्च रक्तचाप के हो ?
डा. अनिलका अनुसार मुटुबाट रक्तसञ्चार हुने बेलामा रक्तनलीको भित्तामा पर्ने दबाबलाई रक्तचाप भनिन्छ । सामान्य मानिसको रक्तचाप माथिको १२० र तलको ८० भन्दा कम हुन्छ ।
प्रेसर नाप्दामाथिको १४० वा सोभन्दा बढी र तलको ९० वा सोभन्दा माथि भएमा उच्च रक्तचाप हुने डा. अनिलको भनाइ छ ।
एकै पटक उच्च रक्तचाप नहुने चिकित्सक बताउँछन् । उच्च रक्तचाप हुनुभन्दा अगाडिको अवस्थालाई प्रिहाइपरटेन्सर भनिन्छ । यस्तो अवस्थामा माथिको १२० देखि १३९ वा तलको ८० देखि ८९ हुने गर्छ ।
५० वर्षमाथिका वृद्ध अवस्थामा माथिको ब्लड प्रेसर बढी हुने गर्छ । यस्तो अवस्थामा माथिको १६० र तलको ७० देखिनु सामान्य मान्न सकिन्छ । त्यसैगरी, प्रायः युवा अवस्थामा देखिने गर्छ । यस्तो अवस्थामा माथिको १३० र तलको १०० र ९५ देखिनुलाई सामान्य मान्न सकिने डा. अनिल बताउनुहुन्छ ।
डा. अनिलका अनुसार टाउको दुख्ने, रिँगटा लाग्ने, थकान महसुस हुने,एक्कासि नाकबाट रगत बग्ने, वाकवाकी लाग्ने मुटुको धड्कन बढ्ने वा रोकिएजस्तो हुनु उच्च रक्तचापका प्रमुख लक्षण हुन् ।
गर्भवतीलाई पनि हुन्छ उच्च रक्तचाप
स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डा. कृतिपाल सुवेदीका अनुसार गर्भावस्थामा अस्पतालमा हुने मृत्युको कारणमध्ये उच्च रक्तचाप एउटा प्रमुख कारण हो ।
कम उमेरमा गर्भवती भएमा, ३० वर्षपछि गर्भवती भएमा, बढी तौल छ भने, परिवारमा कसैलाई उच्च रक्तचाप छ भने, थाइराइडको समस्या भने र गर्भवती हुनुपूर्व उच्च रक्तचाप छ भने यस्ता महिला जोखिममा हुने सुवेदी बताउनुहुन्छ । गर्भवती भएको ६-७ महिनामा नै यसका लक्षण देखिन थाल्ने हुँदा गर्भजाँच गर्न जाँदा हरेक पटक उच्च रक्तचाप भए नभएको जाँच गर्न चिकित्सकको सुझाव छ।
गर्भावस्थामा उच्च रक्तचाप भएमा टाउको दुख्ने, हातखुट्टा सुनिने, बच्चाको, तौल नबढ्ने जस्ता समस्या देखिन्छन् । औषधि खुवाएर नियन्त्रण गर्न सकियो भने स्वस्थ बच्चा जन्माउन सकिने डा. सुवेदी बताउनुहुन्छ ।
प्रेसर नियन्त्रण भएन भने शल्यक्रिया गरेर बच्चा र आमाको जीवन बचाउन सकिने डा. सुवेदी बताउनुहुन्छ ।
ब्लड प्रेसर लो हुनु राम्रो हो
लो ब्लड प्रेसर भयो भनेर धेरै बिरामी अस्पतालमा आउने चिकित्सक बताउँछन् । प्रायः सिकिस्त बिरामीलाई मात्र लो ब्लड प्रेसर हुने चिकित्सक बताउँछन् ।
लो ब्लड प्रेसर विभिन्न इन्फेक्सन वा अन्य कारणले सिकिस्त भएर आइसियु र सिसियुमा भर्ना भएको बेलामा हुने गर्छ । यस्तो बेलामा विभिन्न औषधि दिएर प्रेसर बढाइने चिकित्सक बताउँछन् ।
सामान्य काम गर्ने मानिसलाई लो प्रेसर हुनै सक्दैन । ब्लड प्रेसर जति कम छ त्यति नै स्वास्थ्यका लागि राम्रो हुने चिकित्सक बताउँछन् । प्रेसर लो भएमा श्वासप्रश्वास समस्या हुने, मुटु ढुकढुक हुने, रिँगटा लाग्ने जस्ता लक्षण देखिन सक्छ ।
उच्च रक्तचाप खाइरहेका मानिसलाई औषधिको मात्रा बढी भएर प्रेसर लो हुन सक्ने चिकित्सक बताउँछन् ।
प्रेसर नियन्त्रणमा राखिएन भने मुटु र अन्य रक्तनलीमा दीर्घकालीन असर गर्नुका साथै मिर्गौला, मुटु, रक्तनलीसम्बन्धी समस्या, हृदयाघात, मस्तिष्कसम्बन्धी जटिल समस्या निम्तिने चिकित्सक बताउँछन् ।
औषधि नियमित सेवन गर्न सुझाव
रोग लाग्नासाथ धेरैले जीवनभर औषधि खाइराख्नुपर्ने हुन्छ । औषधि नखाँदा विभिन्न स्वास्थ्य जटिल निम्तिने हुँदा चिकित्सकको सल्लाहमा नियमित औषधि सेवन गर्न डा. अनिलको सुझाव छ ।
उहाँ भन्नुहुन्छ, “उच्च रक्तचाप भएको सुरुवाती चरणमा जीवनशैली परिवर्तन गर्दा पनि रोग नियन्त्रण भएन भने तुरुन्तै चिकित्सकको परामर्शमा औषधि सेवन गर्नाले यसबाट भविष्यमा आउने जटिलता कम हुन्छ ।”
धेरै बिरामीले आफूखुसी औषधि सेवन सुरु गर्ने र बन्द गर्ने गरेको पाइएको भन्दै यसो नगर्न चिकित्सकको आग्रह छ ।
चिकित्सकको सल्लाहमा औषधि खाएमा जटिलता हेरेर चिकित्सकले औषधिको मात्रा थपघट गर्नुपर्छ ।
बच्ने उपाय
सन्तुलित खानपान, शारीरिक अभ्यास र तनाव घटाएमा उच्च रक्तचाप नियन्त्रण हुने डा. अनिलको भनाइ छ । यसलाई नियन्त्रणमा राख्न धूम्रपान र मदिरा सेवन नगर्ने, हरिया सागसब्जी र फलफूल प्रशस्त खाने, खानामा नुनको प्रयोग कम गर्ने, रातो र धेरै बोसोयुक्त मासु कम खाने र नियमित व्यायाम तथा योग गर्न चिकित्सकको सुझाव छ ।
यसका अलावा धूम्रपान तथा सुर्तीजन्य पदार्थ, अस्वस्थकर खानेकुरा, मोटोपन, मदिरा सेवन, तनाव, शारीरिक निष्क्रियताबाट टाढा रहेमा यसबाट हुने जटिलता कम हुने डा. अनिलको भनाइ छ ।
उच्च रक्तचाप हुन नदिन बेलाबेलमा स्वास्थ्य जाँच गर्ने, जीवनशैली परिवर्तन गर्ने, दिनमा एक घण्टा हिँड्ने, तौल घटाउने, नुनको मात्रा कम गर्न तनावको व्यवस्थापन गर्न चिकित्सकको सुझाव छ।