• ३१ वैशाख २०८१, सोमबार

एसीसी यू–१६ इस्ट रिजन

नेपाल थाइल्यान्डलाई हराउँदै सेमिफाइनलमा

blog

थाइल्यान्डविरुद्ध ब्याटिङ गर्दै नेपालका खेलाडी ।

काठमाडौं, असार १३ गते । नेपाल मलेसियामा जारी एसीसी यू–१६ इस्ट रिजन क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मलेसियाको बाँगीमा बुधबार भएको खेलमा नेपालले थाइल्यान्डलाई दुई सय २५ रनले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो ।

पहिलो जितसँगै नेपाल सेमिफाइनलमा पुग्दा थाइल्यान्ड प्रतियोगिताबाट बाहिरिएको छ । थाइल्यान्ड पहिलो खेलमा मलेसियासँग पराजित भएको थियो । जितका लागि नेपालले दिएको दुई सय ७० रनको लक्ष्य पछ्याएको थाइल्यान्ड १३.२ ओभरमा सबै विकेटको क्षतिमा ४४ रनमा समेटिएको थियो । 

थाइल्यान्डका इशान बेर्नोजीले १६ र ओपनर डानुफोनले १२ रन बनाउनुभयो । अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन जोड्न सक्नुभएन । थाइल्यान्डका सात जना खेलाडी शून्य रनमा आउट भएका थिए ।

थाइल्यान्डलाई सस्तैमा समेट्न नेपालका सन्तोष यादवले पाँच विकेट लिनुभयो । अशोक धामीले तीन तथा कप्तान अभिसेक तिवारीले दुई विकेट लिनुभयो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा आठ विकेटको क्षतिमा दुई सय ६९ रन बनाएको थियो । 

नेपालका लागि नीरजकुमार यादव र नरेन भट्टले अर्धसतकीय इनिङ्स खेल्नुभयो । नीरजले ७४ र नरेनले अविजित ५५ रन बनाउनुभयो । सन्तोष यादवले ४२ र सूर्याम्सु कोइरालाले ४० रन बनाउनुभयो । बलिङमा थाइल्यान्डका निटपाखन मनुवुन, ईशान बानेर्जी र पनुवातले दुई दुई विकेट लिनुभयो । जित साद र पियावत नोद्रीले एक एक विकेट झार्नुभयो ।

प्रतियोगितामा सात टिमको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल समूह ‘ए’ बाट सेमिफाइनलमा पुगेको हो । यस समूहमा नेपालसहित आयोजक मलेसिया र थाइल्यान्ड रहेको छ । 

समूह ‘बी’मा सिंगापुर, हङकङ, माल्दिभ्स र इन्डोनेसिया रहेका छन् । समूहको शीर्ष दुर्य टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । नेपालले समूहको दोस्रो खेल शुक्रबार मलेसियासँग खेल्नेछ ।